मेस्सीमाथि बम आक्रमणको धम्की आएकै हो ?

काठमाडौं । फुटबलका सर्वकालीन महान् खेलाडी लियोनेल मेस्सी ‘फिफा विश्वकप २०२६’क्रममा मैदानभित्रको प्रदर्शनका कारण मात्र चर्चामा रहेनन्, उनको सुरक्षालाई लिएर उत्पन्न गम्भीर घटनाका कारण पनि चर्चा चुलिएको छ । विश्वकपक्रममा मेस्सीलक्षित बम विस्फोटदेखि सशस्त्र आक्रमणसम्मका धम्की आएको विवरण सार्वजनिक भएपछि विश्व फुटबलमा नयाँ तरंग पैदा भएको हो ।

यस्तो छ, अमेरिकी प्रहरीको खुलासा

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमद्वारा सार्वजनिक विवरणअनुसार ‘प्रहरी डोजियर’मा विश्वकप २०२६ क्रममा मेस्सीसहित विभिन्न चर्चित खेलाडी, रेफ्री तथा अधिकारीलक्षित धम्की र सुरक्षा जोखिमका घटना उल्लेख छन् । तीमध्ये अर्जेन्टिनाका कप्तान मेस्सीसँग सम्बन्धित केही घटनालाई सुरक्षा निकायले विशेष संवेदनशीलरूपमा लिएको छ । सार्वजनिक विवरण ‘प्रहरी डोजियर’ तथा त्यसलाई उद्धृत गर्ने सञ्चारमाध्यमका रिपोर्टमा आधारित छन् । यहाँ उल्लेख सबै धम्की ‘वास्तविक आक्रमण तयारी थिए वा धम्की दिने व्यक्तिसँग वास्तवमै हतियार तथा विस्फोटक पदार्थ थियो ?’ भन्ने पुष्टि हुन सकेका छैनन् । विश्वकपजस्तो विशाल अन्तर्राष्ट्रिय प्रतियोगिताक्रममा आएका यस्ता सूचनालाई सुरक्षा निकायले सामान्य रूपमा लिएका भने छैन ।

मेस्सीलक्षित निएको पहिलो गम्भीर घटना अर्जेन्टिनाको खेलसँग जोडिएको छ । रिपोर्टअनुसार अर्जेन्टिनाले जोर्डनसँग खेल्नुअघि टेक्सासको डलास क्षेत्रमा रहेको विमानस्थलमा एउटा फोन आएको थियो । फोन गर्ने व्यक्तिले ‘आफू अन्य दुई व्यक्तिसहित स्टेडियमतर्फ अघि बढिरहेको’ दाबी गरेका थिए । प्रहरी डोजियरलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार ती व्यक्तिले ‘आफूहरूसँग घरेलुरूपमा बनाइएका विस्फोटक पदार्थ र एआर–१५ राइफल रहेको’ दाबी गरेका थिए । उनले प्रहरी अधिकारी तथा दुवै टोलीका खेलाडीलाई निशाना बनाउने कुरा गरेको र त्यसक्रममा मेस्सीको नामसमेत लिएको प्रहरी रिपोर्टमा उल्लेख छ ।

विश्वकपका खेलमा हजारौं दर्शक उपस्थित भएकाले यस्तो सूचना सुरक्षा निकायका लागि अत्यन्त संवेदनशील बनेको थियो । एउटा फोन कलमात्र भए पनि त्यसमा स्टेडियम, खेलाडी र प्रहरीलक्षित दाबी गरिएको अवस्थामा सुरक्षा संयन्त्रले सम्भावित जोखिमलाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने हुन्छ । मेस्सी विश्व फुटबलका सबैभन्दा धेरै पहिचान भएका खेलाडीमध्ये भएकाले उनको उपस्थितिमा सुरक्षा चुनौती झनै जटिल हुन्छ । उनी खेल्ने प्रत्येक खेलमा ठूलो संख्यामा समर्थकको उपस्थिति हुनेगर्छ ।

अटलान्टामा मेस्सीलक्षित अर्को धम्की
मेस्सीसँग सम्बन्धित अर्को घटना अटलान्टामा भएको अर्जेन्टिना र इजिप्टबीचको खेलसँग जोडिएको छ । रिपोर्टअनुसार खेलअघि सामाजिक सञ्जालमार्फत मेस्सीलक्षित गम्भीर धम्की दिइएको थियो । एक ‘एक्स’ प्रयोगकर्ताले स्टेडियममा प्रवेश गरेर मेस्सीलाई विस्फोट गराउने आशयको धम्की दिएको प्रहरी डोजियरलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्तिले ‘आफ्नो शरीरमा चारवटा बम बाँधेर स्टेडियम प्रवेश गर्ने’ दाबी गरेको बताइएको छ ।

सामाजिक सञ्जालमा गरिएको यस्तो पोस्टलाई सामान्यरूपमा लिन सकिने अवस्था थिएन । ‘कुनै व्यक्ति वास्तवमै आक्रमण गर्ने तयारीमा छ कि वा त्रास फैलाउन खोजिरहेको छ’ भन्ने तत्काल स्पष्ट हुँदैन । सम्भावित जोखिम बेवास्ता गर्दा त्यसले ठूलो क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षा निकायले यस्तो सूचना पाएपछि तत्काल प्रतिक्रिया दिनुपर्ने हुन्छ ।

यही खेलसँग सम्बन्धित अर्को सुरक्षा सूचनाले पनि अधिकारीलाई सतर्क बनाएको बताइएको छ । स्टेडियम परिसरमा राखिएका फोहोर फाल्ने कन्टेनरमा बम राखिएको दाबी गर्दै फोन आएको रिपोर्टमा उल्लेख छ । त्यसपछि सम्भावित विस्फोटक पदार्थ खोजी गर्न सुरक्षा टोली परिचालन गरिएको थियो । विशेष तालिमप्राप्त कर्मचारीसँगै विस्फोटक पदार्थ पहिचान गर्नसक्ने टोली र ‘के ९ युनिट’समेत प्रयोग गरिएको बताइएको छ । स्टेडियम तथा आसपासका क्षेत्रको खोजी गरिए पनि वास्तविक बम फेला परेको पुष्टि भएको छैन । यस घटनाले एउटा अनलाइन पोस्ट वा फोन कलले समेत विश्वकपजस्तो ठूलो प्रतियोगिताको सुरक्षा संयन्त्रलाई ‘कति ठूलो दबाबमा पार्न सक्छ ?’ भन्ने देखाएको छ ।

विश्वकपका ठूला स्टार नै किन बढी जोखिममा ?
मेस्सीमाथि आएको भनिएको धम्कीलाई व्यक्तिगत घटनाका रूपमा हेर्नुभन्दा पनि विश्व खेलकुदमा बढ्दै गएको सुरक्षा चुनौतीका रूपमा हेर्नुपर्ने हुन्छ । विश्वस्तरीय खेलाडी अब मैदानका खेलाडीमात्र रहेनन्, उनीहरूको व्यक्तिगत जीवन, यात्रा, होटल, प्रशिक्षणस्थल र सामाजिक सञ्जाल गतिविधिसमेत करोडौंको चासोको विषय बन्छ ।

‘मेस्सी कहाँ बसेका छन् ?’, ‘कुन समय प्रशिक्षण गर्छन्, कुन विमानस्थल प्रयोग गर्छन् वा कुन स्टेडियममा खेल्छन् ?’ भन्ने जानकारी सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत केही मिनेटमै विश्वभर पुग्न सक्छ । यही कारण विश्वप्रसिद्ध खेलाडीको सुरक्षा व्यवस्थापन विगतको तुलनामा निकै जटिल बनेको छ ।

विश्वकपमा खेलाडी एकबाट अर्को सहरमा यात्रा गर्छन् । होटलमा बस्छन्, प्रशिक्षणमा सहभागी हुन्छन् र खेलका लागि स्टेडियम पुग्छन् । यी प्रत्येक स्थानमा ठूलो संख्यामा मानिसको आवतजावत हुन्छ । सुरक्षाकर्मीका लागि खेलाडीनजिक पुग्न खोज्ने सामान्य समर्थक र सम्भावित जोखिम बोकेको व्यक्तिबीच फरक छुट्याउनु चुनौतीपूर्ण हुन सक्छ ।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना भएकाले प्रतियोगिताको सुरक्षा व्यवस्थापन निकै जटिल थियो । तीन देशका विभिन्न सहरमा खेल सञ्चालन हुँदा ठूलो संख्यामा खेलाडी, प्रशिक्षक, अधिकारी, सञ्चारकर्मी र समर्थकको आवतजावत भएको थियो ।

यस्तो अवस्थामा एउटा देशको मात्र सुरक्षा संयन्त्र पर्याप्त हुँदैन, विभिन्न देशका सुरक्षा तथा अनुसन्धान निकायबीच सूचना आदानप्रदान र समन्वय आवश्यक हुन्छ । अमेरिकी संघीय अनुसन्धान ब्युरो अर्थात् एफबीआई र इन्टरनेसनल पुलिस कोअपरेसन सेन्टरलगायत निकायले विश्वकपसँग सम्बन्धित सुरक्षा सूचना समन्वयमा भूमिका खेलेका थिए ।

खेलाडीमाथि आउने धम्की, संदिग्ध गतिविधि, स्टकिङ, हिंसात्मक व्यवहार, अनलाइन धम्की तथा सम्भावित आतंकवादी गतिविधिजस्ता विषयमा सूचना संकलन र मूल्यांकन गरिएको बताइएको छ । यस्तो सुरक्षा प्रणालीमा सबैभन्दा ठूलो चुनौती वास्तविक खतरा र झुटो धम्कीबीच फरक छुट्याउनु हो । सामाजिक सञ्जालमा कसैले लेखेको एउटा वाक्य पनि सुरक्षा अधिकारीका लागि अनुसन्धानको विषय बन्न सक्छ । धम्की झुटो साबित भए पनि त्यसको अनुसन्धान गर्न समय, जनशक्ति र स्रोत खर्च हुन्छ ।

सामाजिक सञ्जाल र खेलाडीको सुरक्षा
मेस्सीसँग सम्बन्धित घटनाले सामाजिक सञ्जालको सुरक्षा पक्ष पुनः चर्चामा ल्याएको छ । आज विश्वका चर्चित खेलाडी आफ्नै सामाजिक सञ्जालमार्फत दैनिक जीवनका गतिविधि सार्वजनिक गर्छन् । प्रशिक्षणका तस्बिर, होटल, यात्रा जानकारी, परिवारसँगका गतिविधि र खेल तालिकासम्बन्धी जानकारीले उनीहरूको स्थान पहिचान गर्न सजिलो बनाउन सक्छ ।

समर्थकका लागि यस्तो सामग्री मनोरञ्जनको विषय भए पनि सुरक्षा दृष्टिले यही जानकारी जोखिमको कारण बन्न सक्छ । कुनै व्यक्तिले खेलाडीको नियमित गतिविधि अध्ययन गरेर उनको नजिक पुग्ने प्रयास गर्न सक्छ । यसकारण विश्वस्तरीय खेलाडीको सुरक्षा अब स्टेडियमको प्रवेशद्वारमै सीमित छैन ।

डिजिटल सुरक्षा पनि शारीरिक सुरक्षाजत्तिकै महत्वपूर्ण बनेको छ । मेस्सीलक्षित अटलान्टाको धम्कीले यही वास्तविकता उजागर गरेको छ । सामाजिक सञ्जालमा आएको धम्कीपछि स्टेडियममा सम्भावित बम खोजी गर्नुपर्ने अवस्था आउनु आधुनिक खेलकुद सुरक्षाको जटिल उदाहरण हो ।

मेस्सीसँग सम्बन्धित यी घटनाको चर्चा गर्दा महत्वपूर्ण तथ्य छुटाउनु हुँदैन । सार्वजनिक विवरणमा ‘मेस्सीमाथि वास्तविक बम आक्रमण भएको वा उनीमाथि सशस्त्र आक्रमण भएको’ उल्लेख छैन । सम्भावित आक्रमणका धम्कीमध्ये केहीका कारण सुरक्षा निकायले खोजी तथा अनुसन्धान गरेको बताइएको छ । धम्की दिने व्यक्तिसँग ‘वास्तवमै विस्फोटक पदार्थ वा हतियार थियो ?’ भन्ने प्रमाणित भएको छैन ।

विश्वकपलाई विश्वकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्ये एक मानिन्छ । मैदानमा खेलाडी प्रदर्शन गरिरहेका हुन्छन्, समर्थक आफ्नो टोलीको समर्थनमा नाराबाजी गरिरहेका हुन्छन् र करोडौं दर्शक टेलिभिजन तथा डिजिटल प्लेटफर्मबाट खेल हेरिरहेका हुन्छन् । यही चमकदार दृश्यपछाडि ठूलो सुरक्षा संयन्त्र सक्रिय हुन्छ । खेलाडी स्टेडियम प्रवेश गर्नुअघि सुरक्षाकर्मीले आसपासको क्षेत्र जाँच गर्छन् । होटलमा उनीहरूको सुरक्षा घेरा हुन्छ । प्रशिक्षणस्थलमा पनि सुरक्षा टोली परिचालन हुन्छ । यात्राक्रममा विमानस्थलदेखि होटलसम्म उनीहरूको आवागमनमा निगरानी राखिन्छ ।

मेस्सी र रोनाल्डोजस्ता खेलाडीका हकमा यो सुरक्षा अझ कडा हुन सक्छ । उनीहरूको लोकप्रियता र सार्वजनिक पहिचानका कारण सामान्य खेलाडीको तुलनामा उनीहरूको नजिक पुग्न खोज्ने मानिसको संख्या धेरै हुन्छ । विश्वकपक्रममा सार्वजनिक सुरक्षा घटनाले यही पर्दापछाडिको सत्य बाहिर ल्याएको छ ।

मेस्सीको लोकप्रियता र सुरक्षा चुनौती
मेस्सीको नाम विश्व फुटबलसँग लगभग पर्यायजस्तै बनिसकेको छ । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाइसकेका मेस्सी विश्वभरका समर्थकका लागि खेलाडीमात्र होइनन्, फुटबलको प्रतीकसमेत हुन् । यही लोकप्रियताका कारण उनको सुरक्षामा सामान्यभन्दा बढी ध्यान दिनुपर्ने हुन्छ ।

उनको एउटा सार्वजनिक उपस्थिति पनि ठूलो भीडका कारण बन्न सक्छ । सामाजिक सञ्जालमा उनको गतिविधि केही समयमै लाखौं मानिससम्म पुग्न सक्छ । लोकप्रियता जति ठूलो हुन्छ, सुरक्षा चुनौती पनि त्यति नै ठूलो हुन सक्छ । समर्थकका उत्साह र अनधिकृत पहुँचबीचको सीमा कहिलेकाहीँ निकै पातलो हुन्छ ।

अटलान्टाको खेलसँग जोडिएको धम्की र डलासमा आएको भनिएको फोनले मेस्सीजस्ता विश्वप्रसिद्ध खेलाडीलाई मैदानबाहिर ‘कस्तो सुरक्षा चुनौती हुन सक्छ ?’ भन्ने देखाएको छ ।

अब सुरक्षा व्यवस्थामाथि थप प्रश्न
विश्वकपपछि सार्वजनिक भनिएको ‘प्रहरी डोजियर’ले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको सुरक्षा व्यवस्थामाथि केही महत्वपूर्ण प्रश्न पनि उठाएको छ । ‘खेलाडीलक्षित धम्कीको सूचना कसरी संकलन गरिन्छ ? सामाजिक सञ्जालमा आएको धम्कीलाई कति गम्भीरतापूर्वक लिइन्छ ? सम्भावित आक्रमणकारी पहिचान कसरी गरिन्छ ? र सबैभन्दा महत्वपूर्ण हजारौं अनलाइन धम्कीमध्ये वास्तविक जोखिम छुट्याउने प्रक्रिया कस्तो हुन्छ ?’जस्ता प्रश्न उब्जिएका छन् । यी प्रश्नको उत्तर सुरक्षा निकायका लागि भविष्यका प्रतियोगितामा अझ महत्वपूर्ण हुन्छ ।

सने २०२६ को विश्वकपमा देखिएका घटनाले सुरक्षा अब स्टेडियमवरिपरि प्रहरी परिचालन गर्ने विषय नरहेको स्पष्ट पारेको छ । साइबर सुरक्षा, सामाजिक सञ्जाल निगरानी, व्यक्तिगत जानकारीको संरक्षण, होटल सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षा निकायबीचको समन्वय पनि आधुनिक खेलकुद सुरक्षाको अभिन्न हिस्सा बनिसकेको छ ।

रोनाल्डो पनि थिए सुरक्षा निगरानीमा
सन् २०२६ को विश्वकपमा सुरक्षा चिन्ता मेस्सीमै सीमित थिएन । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि सुरक्षा अधिकारीको निगरानीमा रहेको विवरण सार्वजनिक भएको छ । प्रहरी डोजियरलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार फिफाका एक कर्मचारीले रोनाल्डोको बसोबाससम्बन्धी जानकारी पत्ता लगाउन खोजिरहेको एक व्यक्ति’bout सुरक्षा अधिकारीलाई जानकारी दिएका थिए । त्यसपछि रोनाल्डो बसेको स्थानसँग सम्बन्धित सुरक्षा चिन्ताका कारण एक व्यक्तिलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

क्यानडामा रोनाल्डो नजिक पुग्ने प्रयास गरेको अर्को व्यक्तिसम्बन्धी घटना पनि डोजियरमा उल्लेख छ । ती व्यक्तिले ‘आफू रोनाल्डोसँग सेल्फी लिन चाहेको’ बताएका थिए । यद्यपि, अन्तर्राष्ट्रिय प्रतियोगिताक्रममा खेलाडीको सुरक्षा व्यवस्था ध्यानमा राख्दा अनधिकृतरूपमा नजिक पुग्ने प्रयासलाई सुरक्षा निकायले गम्भीररूपमा लिनु स्वाभाविक हो ।

मेस्सी र रोनाल्डो दुवै विश्व फुटबलका सबैभन्दा चर्चित अनुहार हुन् । उनीहरू जहाँ पुग्छन्, त्यहाँ समर्थकको ठूलो भीड लाग्ने गर्छ । उनीहरूको लोकप्रियता नै कहिलेकाहीँ सुरक्षा व्यवस्थापनका लागि चुनौती बन्ने गरेको छ ।

एम्बाप्पेलगायतमाथि दुर्व्यवहार
विश्वकपक्रममा फ्रान्सेली स्टार किलियन एम्बाप्पेलगायत खेलाडीले पनि अनलाइन दुव्र्यवहार तथा धम्की सामना गर्नुपरेको रिपोर्टमा उल्लेख छ । खेलमा प्रदर्शन कमजोर हुँदा वा गोल गर्ने अवसर गुमाउँदा खेलाडीमाथि समर्थकको आक्रोश पोखिनु फुटबलमा नयाँ कुरा होइन । सामाजिक सञ्जाल विस्तारसँगै यस्तो आक्रोश खेलाडीको निजी जीवनसम्म पुग्ने गरेको छ । रिपोर्टमा नर्वेका अलेक्जान्डर सोर्लोथ र उनकी पत्नीलाई पनि धम्की आएको उल्लेख छ ।

खेलमा गोल गर्ने अवसर गुमाएपछि समर्थकबाट सोर्लोथलक्षित धम्की आएको बताइएको छ । को लम्बियाका जामिन्टन क्याम्पाज तथा फ्रान्सका लुकास डिग्नेसम्बन्धी सुरक्षा घटना पनि प्रहरी अभिलेखमा उल्लेख छ । यी घटनाले खेलाडीका लागि विश्वकप मैदानमा हुने ९० मिनेटको खेलमात्र नभएको देखाउँछ । खेलको नतिजा, समर्थकका प्रतिक्रिया र सामाजिक सञ्जालमा हुने बहसले उनीहरूको व्यक्तिगत सुरक्षासम्म असर पार्न सक्छ ।

रेफ्री पनि धम्कीबाट अछुतो रहेनन्
सुरक्षा चुनौती खेलाडीमै सीमित थिएन । खेल सञ्चालन गर्ने रेफ्रीसमेत अनलाइन आक्रोश र धम्की सामना गर्न बाध्य भएको विवरण सार्वजनिक भएको छ । अर्जेन्टिना र इजिप्टबीचको खेल सञ्चालन गरेका फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सियरले खेलपछि ठूलो संख्यामा धम्कीपूर्ण सन्देश प्राप्त गरेको रिपोर्टमा उल्लेख छ । उनले आफ्नो ‘ह्वाट्सएप’मा करिब ६ हजार धम्कीपूर्ण सन्देश पाएको बताइएको छ । फुटबलमा रेफ्रीको निर्णयलाई लिएर समर्थक असन्तुष्ट हुनु सामान्य हो । खेलक्रममा एउटा निर्णयले पूरै खेलको नतिजा परिवर्तन गर्न सक्छ ।

असन्तुष्टिलाई व्यक्तिगत धम्कीमा परिणत गर्नु भने खेलकुदको सामान्य आलोचनाभन्दा धेरै गम्भीर विषय हो । यस घटनाले सामाजिक सञ्जाल र तत्काल सन्देश पठाउने माध्यमले उत्पन्न गरेको नयाँ चुनौती पनि उजागर गरेको छ । खेल सकिएलगत्तै समर्थकको आक्रोश सामाजिक सञ्जालमा फैलिन्छ र केही व्यक्तिले भावनात्मक प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषा प्रयोग गर्न सक्छन् । यस्तो गतिविधि नियन्त्रण गर्नु अहिले सुरक्षा निकायका लागि नयाँ चुनौती बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषद् बैठकका ५ निर्णय