धनगढी । नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेशले प्रदेशमा रहेका ६ हजार मिटरभन्दा अग्ला हिमालको ‘पिक प्रोफाइल’ तयार गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ ।
संघले मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावललाई पत्र दिँदै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हिमाली पर्यटन प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम समावेश गर्न आग्रह गरेको हो ।
संघका अध्यक्ष किशोरकुमार खड्काले दिएको पत्रमा सुदूरपश्चिममा रहेका ६ हजार मिटरभन्दा अग्ला हिमालको पिक प्रोफाइल तयार पार्ने कार्यक्रमलाई प्राथमिकता दिन माग गरिएको छ । यसबाट प्रदेशका हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्न सहयोग पुग्ने संघको अपेक्षा छ ।
त्यस्तै, संघले अपी र साइपाल हिमालमा दक्ष जनशक्तिको प्रयोग गरी आरोहण रुट पहिचान तथा निर्माण गर्नुपर्ने माग गरेको छ । अपी, साइपाललगायत अन्य हिमाल र पदयात्रा मार्गलाई लक्षित गरी स्थानीयस्तरमा ट्रेकिङ गाइड, पोर्टर, रक क्लाइम्बिङ तथा हिमाल आरोहणसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पनि संघले आग्रह गरेको छ ।
संघले अपी र साइपाल क्षेत्रमा विविध कार्यक्रमसहित ‘पर्यटन सप्ताह’ आयोजना गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ ।
पत्रमा सुदूरपश्चिमको पर्यटन क्षेत्रले अझै थप उचाइ लिन सक्ने उल्लेख गर्दै विशेषगरी हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासबाट प्रदेशमा आयआर्जन तथा रोजगारीका अवसर विस्तार गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
नवनियुक्त मन्त्री रावललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संघले हिमाली पर्यटनको प्रवद्र्धन र विकासलाई प्रदेशको नीति तथा कार्यक्रममा समेट्न आग्रह गरेको हो ।
सम्बन्धित समाचार
बडीमालिका पूजाका लागि धनगढी उपमहानगरको सरकारी टोली बाजुरा प्रस्थान
२ वर्ष गोप्य राखेर सरकारले सार्वजनिक गर्यो एनसेल प्रतिवेदन
एउटै प्रयोजनमा दुईतिर भवन किन ?
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार
काठमाडौंमा फेरि अर्को आत्मदाह प्रयास
किशोर श्रेष्ठ पक्राउप्रति विरोध
बाजुरामा पहिरोले पुरिएर २ घाइते १ बेपत्ता
२४ घण्टामा विपदवाट १३ जनाको मृत्यु, ५ बेपत्ता






