एमाले अन्तरकलहः मिल्ने छाँट छैन, फुट्ने आँट छैन

काठमाडौं । संसदीय राजनीतिमा पराजयको अप्रत्याशित परिणाम व्यहोरेपछि कम्युनिष्ट पार्टीहरू थप पेचिलो अन्तरकलहमा फसेका छन् । नेकपा एमाले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा पुगेको छ ।

पार्टी नेतृत्वमा केपी शर्मा ओलीलाई स्वीकार्न पनि नसक्ने र हटाउन पनि नसक्ने दोधारमा देखिएको छ । नेतृत्व र संगठनको आन्तरिक विवादसँगै प्रदेश सरकार गठनका क्रममा गरिएका सत्ता सहकार्यले एमालेको राजनीतिक यात्रा झन् भद्रगोल बनेको छ ।

एमालेमा नेतृत्व हस्तान्तरणको बहस अनिर्णित अवस्थामा रहँदा तीन पूर्वप्रधानमन्त्रीको विरासत बोकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र भने विशाल केन्द्रीय कमिटी, निर्णय प्रक्रिया र पार्टी सञ्चालनको विषयले अन्तरकलह चर्काएको छ । पार्टी निर्माणका क्रममा लामो समय मुख्य प्रतिद्वन्द्वीका रूपमा संघर्ष गरेको एमालेसँग रातारात सत्ता सहकार्य गरेपछि नेकपाभित्रै त्यसको राजनीतिक औचित्यमाथि प्रश्न उठ्न थालेको हो ।

विभिन्न दुई दर्जन हाराहारी पार्टीसँगको सहकार्य र एकीकरणपछि २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको नेकपामा शीर्ष नेताहरूबीचसमेत मतैक्य हुन नसक्दा असन्तुष्टि सार्वजनिक मञ्चमै प्रकट हुन थालेको छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछिकै कठिन अवस्थामा पुगेको दाबी गर्दै वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कम्युनिष्टहरू मिलेर देश जोगाउनुपर्ने बताएका हुन् ।

तर, प्रचण्डको यो आह्वानसँगै पार्टीभित्रकै नेताहरूबाट फरक धारणा सार्वजनिक हुन थालेको छ । प्रचण्डले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा पार्टी असफल भएको स्वीकार गर्दै पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउने खेलमा लाग्नु गम्भीर भूल भएको बताएका छन् ।

‘हामी बढी कार्यनीतिमा अल्झियौँ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ प्रचण्डले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो ।’

रणनीतिक लक्ष्य प्राप्तिका लागि कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफलता हासिल भए पनि अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा पार्टी चक्रव्यूहमा फसेको उनको स्वीकारोक्ति थियो ।

खनालको सांकेतिक असहमति
प्रचण्डको भनाइप्रति नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांकेतिक असहमति जनाएका छन् । आफ्नो स्वार्थ र अनुकूलताका आधारमा कहिले मिल्ने र कहिले संघर्ष गर्ने प्रवृत्तिबाट कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने उनको भनाइ छ ।

कोशी प्रदेश कमिटीको बैठकमा बोल्दै खनालले नीति र आचरणमा समेत कम्युनिष्ट बन्नुपर्नेमा जोड दिए । वामपन्थी आन्दोलनमा सत्ताकेन्द्रित मानसिकता अत्यन्त खराब प्रवृत्तिका रूपमा विकास भएको भन्दै उनले त्यसको अन्त्य हुनुपर्ने बताए ।

सरकार गठन र केही लाभ–हानिको हिसाबलाई मात्रै केन्द्रमा राखेर पार्टी अघि बढ्ने प्रवृत्तिले वामपन्थी राजनीतिप्रति नै जनतामा घृणा पैदा गरेको उनको भनाइ थियो । नेतृत्वले तत्काल ‘कोर्स करेक्सन’ गर्नुपर्ने भन्दै उनले श्रमजीवी वर्ग र गरिब किसानका मुद्दामा उभिएर जनतालाई बुझाउँदै संगठित गर्न सके अझै कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवन दिन सकिने बताए ।

नेकपाकै कोशी प्रदेशस्तरीय कार्यक्रममा नेतृ तथा पूर्वमन्त्री पम्फा भुसालले २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय कमिटी आफैंमा भद्दा र निष्क्रिय भएको टिप्पणी गरिन् । कमिटीको आकार र निर्णय प्रक्रियाका कारण पार्टीमा निर्णय तथा कार्यान्वयन र कमिटी प्रणाली सञ्चालनमै समस्या देखिएको उनको भनाइ थियो ।

रोकिएको हो ओली हटाउने बहस ?
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने विषयमा चलिरहेको अन्तरसंघर्ष पनि न अघि बढ्ने न पछि हट्ने अवस्थामा पुगेको छ । निर्वाचन समीक्षाका नाममा सुरु भएको छलफल र त्यसको प्रतिवेदन बुझाउने क्रममा अध्यक्ष ओलीले परिमार्जनको दबाब दिएपछि एमालेको आन्तरिक विवाद थप जटिल बनेको हो ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत नेतृत्व प्रतिवेदनको विषयमा दबाबमा परेका छन् । प्रतिवेदन नसच्याए बैठक नै बस्न नसक्ने वा अप्रत्याशित परिस्थिति उत्पन्न हुन सक्ने अवस्था बनेपछि कठोर अंश हटाएर नरम भाषामा मध्यविन्दु खोज्ने प्रयास भइरहेको नेताहरूको भनाइ छ ।

यता नेकपा र एमालेलाई रुपान्तरणसहित नेतृत्व हस्तान्तरण तथा वामपन्थी एकताको नयाँ प्रक्रियामा लैजानुपर्ने बहससमेत सुरु भएको छ ।

नेकपाभित्र पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, पूर्वमन्त्री पम्फा भुसाल, शक्ति बस्नेत, चक्रपाणि खनाल तथा युवा नेताहरू युवराज दुलाल, रामप्रसाद सापकोटा, रञ्जित तामाङ, सरलसहयात्री पौडेल, माधव सापकोटा र लेखनाथ न्यौपानेलगायत नेताहरूले पुनर्गठनको बहस अघि बढाएका छन् ।

पार्टी पुनर्गठनका लागि नेतृत्वले तत्काल मार्गप्रशस्त गर्ने कि महाधिवेशनमार्फत विधि र प्रक्रिया तय गरेर पुनर्गठन गर्ने भन्ने विषयमा छलफल भइरहेको एक नेतानिकट स्रोतले जनाएको छ ।

वरिष्ठ नेता खनालले गएको असारमै पार्टीभित्रका असन्तुष्टि समेटेर संयोजक प्रचण्डलाई ३६ बुँदे पत्र बुझाएका थिए । उनले पार्टी पुनर्गठनका लागि प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

नेता नारायणकाजी श्रेष्ठले पनि पुनर्गठनको आवश्यकता’bout आफू निकट नेताहरूसँग छलफल गर्दै आएका छन् । अध्यक्षको वर्तमान कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित उनले पुनर्गठनको बहसलाई अघि बढाएको उनीनिकट नेताहरूको भनाइ छ ।

कम्युनिष्ट पार्टीहरूलाई यही स्वरूप र वर्तमान नेतृत्वमै छाडिरहे वामपन्थी आन्दोलन इतिहासमै सीमित हुने भएकाले पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेण्डा अघि सारिएको खनालनिकट स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव