नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा श्रावण २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी रहेकोमा आज बसेको बैठकले देहाय बमोजिमका निर्णय गरेको छ—
१. एल.पि. ग्यास आपूर्ति र सरकारको तदर्थवादी निर्णय सम्बन्धमाः
करिव ४ महिना अगाडि मध्यपूर्वमा भएको युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति प्रणाली प्रभावित भएकाले नेपालमा समेत ग्यासको अभाव हुन नदिन सिलिण्डरमा ७.१ के.जी. भरि बजार सहजीकरण गरिएको थियो । तर हाल सरकारले सिलिण्डरमा १४.२ के.जी. भर्नु पूर्व ग्यासको स्टक, आयात हुने परिमाण, आयात गर्न सकिने क्षमता, बजारको आवश्यकताको अध्ययन नगरि हचुवाको भरमा सस्तो लोकरिझाईका लागि १४.२ के. जी. भर्न निर्देशन दिनुले सरकारको वचपन उजागर भएको छ । यस्ता विषयमा निर्णय लिनु पूर्व सरोकारवालाहरूसँग यथेष्ट छलफल गरि निर्णय लिनु पर्नेमा पूर्व तयारी नगर्दा मुलुकमा खाना पकाउने ग्यासको गम्भीर अभाव सिर्जना भई नागरिकले दुःख भोग्नु परिरहेको छ । ठोस योजना बिना हठात् १४.२ केजीको सिलिन्डर वितरण गर्ने ‘स्टन्टबाजी’ गर्दा बजारमा ग्यासको हाहाकार अझ बढेको छ । सरकारको यो अकर्मण्यता र दूरदर्शिताको अभावले गर्दा उपभोक्ताले अझै लामो समय सास्ती भोग्नु पर्ने जोखिम देखिएको छ ।
तसर्थ, नेपाली कांग्रेस सरकारसँग तत्काल कुटनीतिक पहल गरि ग्यासको आयात दोब्वर बढाएर भण्डारण (स्टक) सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाउन तथा तदर्थवादी निर्णय बन्द गरी बजारमा खाना पकाउने ग्यासको सुलभ र निरन्तर उपलब्धता गराई जनतालाई राहत दिन जोडदार माग गर्दछ ।
२. ऊर्जा नीति र कर संरचना सम्बन्धमाः
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटबढ भइरहने हुँदा विगतका सरकारहरूले आन्तरिक विद्युत् खपत बढाउँदै ग्यासको प्रयोगलाई क्रमशः विस्थापन गर्ने स्पष्ट नीति लिएका थिए । सोही अनुरूप उपभोक्तालाई इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा सहुलियत दिने प्रणाली लागू गरिएको थियो । तर, वर्तमान सरकारले विद्युत् खपतमा समेत विभिन्न शीर्षकमा कर थपेर ग्यासको साटो स्वच्छ ऊर्जा (विद्युत) प्रयोग गर्ने नागरिकको प्रयासलाई पूर्णतः निरुत्साहित बनाएको छ ।
तसर्थ, नेपाली कांग्रेस ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न, विद्युत् खपतमा लगाइएका सबै प्रकारका अतिरिक्त करहरू तत्काल हटाउन, उपभोक्तालाई इन्डक्सन चुलो लगायतका उपकरणमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गर्दछ ।
३. कृषि, मल आपूर्ति र बजार व्यवस्थापन सम्बन्धमाः
सरकारको असक्षमताका कारण यातायात क्षेत्र अस्तव्यस्त बनेको छ भने बजारमा बिचौलियाको बिगबिगी बढेको छ । यसबाट एकातिर आम उपभोक्ता चरम महँगीको मारमा परेका छन् भने अर्कोतिर साना तथा मझौला किसानले आफ्ना उत्पादनको उचित मूल्य र बजार पाउन सकेका छैनन् । मुख्य सिजनमा रासायनिक मल नपाउँदा किसानहरू अनौपचारिक बजारमा भौतारिन बाध्य छन् । मलको खोजीमा भारतीय बजारसम्म पुग्दा कतिपय नेपाली किसानले महिनौं जेल सजाय भोग्नु परेको दुःखद यथार्थ सर्वविदितै छ । बाँकी किसानले पनि चर्को मूल्य तिरेर कालोबजारीबाट मल खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
तसर्थ, नेपाली कांग्रेस किसानहरूलाई बाली लगाउने मुख्य सिजनमै सहजरूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्न, साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न तथा सीमावर्ती क्षेत्रका किसानहरूले भोग्नु परेको सास्तीको स्थायी समाधान गर्न सरकारसँग जोडदार माग गर्दछ ।
४. महँगी, सुशासन र सरकारी विफलता सम्बन्धमाः
वर्तमान सरकार जनजीविकाका वास्तविक समस्या समाधान छाडेर केवल सस्तो लोकप्रियता र प्रचारबाजीमा अल्झिएको छ । ग्यासको अभाव, विद्युत्मा कर वृद्धि तथा आपूर्ति सञ्जालको फितलो व्यवस्थापनका कारण खाद्य सामग्री लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । यसले गर्दा आम नागरिकको भान्सा असाध्यै महँगो बनेको छ । फलतः, सरकारले दिएका सुशासन, मूल्य नियन्त्रण र नागरिकका समस्या समाधान गर्ने ठूला–ठूला नारा तथा बाचाहरू पूर्ण रूपमा असफल सिद्ध भएका छन् ।
तसर्थ, नेपाली कांग्रेस सरकारको प्रचारबाजी र सस्तो लोकरिझ्याइँको पछि नलागी बजारमा दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति व्यवस्थालाई प्रभावकारी र पारदर्शी बनाउन, बजार अनुगमनलाई तीव्र पार्न र आम नागरिक, किसान, मजदुर तथा भुइँमान्छेको जीविकोपार्जन सहज बनाउने गरी ठोस राहतका कार्यक्रम ल्याउन माग गर्दछ ।
आजको बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्नु भएको थियो । छलफलको क्रम जारी रहेको छ । कार्यसमितिको बैठक भोलि २०८३ श्रावण २६ गते मंगलबार बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
बैठकमा धारणा व्यक्त
बैठकमा केन्द्रीय सदस्यहरू— राजीव कोइराला, भरतकुमार शाह, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, डा. केदारनरसिंह के.सी., तीर्थजंग शाही, बजरंग नेपाली, उमा दाहाल, पवित्राकुमारी अर्याल, केशवराज शर्मा आचार्य, धर्मबहादुर दर्जी नेपाली, सूर्यबहादुर वि.क., दिनेश सुनार, उमा शिवाकोटी, बाला अधिकारी, सम्झना खत्री, रामरूपप्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र केन्द्रीय सदस्य एवं मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको
थियो ।
जय नेपाल !
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव
सम्बन्धित समाचार
अध्यक्ष ओलीलाई सम्झाउन पौडेल र पोखरेल गुण्डुमा
रास्वपा केन्द्रीय समिति बैठक साउन १३ गते बिहान
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
देवानगञ्ज गोलीकाण्डः मृतकका परिवारले शव बुझेनन्
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाइयोस्: एमाले सांसद पोखरेल






