यस्तो छ, एसियाली खेलकुदको सात दशक लामो यात्रा

काठमाडौं ‘एउटा प्रतियोगिताले कति लामो इतिहास रच्ला ?’ यसको उत्तर खोज्न एसियाली खेलकुदतर्फ फर्किनुपर्छ । सन् १९५१ मा भारत नयाँ दिल्लीबाट सुरु यात्रा ०औं संस्करणसम्म आइपुगेको छ । सात दशकभन्दा लामो यात्रामा एसियाली खेलकुदले खेलाडी र खेल संख्यामात्रै बढाएन, महादेशको बदलिँदो खेल शक्ति र राष्ट्रको प्रतिस्पर्धासमेत उजागर गर्दै आएको छ ।

सर्वाधिक सफल चीन, स्वर्णविहीन नेपाल दक्षिण एसियामा पाँचा

कहिले जापानको दबदबा, त्यसपछि चीनको उदय । एसियाली खेलकुदको पदक तालिकाले पनि महादेशको खेलकुद शक्ति ‘कसरी फेरिँदै गयो ?’ भने यथार्थले बताउ“छ । सुरुवाती संस्करणमा जापानको एकछत्र प्रभाव थियो । नवौं संस्करणपछि भने चीनले यस्तो वर्चस्व कायम ग¥यो, जुन आजसम्म निरन्तर छ । अब यही इतिहासको अर्को अध्याय जापानमा लेखिँदै छ । आगामी ३ देखि १८ असोजसम्म आइची–नागोयामा २०औं एसियाली खेलकुद हुँदै छ । भारत नयाँ दिल्लीबाट सुरु एसियाड यात्रा तेस्रोपटक जापानी भूमिमा आइपुग्दा पुराना कीर्तिमान, नयाँ सम्भावनास“गै पदक होड फेरि केन्द्रमा हुनेछ ।

यस यात्रामा नेपाल भने फरकरूपमा उभिएको छ । एसियाली खेलकुदको लामो इतिहासमा नेपालले अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन । तीन रजत र २३ कांस्यमै सीमित नेपालको पदक यात्रा दक्षिण एसियाली मुलुकमध्ये पाँचौं स्थानमा छ । ‘२०औं संस्करणमा नेपालले कस्तो इतिहास बनाउ“ला ?’ चासोक विषय बनेको छ ।

भारतबाट सुरु एसियाली खेलकुदको १९औं संस्करणसम्मको यात्रा ‘आखिर कस्तो रह्यो ? कुन देशले कति प्रभुत्व जमाए ? र सात दशक लामो यो यात्रामा नेपाल कहाँ छ ?’ यही सेरोफेरोमा एसियाली खेलकुदको २०औं संस्करणसम्म हामी आइपुगेका छौं ।

एउटा खेल मैदानमै हुने प्रतिस्पर्धामात्र होइन, यसले समयसँगै बदलिँदै गएको समाज, राष्ट्रको शक्ति र खेलकुदप्रतिको दृष्टिकोण पनि देखाउँछ । एसियाली खेलकुदको सात दशकभन्दा लामो इतिहास हेर्दा यही विगत कोल्टे पर्छ । सन् १९५१ मा भारत नयाँ दिल्लीबाट सुरु एउटा क्षेत्रीय खेल महोत्सव आज एसियाका ४५ राष्ट्रलाई एउटै मञ्चमा उभ्याउने विशाल खेलकुद समारोहमा रूपान्तरण भइसकेको छ ।

पहिलो संस्करणमा ११ राष्ट्रका ४ सय ८९ खेलाडी सहभागी थिए । खेल संख्या पनि सीमित थियो । समयसँगै एसियाली खेलकुदको दायरा फराकिलो हुँदै गयो । सहभागी राष्ट्र बढे, खेलाडी संख्या हजारौंमा पुग्यो र खेल विधा पनि थपिँदै गए । कुनै समय जापानको एकछत्र प्रभाव रहेको पदकतालिका अहिले चीनको निरन्तर दबदबामा छ । यो यात्रा पदकस“गै एसियाली खेलकुद आयोजना गर्ने सहरको वास्तविकता पनि हो । नयाँ दिल्लीबाट हु“दै मनिला, टोकियो, जाकार्ता, बैंकक, तेहरान, सियोल, बेइजिङ, हिरोसिमा, दोहा, ग्वाङझाउ, इन्चोन हुँदै हाङझाउसम्म आइपुगेको छ । अब यसको अर्को गन्तव्य जापानको आइची–नागोया बन्दै छ ।

जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमाले एसियाली खेलकुदको आतिथ्य गरेका थिए । १६ दिनसम्म चल्ने २०औं संस्करणमा एसियाका ४५ राष्ट्रका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुने छन् । ४३ खेलका ४ सय ६९ विधामा प्रतिस्पर्धा हुने तयारी छ । यसअघि १९औं संस्करण सन् २०२२ मै हुने तय भए पनि कोभिड–१९ महामारीका कारण एक वर्षपछि सारेर सन् २०२३ मा चीनको हाङझाउमा आयोजना गरियो ।

एउटा लामो यात्रा
एसियाली खेलकुदको पहिलो अध्याय भारतको राजधानी नयाँ दिल्लीबाट सुरु भयो । सन् १९५१ मा आयोजित पहिलो संस्करणको उद्देश्य एसियाली राष्ट्रका लागि आफ्नै खेलकुद महोत्सव स्थापना गर्नु थियो । त्यतिबेला ओलम्पिक खेलकुद विश्वको प्रमुख खेल मञ्चका रूपमा स्थापित भइसकेको थियो । एसियाली राष्ट्रलाई आफ्नै साझा खेलकुद मञ्च आवश्यक थियो । यही सोचले नयाँ दिल्लीमा पहिलो एसियाड जन्मायो ।

भारतीय राष्ट्रपति राजेन्द्र प्रसादले उद्घाटन गरेको पहिलो प्रतियोगितामा ११ राष्ट्रका ४ सय ८९ खेलाडी सहभागी भए । ६ खेलका ५७ विधामा प्रतिस्पर्धा भयो । पदकतालिकामा जापानले सुरुदेखि नै आफ्नो प्रभाव देखायो । २४ स्वर्ण जित्दै जापान पहिलो बन्यो भने आयोजक भारत १५ स्वर्णसहित दोस्रो स्थानमा रह्यो । पहिलो संस्करणले एसियाका राष्ट्रलाई खेलमार्फत जोड्ने आधार तय ग-यो । यो यात्रा त्यतिमै रोकिएन । तीन वर्षपछि एसियाड नयाँ दिल्लीबाट मनिला पुग्यो ।

जापानी दबदबाको सुरुवात
सन् १९५४ मा फिलिपिन्सको मनिलामा दोस्रो संस्करण आयोजना भयो । पहिलो संस्करणको तुलनामा यसपटक सहभागी राष्ट्रको संख्या बढेर १८ पुग्यो । ९ सय ७० खेलाडीले आठ खेलका ७६ विधामा प्रतिस्पर्धा गरे । राष्ट्रपति रामोन मागसेसेले रिजाल मेमोरियल स्टेडियममा प्रतियोगिताको उद्घाटन गरे । कुल २ सय २९ पदक वितरण भएको प्रतियोगितामा जापानले फेरि आफूलाई अब्बल सावित ग¥यो । ३८ स्वर्णसहित जापान पहिलो बन्यो भने आयोजक फिलिपिन्स १८ स्वर्णसहित दोस्रो भयो । त्यसपछि एसियाली खेलकुद जापानको राजधानी टोकियो पुग्यो । सन् १९५८ को तेस्रो संस्करणमा १६ राष्ट्रका १ हजार ८ सय २० खेलाडी सहभागी भए । १३ खेल र ९७ विधामा भएको प्रतिस्पर्धामा कुल ३५० पदक वितरण गरियो । आयोजक जापानले ६७ स्वर्ण जित्यो र लगातार तेस्रोपटक पदक तालिकाको शीर्ष स्थानमा रह्यो ।

जापानको प्रभाव यहीं रोकिएन
सन् १९६२ मा चौथो संस्करण इन्डोनेसियाको जाकार्तामा पुग्यो । १७ राष्ट्रका १ हजार ४ सय ६० खेलाडी सहभागी प्रतियोगितामा १३ खेलका ८८ विधा समावेश थिए । राष्ट्रपति सुकार्नोले बुंग कर्नो स्टेडियममा उदघाटन गरेको प्रतियोगितामा जापानले ७३ स्वर्ण जित्यो । लगातार चौथोपटक जापान पदकतालिकाको शीर्षस्थानमा रह्यो । आयोजक इन्डोनेसियाले ११ स्वर्ण जित्दै दोस्रो स्थान हासिल ग¥यो ।

सन् १९६६ मा एसियाली खेलकुद बैंकक पुग्यो । थाइल्यान्डको राजधानीले पाँचौं संस्करण आयोजना ग-यो । १८ राष्ट्रका १ हजार ९ सय ४५ खेलाडी सहभागी प्रतियोगितामा १४ खेल समावेश थिए । जापानले यहाँ पनि आफ्नो वर्चस्व कायम राख्यो । ७८ स्वर्ण जित्दै ऊ लगातार पाँचौंपटक शीर्षस्थानमा रह्यो । दक्षिण कोरिया र आयोजक थाइल्यान्डले समान १२ स्वर्ण जिते ।

चार वर्षपछि फेरि बैंकककै पालो
सन् १९७० मा पहिलोपटक एउटै राष्ट्रले लगातार दुई संस्करण आयोजना गर्ने अवस्था बन्यो । पाँचौं संस्करण आयोजना गरेको बैंककले छैटौं संस्करणको पनि जिम्मेवारी पायो । १८ राष्ट्रका २ हजार ४ सय खेलाडी सहभागी प्रतियोगितामा १५ खेल समावेश थिए । जापानले यसपटक ७४ स्वर्ण जित्यो र फेरि शीर्षस्थानमा रह्यो । एसियाली खेलकुदको पहिलो दुई दशकमा जापानको यो प्रभुत्व असाधारण थियो ।

तेहरानपछि फेरि बैंकक
सन् १९७४ मा सातौं संस्करण इरानको तेहरानमा आयोजना भयो । २५ राष्ट्रका ३ हजार १० खेलाडी सहभागी प्रतियोगितामा १८ खेल समावेश थिए । जापानले ७५ स्वर्ण जित्दै शीर्षस्थान कायम राख्यो । आयोजक इरान ३६ स्वर्णसहित दोस्रो भयो । त्यसपछि आठौं संस्करणका लागि आयोजक छनोटमा केही फरक रह्यो । सन् १९७८ मा एसियाली खेलकुद फेरि बैंककमा आयोजना भयो । सुरुमा सिंगापुरले प्रतियोगिता आयोजना गर्ने भनिएको थियो । आर्थिक कारण देखाउँदै सिंगापुर पछि हट्यो । पाकिस्तानले पनि आयोजना गर्ने चासो देखायो, भारत र बंगलादेशसँगको तनावका कारण उसले पनि पछि हट्नुप-यो । इरानमा भएको राजनीतिक परिवर्तनले त्यहाँ आयोजना गर्ने सम्भावना पनि समाप्त ग-यो । बैंकक फेरि आयोजक बन्यो ।

२५ राष्ट्रका ३ हजार ८ सय ४२ खेलाडी सहभागी आठौं संस्करणमा १९ खेल समावेश थिए । जापानले ७० स्वर्ण जित्दै पुनः शीर्षस्थान हासिल ग¥यो । जापानका लागि यो एउटा युगको अन्तिम शिखर पनि थियो । आठौं संस्करणपछि जापान फेरि एसियाली खेलकुदको पदक तालिकामा शीर्षस्थानमा फर्कन सकेन ।

नयाँ दिल्लीमा बदलिएको शक्ति सन्तुलन
सन् १९८२ मा एसियाली खेलकुद फेरि भारतको नयाँ दिल्ली आइपुग्यो । पहिलो संस्करण आयोजना गरेको ३१ वर्षपछि भारतले नवौं संस्करणको आतिथ्य ग-यो । यो संस्करण अर्को कारणले पनि महइभ्वपूर्ण बन्यो । प्रतियोगिता पहिलोपटक एसियन ओलम्पिक काउन्सिल (ओसीए) मातहतमा सञ्चालन भयो । ३३ राष्ट्रका ४ हजार ५ सय ९५ खेलाडी सहभागी प्रतियोगितामा २१ खेल समावेश थिए । भारतीय राष्ट्रपति ज्ञानी जैल सिंहले जवाहरलाल नेहरू रंगशालामा प्रतियोगिता उद्घाटन गरेका थिए । दिल्ली एसियाडको सबैभन्दा ठूलो पक्ष उद्घाटन समारोह वा खेल संख्या थिएन । पदकतालिकामा भएको शक्ति परिवर्तन थियो । आठ संस्करणसम्म शीर्षस्थानमा रहेको जापानलाई चीनले पछि पा-यो । चीनले ६१ स्वर्ण जित्दै पहिलो स्थान हासिल ग¥यो । जापान ५७ स्वर्णसहित दोस्रो भयो । यहीँबाट सुरु भयो चीनको लामो प्रभुत्व ।

चीनको उदय, जापानको अवसान
सन् १९८६ को सियोल एसियाडमा चीनले आफ्नो वर्चस्व अझ बलियो बनायो । दक्षिण कोरियामा आयोजित दसौं संस्करणमा २७ राष्ट्रका ४ हजार ८ सय ३९ खेलाडी सहभागी थिए । चीनले ९४ स्वर्ण जित्दा आयोजक दक्षिण कोरियाले ९३ स्वर्ण प्राप्त ग¥यो । एक स्वर्णको अन्तरले चीन शीर्षस्थानमा रह्यो । त्यसपछि सन् १९९० मा बेइजिङले एसियाली खेलकुद आयोजना ग¥यो । ३६ राष्ट्रका ६ हजार १ सय १२ खेलाडी सहभागी प्रतियोगितामा २७ खेल समावेश थिए । आयोजक चीनले १ सय ८३ स्वर्ण जित्यो । चीन अब जापानलाई विस्थापित गर्ने शक्तिमात्रै रहेन, ऊ एसियाली खेलकुदको नयाँ महाशक्ति बनिसकेको थियो ।

हिरोसिमादेखि बैंककसम्म
सन् १९९४ मा एसियाली खेलकुद फेरि जापान पुग्यो । यसपटक हिरोसिमाले १२औं संस्करण आयोजना ग¥यो । दोस्रो विश्वयुद्धमा सन् १९४५ मा विनाश भोगेको हिरोसिमा चार दशकभन्दा केही बढी समयपछि एसियाको ठूलो खेलकुद समारोहको केन्द्र बन्यो । जापानका सम्राट आकिहितोले प्रतियोगिताको उद्घाटन गरे ।

४२ राष्ट्रका ६ हजार ८ सय २८ खेलाडी सहभागी प्रतियोगितामा ३४ खेल समावेश थिए । आयोजक जापानले आफ्नै भूमिमा पनि चीनको प्रभुत्व रोक्न सकेन । चीनले १ सय २६ स्वर्ण जित्दै शीर्षस्थान कायम राख्यो । चार वर्षपछि एसियाली खेलकुद फेरि बैंकक पुग्यो । थाइल्यान्डले चौथोपटक आयोजना गर्दै सबैभन्दा धेरैपटक एसियाड आयोजना गर्ने राष्ट्रको कीर्तिमान बनायो । सन् १९९८ को १३औं संस्करणमा ४१ राष्ट्रका ६ हजार ५ सय ५४ खेलाडी सहभागी भए । चीनले १ सय २९ स्वर्ण जित्दै फेरि शीर्षस्थान हासिल ग¥यो ।

नयाँ सहस्राब्दी, उही चीन
सन् २००२ मा दक्षिण कोरियाको बुसानमा १४औं एसियाली खेलकुद आयोजना भयो । ४४ राष्ट्रका ७ हजार ७ सय ११ खेलाडी सहभागी प्रतियोगितामा ३८ खेल र ४ सय १९ विधा समावेश थिए । चीनले १ सय ५० स्वर्ण जित्यो । चार वर्षपछि दोहा पुग्दा एसियाली खेलकुदले अर्को महइभ्वपूर्ण उपलब्धि हासिल ग-यो । सन् २००६ को दोहा एसियाडमा पहिलोपटक एसियाका सबै ४५ राष्ट्र सहभागी भए । ९ हजार ५ सय २० खेलाडी सहभागी भएको प्रतियोगितामा ३९ खेल समावेश थिए । चीनले १ सय ६५ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायमै राख्यो । सन् २०१० मा चीन आफैं आयोजक बन्यो । ग्वाङझाउमा भएको १६औं संस्करणमा ४५ राष्ट्रका ९ हजार ७ सय ४ खेलाडी सहभागी भए । ४२ खेल समावेश प्रतियोगितामा चीनले १ सय ९९ स्वर्ण जित्यो । चीनको प्रदर्शन अब पहिलो स्थानका लागि पर्याप्त हुने अवस्थामा थिएन । ऊ बाँकी राष्ट्रभन्दा निकै अगाडि निस्किसकेको थियो ।

इन्चोनदेखि जाकार्ता–पालेम्बाङसम्म
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनले १७औं संस्करण आयोजना ग¥यो । ४५ राष्ट्रका ९ हजार ५ सय १ खेलाडी सहभागी प्रतियोगितामा ३६ खेल समावेश थिए । चीनले १ सय ५१ स्वर्ण जित्यो र शीर्षस्थानमा रह्यो । सन् २०१८ मा एसियाली खेलकुद पहिलोपटक दुई सहर जाकार्ता र पालेम्बाङमा आयोजना भयो । ४० खेलका ४ सय ६५ विधामा भएको प्रतिस्पर्धामा चीनले १ सय ३२ स्वर्ण जित्यो । जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भए । आयोजक इन्डोनेसिया ३१ स्वर्णसहित चौथो भयो । चीनको प्रभुत्व भने यथावत् रह्यो ।

हाङझाउमा चीनको नयाँ कीर्तिमान
१९औं एसियाली खेलकुद महामारीसँग पनि जोडियो । सन् २०२२ मै आयोजना गर्ने भनिएको प्रतियोगिता कोभिड–१९ का कारण एक वर्ष पछि सारियो । २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म चीनको हाङझाउमा प्रतियोगिता भयो ।

हाङझाउ चीनका लागि तेस्रो एसियाड आयोजना थियो । यसअघि बेइजिङ र ग्वाङझाउले चीनका लागि यो अवसर पाइसकेका थिए । यसपटक एसियाका ४५ राष्ट्रका १२ हजार ५ सयभन्दा बढी खेलाडी सहभागी भए । ४० खेलका ४ सय ८२ विधामा प्रतिस्पर्धा भयो ।

आयोजक चीनले २ सय १ स्वर्ण, १ सय ११ रजत र ७१ कांस्यपदक जित्दै शीर्षस्थान हासिल ग¥यो । जापान ५२ स्वर्णसहित दोस्रो र दक्षिण कोरिया ४२ स्वर्णसहित तेस्रो भयो । भारतले पनि प्रभावशाली प्रदर्शन गर्दै २८ स्वर्णसहित चौथो स्थान हासिल ग¥यो । दक्षिण एसियामा श्रीलंकाले १ स्वर्ण जित्दा पाकिस्तानले १ रजत र दुई कांस्य प्राप्त ग-यो । नेपालले १ रजत र १ कांस्य जित्यो । बंगलादेशले २ कांस्य पदक प्राप्त ग-यो । भुटान र माल्दिभ्ससँगै मकाउ र टिमोर–लेस्टे भने पदकविहीन रहे ।

नेपाल : स्वर्णको प्रतीक्षामा
एसियाली खेलकुद इतिहासमा नेपालले अहिलेसम्म स्वर्णपदकको स्वाद चाख्न सकेको छैन । नेपालले तीन रजत र २३ कांस्य गरी २६ पदक जितेको छ । संख्याका हिसाबले नेपाल एसियाली खेलकुदको ठूलो पदक विजेता राष्ट्र होइन । दक्षिण एसियाली प्रतिस्पर्धा सन्दर्भमा भने नेपालले आफ्नो स्थान बनाएको छ । स्वर्णविहीन भए पनि एसियाली पदकतालिकामा नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ । यसअघि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । भुटान र माल्दिभ्सले भने अहिलेसम्म पदकको खाता खोल्न सकेका छैनन् ।

अब २०औं संस्करण नेपालका लागि फेरि एउटा अवसर हुनेछ । सात दशक लामो एसियाड इतिहासमा नेपालले अहिलेसम्म पार गर्न नसकेको सीमारेखा स्वर्णपदक नै हो ।

फेरि जापान : इतिहासको अर्को मोड ?
पहिलो आठ संस्करणमा जापानले एसियाली खेलकुदमा आफ्नो प्रभुत्व जमाएको थियो । त्यसपछि चीनले त्यो स्थान लियो । अहिले २०औं संस्करणका लागि प्रतियोगिता फेरि जापान फर्किंदै छ । यसपटक परिस्थिति विगतजस्तो छैन । सन् १९५८ मा टोकियोमा जापानले ६७ स्वर्ण जितेर शीर्षस्थान हासिल गरेको थियो । सन् १९९४ मा हिरोसिमामा आयोजना हुँदा भने चीन १ सय २६ स्वर्णसहित जापानभन्दा धेरै अगाडि थियो ।

अब आइची–नागोयामा हुने २०औं संस्करणमा जापान आयोजकका रूपमा मैदानमा उत्रिँदा चीनको प्रभुत्वलाई चुनौती दिने मुख्य राष्ट्रमध्ये ऊ पनि हुनेछ । यसबीच एसियाली खेलकुदको स्वरूप निकै बदलिइसकेको छ । नयाँ दिल्लीमा ११ राष्ट्रका ४ सय ८९ खेलाडीबाट सुरु यात्रा अहिले ४५ राष्ट्रका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुने अवस्थामा पुगेको छ । खेल संख्या बढेको छ । प्रतिस्पर्धा तीव्र भएको छ । राष्ट्रको खेलकुद क्षमता बदलिएको छ । पदकका लागि हुने दौड भने उस्तै छ ।

जापान फेरि आयोजक बन्दै छ, चीन आफ्नो प्रभुत्व कायम राख्ने लक्ष्यमा हुनेछ, भारत दक्षिण एसियाली शक्तिका रूपमा अघि बढ्ने प्रयासमा हुनेछ । नेपालको लक्ष्य यसपटक पदक थप्नुमात्र होइन । सात दशकदेखि प्रतीक्षा गरिरहेको त्यो पहिलो स्वर्णपदकको ढोका खोल्नु पनि हो ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ, एसियाली खेलकुदको सात दशक लामो यात्रा