पाँच वर्षमै जीर्ण बन्यो राउटे वस्तिको सोलार लिफ्ट सिँचाइ योजना

डडेल्धुरा । भित्रीमधेशस्थित लोपोन्मुख राउटे समुदायको बसोबास रहेको परशुराम नगरपालिका–१२, आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएको केही वर्षमै जीर्ण बनेको छ । राउटे बस्तीमा कृषि उत्पादन बढाउन तथा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण गरिएको जिल्लाकै ठूलो सोलार लिफ्ट सिँचाइ योजना अहिले प्रयोगविहीन अवस्थामा पुगेको हो ।

रंगुन नदीबाट सोलार प्रविधिमार्फत पानी तानेर बस्ती आसपासको ४५ बिघा खेतीयोग्य जमिनमा सिँचाइ गर्ने उद्देश्यले करिब पाँच वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराको करिब ६५ लाख रुपियाँ लगानीमा योजना निर्माण गरिएको थियो । योजना निर्माण सम्पन्न भएपछि राउटेहरुले खेतबारीमा अन्नबाली तथा तरकारी खेती गर्न सिँचाइ सुविधा पाउने अपेक्षा गरेका थिए ।

तर, योजना निर्माण भएको केही वर्षमै पानी तान्ने मोटर बिग्रिएपछि सिँचाइ सेवा अवरुद्ध भएको छ । मोटर लामो समयदेखि मर्मत हुन नसक्दा सोलार प्यानल, पाइप तथा अन्य उपकरणसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन । कतिपय उपकरणमा खिया लागिसकेको स्थानीय दानबहादुर राउटेले बताए । 

आमपानीमा करिब ३५ घरपरिवार राउटे समुदायको बसोबास छ । परम्परागत रूपमा जंगलमा आश्रित तथा घुमन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समय स्थायी बसोबासतर्फ उन्मुख हुँदै अन्नबाली र तरकारी खेतीमा समेत संलग्न हुन थालेको छ । खेती गर्न थालेपछि नियमित सिँचाइको आवश्यकता बढे पनि बस्तीका लागि निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना नै बन्द भएपछि स्थानीय समस्यामा परेको उनले बताए ।

उनका अनुसार रंगुन खोलाबाट पानी तानेर माथिल्लो भूभागमा पु¥याउने संरचना निर्माण गरिए पनि योजना सञ्चालनका लागि आवश्यक मर्मतसम्भार र संरक्षणमा पर्याप्त ध्यान पुग्न सकेको छैन्न । मोटर बिग्रिएपछि समयमै मर्मत नहुँदा क्रमशः अन्य संरचनासमेत बिग्रिँदै गएको उनको भनाई छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राबिधिक रोशन भट्टकाअनुसार स्थानीयस्तरबाट नियमित मर्मतसम्भार हुन नसक्दा योजना हाल बन्द अवस्थामा रहेको छ । योजना सञ्चालनका लागि आवश्यक बजेटको पहल भइरहेको उनले बताए । बजेट उपलब्ध भएमा बिग्रिएका मोटर तथा अन्य उपकरण मर्मत गरी सिँचाइ योजना पुनः सञ्चालन गर्ने तयारी रहको उनको भनाई छ ।

प्रदेश सरकारको ठूलो लगानीमा निर्माण भएको योजना केही वर्षमै बन्द हुँदा सरकारी लगानीको दिगोपनमाथि समेत प्रश्न उठेको छ । सिँचाइ पूर्वाधार निर्माणमा बजेट खर्च गरेपछि त्यसको नियमित सञ्चालन, मर्मतसम्भार र स्थानीय व्यवस्थापनको जिम्मेवारी स्पष्ट नहुँदा यस्ता योजना लामो समयसम्म सञ्चालनमा रहन नसक्ने समस्या देखिएको स्थानीयवासको भनाइ छ ।

राउटे समुदायको जीवनस्तर सुधार तथा उनीहरूलाई कृषि उत्पादनसँग जोड्ने उद्देश्यले निर्माण गरिएको योजना सञ्चालनमा आउँदा बस्तीका परिवारलाई तरकारी तथा अन्नबाली उत्पादनमा प्रत्यक्ष लाभ पुग्ने थियो । विशेषगरी भित्रीमधेशको गर्मी मौसममा सिँचाइको अभावमा खेती प्रभावित हुने भएकाले रंगुन नदीको पानी उपयोग गर्ने गरी निर्माण गरिएको लिफ्ट योजना राउटे समुदायका लागि महत्वपूर्ण मानिएको थियो । 

सिँचाइ सुविधा नियमित रूपमा उपलब्ध भए आमपानीका ३५ राउटे परिवारले आफ्नै जमिनमा वर्षभरि विभिन्न किसिमका अन्नबाली तथा तरकारी उत्पादन गर्न सक्ने सम्भावना छ । यसबाट खाद्य सुरक्षासँगै कृषि आम्दानीसमेत बढाउन सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

चीनबाट जनै आयात भएको तथ्याङ्क छैन