काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्को समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भिर्यता बुझी तत्काल परिचालन हुन निर्देशन दिएका छन् ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सवको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् ।
उनले एक्लो प्रयासबाट मात्रै विपद्लाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद् व्यवस्थापनको प्रमुख आधार भएको उल्लेख गर्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्यका साथ विपद् व्यवस्थापनमा थप सक्रिय भई परिचालन हुनुपर्नेमा जोड दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन, राजमार्गको सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणलगायत आन्तरिक सुरक्षाका विभिन्न घटनाहरूमा सशस्त्र प्रहरी कर्मचारीहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै कार्यक्षेत्रमा खटिने हरेक राष्ट्रसेवकहरू अझ व्यावसायिक भई इमानदार, नैतिकवान्, कर्तव्यनिष्ठ र परिस्थितिअनुरूपको निर्णय क्षमता राखी तत्काल परिचालन हुनुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय, धार्मिक तथा साम्प्रदायिक किसिमका विवादका विषयहरूले सुरक्षामा थप चुनौती थपिएको बताउँदै यस्ता कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरूले मानवअधिकारको पूर्ण पालना गर्दै कानुनी दायराभित्र रही न्यायोचित तरिकाले मात्र बल प्रयोग गर्नुका साथै सुरक्षा परिचालन र कारबाहीमा समेत सशस्त्र प्रहरी बल नेपालको कुनै कमीकमजोरी नहुने तरिकाले परिचालन हुन निर्देशन दिए ।
आफ्नो व्यक्तिगत आग्रह पूर्वाग्रहलाई थाँती राख्दै कमान्डर तथा नेतृत्व वर्गसँग हातेमालो गरी संगठन विकासमा एउटै लक्ष्यका साथ अघि बढ्न र आफ्नो कर्तव्य पथमा अविचलित भई लागिरहन निर्देशन दिुँदै महानिरीक्षक पौडेलले भने, ‘म होइन, हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी परिचालित भएमा वृत्तिविकासका अवसरहरू आफै सिर्जना हुँदै जान्छन् ।’

उनले सीमावासीसँगको सुमधुर सम्बन्ध नै सीमा सुरक्षाको महत्वपूर्ण कडी भएको हुनाले उनीहरूको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी रूपमा जोड्नुपर्ने बताउँदै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप सुदृढ गरी अन्य कार्यक्रमहरू समेत सञ्चालन गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले आपद् विपदमा परेका आम नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले एउटा भरोसा योग्य संगठनको रूपमा स्थापित भई राष्ट्र र संगठनले लिएको लक्ष्यअनुरूपको कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कमान्डरहरूले दण्ड र पुरस्कारको नीतिलाई अझै कडाइका साथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिए ।,
कार्यक्रममा वार्षिकोत्सव अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम, वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पु¥याउने विभिन्न संघसस्थालाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
जापान पठाउने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगेको अभियोगमा पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
निर्णय सुनाउने बेला निधि र महतबीच किन भयो धकेलाधकेल ?
भारतीय सेनाध्यक्ष धीरज सेठ काठमाडौंमा
टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?
साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल
कोशी मन्त्रिपरिषदमा प्रचण्डका ज्वाइँको ह्याट्रिक
प्रदेशमा दिनहुँ सत्ता उलटफेर






