फेसबुक, टिकटक र युट्युबको आम्दानीमा ५ प्रतिशत कर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३–०८४ का लागि प्राकृतिक व्यक्तिको आयमा लाग्ने करको दर सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ अनुसार व्यक्तिगत तथा दम्पत्तिको आय, साना व्यवसाय, पुँजीगत लाभ, वैदेशिक सेवा तथा सामाजिक सञ्जालबाट हुने आम्दानी र भाडाका सवारीसाधनमा लाग्ने करको विवरण सार्वजनिक गरेको हो ।

मासिक १ लाख २५ हजारमाथि कमाउनेले तिर्नेछन् साढे १२ हजार

नयाँ दरअनुसार एकल व्यक्ति तथा दम्पत्तिको वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत कर लाग्नेछ । १० लाखदेखि १५ लाखसम्म १० प्रतिशत, १५ लाखदेखि २५ लाखसम्म २० प्रतिशत र २५ लाखदेखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत कर लाग्नेछ ।

४० लाख रुपैयाँभन्दा माथिको करयोग्य आयमा भने २७ प्रतिशतमा थप २ प्रतिशत बिन्दु अतिरिक्त कर लाग्ने भएकाले त्यसभन्दा माथिको आयमा २९ प्रतिशतसम्म कर लाग्नेछ । जस्तै ६० लाख रुपैयाँ करयोग्य आय हुने व्यक्ति वा दम्पत्तिले कुल १२ लाख ४५ हजार रुपैयाँ कर तिर्नुपर्नेछ ।

आयकरको पहिलो स्ल्याबमा एकल तथा दम्पत्तिका लागि समान दर कायम गरिएको छ । १० लाखसम्मको आयमा १० हजार, १० देखि १५ लाखसम्मको थप आयमा ५० हजार, १५ देखि २५ लाखसम्ममा २ लाख र २५ देखि ४० लाखसम्ममा ४ लाख ५ हजार रुपैयाँ कर लाग्ने विभागको विवरणमा उल्लेख छ ।

एकलौटी फर्म दर्ता भएका करदाता, निवृत्तिभरणबापत आय हुने व्यक्ति तथा निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको हकमा भने पहिलो १० लाख रुपैयाँमा लाग्ने १ प्रतिशत कर नलाग्ने व्यवस्था गरिएको छ ।

करयोग्य आय घटाउन विभिन्न सुविधा
विभागले करदाताले विभिन्न शीर्षकमा गरेको खर्च तथा योगदानलाई करयोग्य आयबाट घटाउन पाउने सुविधा दिएको छ । स्वीकृत अवकाश कोषमा योगदान गर्ने व्यक्तिले ५ लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एकतिहाइमध्ये जुन कम हुन्छ, त्यति रकम करयोग्य आयबाट घटाउन पाउनेछन् ।

दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीले क्षेत्रअनुसार ‘क’ वर्गमा ५० हजार, ‘ख’मा ४० हजार, ‘ग’मा ३० हजार, ‘घ’मा २० हजार र ‘ङ’ वर्गमा १० हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउनेछन् ।

नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले प्राप्त गर्ने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था छ । निवृत्तिभरण आय हुने बासिन्दा प्राकृतिक व्यक्तिले आफूलाई प्राप्त हुने छुटको सीमामा थप २५ प्रतिशत र अपाङ्गता भएका व्यक्तिले छुट सीमामा थप ५० प्रतिशत रकम घटाउन पाउनेछन् ।

बीमा, शिक्षा र उपचारमा छुट
जीवन बीमाको वार्षिक प्रिमियम वा ४० हजार रुपैयाँमध्ये जुन कम हुन्छ त्यति रकम करयोग्य आयबाट घटाउन पाइनेछ । स्वास्थ्य बीमाको हकमा वार्षिक प्रिमियम वा २० हजार रुपैयाँमध्ये कम रकम घटाउन सकिनेछ ।

आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेबापत तिरेको वार्षिक प्रिमियम वा १० हजार रुपैयाँमध्ये कम रकमसमेत घटाउन पाउने व्यवस्था छ ।

सन्तानको शिक्षाका लागि तिरेको शिक्षण शुल्कको २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ त्यति रकम करयोग्य आयबाट घटाउन पाइनेछ । पारिश्रमिक आय मात्र भएका महिलालाई तिर्नुपर्ने करमा १० प्रतिशत छुट दिइनेछ ।

स्वीकृत औषधि उपचार खर्चको बिलका आधारमा वास्तविक खर्चको १५ प्रतिशत वा ७५० रुपैयाँमध्ये जुन कम हुन्छ त्यति रकम कर मिलान गर्न सकिने व्यवस्था यसपटक गरिएको छ ।

३० लाखसम्म कारोबारमा निश्चित कर
व्यवसायबाट करयोग्य आय ३ लाख रुपैयाँसम्म र वार्षिक कारोबार ३० लाख रुपैयाँभन्दा बढी नभएका प्राकृतिक व्यक्तिका लागि क्षेत्रअनुसार निश्चित कर तोकिएको छ ।

महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्नेले ७ हजार ५ सय, नगरपालिकामा ४ हजार र अन्य क्षेत्रमा व्यवसाय गर्नेले २ हजार ५ सय रुपैयाँ वार्षिक कर तिर्नुपर्नेछ ।

एक करोडसम्म कारोबारकै आधारमा कर
३० लाखभन्दा बढी र १ करोड रुपैयाँसम्म कारोबार गर्ने निश्चित प्रकृतिका व्यवसायीका लागि कारोबारमा आधारित कर व्यवस्था गरिएको छ । ३० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारमा ग्यास, चुरोटलगायत तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्नेले ०.२५ प्रतिशत, अन्य वस्तु व्यवसायले १ प्रतिशत र सेवा व्यवसायले २ प्रतिशत कर तिर्नुपर्नेछ नयाँ व्यवस्थामा उल्लेख छ ।

५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ग्यास, चुरोटलगायतका कारोबारमा ०.३ प्रतिशत, अन्य व्यवसायमा ०.८ प्रतिशत र सेवा व्यवसायमा २ प्रतिशत कर लाग्नेछ । यस्तो कारोबारमा आधारित कर दुई किस्तामा दाखिला गर्नुपर्ने व्यवस्था छ ।

घरजग्गा र सेयर बेच्दा १० प्रतिशतसम्म कर
गैरव्यावसायिक करयोग्य जग्गा तथा घरजग्गा बिक्री गर्दा पाँच वर्ष वा सोभन्दा बढी स्वामित्वमा रहेको सम्पत्तिबाट प्राप्त लाभमा ७.५ प्रतिशत र पाँच वर्षभन्दा कम स्वामित्वमा रहेकोमा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ ।

नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायमा रहेको सेयर वा हित ३६५ दिनभन्दा बढी स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त लाभमा ७.५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधि राखेकोमा १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

नेपालको स्रोत नभएको गैरबासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा भने २५ प्रतिशत दरले कर लाग्ने व्यवस्था विभागले उल्लेख गरेको छ ।

विदेशमा सेवा बेच्नेलाई ५ प्रतिशत
नेपालमा व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराएबापत विदेशी मुद्रामा भुक्तानी पाएमा सम्बन्धित बैंक, वित्तीय संस्था वा मनी ट्रान्सफर संस्थाले भुक्तानी गर्दा ५ प्रतिशत कर कट्टा गर्ने व्यवस्था छ ।

व्यक्तिगत रूपमा नेपालबाहिर परामर्श सेवा प्रदान गरेबापत विदेशी मुद्रामा प्राप्त भुक्तानी र सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा प्राप्त आम्दानीमा पनि ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

यसपटक विदेशबाट डिजिटल माध्यममार्फत आम्दानी गर्ने सफ्टवेयर सेवा प्रदायक, स्वतन्त्र परामर्शदाता तथा युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालबाट विदेशी मुद्रामा आम्दानी गर्ने व्यक्तिको आयमा ५ प्रतिशत प्रत्यक्ष कर व्यवस्था गरिएको छ ।

भाडाका सवारीमा छुट्टाछुट्टै कर
भाडाका सवारीसाधन दर्ता वा नवीकरण गर्दा सवारीको प्रकार र क्षमताअनुसार वार्षिक आयकर लाग्नेछ । कार, जिप, भ्यान तथा माइक्रोबसमा १३०० सीसीसम्म ६ हजार ५ सय, १३०० देखि २००० सीसीसम्म ७ हजार, २००० देखि २९०० सीसीसम्म ७ हजार ५ सय, २९०० देखि ४००० सीसीसम्म ९ हजार ५ सय र ४००० सीसीभन्दा माथि ११ हजार रुपैयाँ कर लाग्नेछ ।

मिनी ट्रक, मिनीबस तथा पानी ट्यांकीमा ९ हजार ५ सय, मिनी टिपरमा ११ हजार, ट्रक तथा बसमा १२ हजार ५ सय र डोजर, एक्साभेटर, लोडर, रोलर तथा क्रेनजस्ता मेसिनरी उपकरणमा १७ हजार ५ सय रुपैयाँ वार्षिक कर लाग्नेछ ।

तेल ट्यांकर, ग्यास बुलेट र टिपरमा पनि १७ हजार ५ सय, ट्र्याक्टरमा ३ हजार ५ सय, पावर टिलरमा ३ हजार र अटो रिक्सा, थ्री ह्विलर तथा टेम्पोमा ३ हजार ५ सय रुपैयाँ कर तोकिएको छ ।

विद्युतीय सवारीमा ५० किलोवाटसम्म ४ हजार, ५० देखि १२५ किलोवाटसम्म ५ हजार, १२५ देखि २०० किलोवाटसम्म ७ हजार ५ सय र २०० किलोवाटभन्दा माथि ९ हजार ५ सय रुपैयाँ वार्षिक कर लाग्नेछ । विद्युतीय ई–रिक्सामा ३ हजार ५ सय र दुईपांग्रे सवारीमा ३ हजार रुपैयाँ कर तोकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने