धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा विस्तारित अस्पताल सेवा बन्द गरिएको छ । २०७९ फागुनदेखि सुरू भएको विस्तारित अस्पताल सेवा गत चैतदेखि नै बन्द गरीएको हो ।
विस्तारित सेवा सञ्चालनमा हुँदा सेतीबाट साँझ तीन बजेपछि पनि ओपिडी सेवा लिन मिल्थ्यो । ओपिडि र अन्य उपचारमा न्यूनतम शुल्क तिरेर बिरामीले सहजै उपचार सेवा पाउने अवस्था हाल आएर बन्द गरिएको हो । विस्तारित अस्पताल सेवामा ओपिडीसँगै प्रयोगशाला र शल्यक्रिया सेवा पनि प्रदान गरिँदै आएको थियो । जसले गर्दा कमजोर आर्थिक अवस्था भएका बिरामीले सस्तो उपचार सेवा पाउँदै आएका थिए । तर अहिले भने जनशक्तिको अभाव देखाएर सेती प्रादेशिक अस्पतालले विस्तारित अस्पताल सेवा स्थगित गरेको जनाएको छ ।
अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जनशक्ति अभावले गर्दा विस्तारित अस्पताल सेवा स्थगित गरिएको जानकारी दिए । ‘सेतीमा जनशक्ति अभावले गर्दा चैतदेखि विस्तारित अस्पताल सेवा स्थगित गर्नु परेको छ । सरकारले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ड्युटी गर्नुपर्ने नियम ल्याएपछि विस्तारित अस्पताल सेवा स्थगित गर्नु परेको हो,’ सूचना अधिकारी श्रेष्ठले भने ।
विस्तारित स्वास्थ्य सेवा तीन वर्षमै बन्द
२०७९ फागुनमा सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पाल सेवा सुरू गर्दै शनिवार र सार्जनिक विदाका दिन बाहेक आइतवारदेखि शुक्रवारसम्म दिउँसो ३ बजेदेखि उपचार सेवा सञ्चालन हुने बताइएको थियो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले विस्तारित अस्पताल सेवा सुरू भएसँगै साँझ तीन बजेपछि पनि ओपिडी सेवा सञ्चालन हुने र विस्तारित अस्पताल सेवाअन्तर्गत टाढाबाट आउने विरामीले सहजै कम शुल्क तिरेर उपचार गराउन सक्ने बताएका थिए ।
तर पाण्डे नै अस्पतालको मेसु हुँदा सुरू भएको सेवा तीन वर्षमै बन्द गर्नुपर्ने अवस्था आएको छ । अस्पतालले जनशक्तिको अभाव देखाएर सेवा बन्द गरेको बताए पनि सेतीमा कार्यरत चिकित्सकहरूले बाहिरका निजी अस्पताल र क्लिनिकमा भने सेवा दिन छोडेका छैनन् । अस्पतालमा काम गर्दा समय नपुग हुने तर बाहिर भने कार्यालय समयमै छात्रवृत्ति कराररमा कार्यरत चिकित्सकले समेत काम गर्दै आएको विवरणहरू सार्वजनिक हुने गरेका छन् ।
विस्तारित अस्पताल सेवाका लागि ओपिडि टिकट दर्ता सेवा सञ्चालन दिउँसो २ वजेदेखि बेलुका साढे चार बजेसम्म खुला हुने व्यवस्था थियो । विस्तारित अस्पताल सेवामार्फत सेवा लिएका विरामीले ८ दिनसम्म फेरि परामर्श सेवा लिन आउँदा थप दस्तुर नलाग्ने व्यवस्था थियो । ओपिडीमा विस्तारित सेवा लिएका विरामीले भने शल्यक्रिया र प्रयोगशाला जाँच गर्नुपरे विस्तारित अस्पताल सेवा अन्तर्गत नै गराउनुपर्ने नियम थियो ।
विस्तारित अस्पताल सेवा अन्तर्गत विरामीले परामर्श शुल्क ४ सय मात्रै थियो भने प्रयोशाला र शल्यक्रिया शुल्क निजी अस्पतालको भन्दा कम तोकिएको थियो । अस्पतालले सेवा बन्द गर्दा टाढाबाट आउन तथा न्यून आय भएका बिरामीले निजी स्वास्थ्य संस्थामा परामर्श शुल्क मात्रै एक हजार रुपैयाँसम्म तिर्नु पर्ने अवस्था बनेको छ ।
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले पनि सरकारले नयाँ नियम लगाएपछि विस्तारित अस्पताल सेवा स्थगित भएको जनाएको छ । हालको समिति नियुक्त भएको एक महिना नपुग्दै अस्पतालले दिँदै आएको विस्तारित सेवा बन्द भएको हो । गत चैत १० गते समितिले पदबहाली गरेको हो भने चैत २२ गतेपछि विस्तारित अस्पताल सेवा बन्द भएको हो ।
यता, अस्पताल व्यवस्थापन समितिले पनि जनशक्ति अभावले नै सेवा बन्द भएको जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष बलराम भट्टले अस्पताल प्रशासनले जनशक्ति नपुग्ने भनेकाले सेवा नै बन्द गर्नु परेको बताए ।
तर, सर्वसाधारणले भने अस्पतालले निहुँ खोजेर नै विस्तारित अस्पताल सेवा बन्द गरिएको आशंका गरेका छन् । सेती अस्पतालमा भेटिएका सेवाग्राहीले गत वर्ष विस्तारित अस्पताल सेवाबाट उपचार गराएकोमा यो पटक आउँदा सेवा नै बन्द भएकाले महंगोमा अन्यत्र उपचार गर्नु परेको गुनासो गरे । उनीहरुको सर्वसाधारणलाई सहयोग पुग्ने सेवा चाँडै सुरू हुनुपर्ने धारणा रहेको छ ।
सम्बन्धित समाचार
दुई वर्षदेखि प्रदेश सरकारमै फाइल रोकिँदा धनगढीको अत्याधुनिक बसपार्क निर्माण अन्योलमा
धनगढीका नितेशले बनाए विश्व बजार तताउने एआई ‘अल्केमी’
तान्त्रिक साधना केन्द्र: भुवनेश्वरी मन्दिर प्राचीन शैलीमा
कैलालीमा दशैँअघि लालपुर्जा बाँड्ने तयारी
एउटै प्रयोजनमा दुईतिर भवन किन ?
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
प्रधानमन्त्रीले थाले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल, को को छन् सहभागी ?
साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ






