बझाङको बिरिजात : हिमालको काखमा जीवित आस्था

बझाङको उत्तरी आकाशमा वर्षाको बादल बाक्लिँदै जाँदा गाउँहरूमा एउटा पुरानो कथा फेरि जाग्छ । डाँकाको आवाज सुनिन थाल्छ, देउघरमा धामी काँप्न थाल्छन्, चाभाइका स्वर गाउँका चौतारा हुँदै पहाडतिर उक्लिन्छन् । त्यति मात्रै नभई, निगालाका लाकुणी तयार हुन्छन् । घरघरमा व्रत बस्ने तयारी हुन्छ । र मानिसहरू जुत्ता–चप्पल उतारेर एउटा यस्तो बाटोतर्फ लाग्छन्, जहाँ बाटोभन्दा ठुलो उनीहरूको विश्वास हुन्छ । त्यो बाटो सुर्मा सरोवरतर्फ जान्छ ।

सुर्मा सरोवर : जहाँ देवी थार बनिन्, पहाडले कथा बोलिरहेछन्

समुद्री सतहबाट करिब चार हजार तिन सय मिटर भन्दा माथिको हिमाली भूगोलमा रहेको यो सरोवर आज प्राकृतिक सुन्दरताको गन्तव्य पनि हो । तर स्थानीयका लागि यो केवल ताल होइन । यो सुर्मादेवीको घर हो । देवीको अन्तिम आश्रय हो । एउटा पुरानो वियोगको स्मृति हो । र पुस्तौँदेखि मुखमुखैमा बाँचिरहेको एउटा यस्तो कथा हो, जसमा देवी कहिले बहिनी बन्छिन्, कहिले वन्यजन्तु ‘थार’को भेष धारण गर्छिन्, कहिले गाउँ–गाउँ हुँदै आफ्नो बाटो खोज्छिन् र अन्ततः हिमालको काखमा रहेको सरोवरमा विलीन हुन्छिन् । यही स्मृतिको नाम हो बिरिजात ।

स्थानीय जनविश्वास अनुसार यसको मूल कथा बझाङको दुर्गा थली क्षेत्रस्थित थलीजिउँलाबाट सुरु हुन्छ । सुर्मादेवीको उत्पत्ति त्यही दुर्गा भगवती परम्परासँग जोडिएको स्थानीय किंवदन्ती छ । यो इतिहासको दस्ताबेजमा भेटिने कथा होइन । यो स्थानीय स्मृति हो । धामीका वाणी, चाभाइका शब्द, मन्दिरका थान, यात्राका बाटा र बुढापाकाका सम्झनामा बाँचेको कथा पनि हो विरीजात मेला ।

तर कहिलेकाहीँ एउटा समाजको सबैभन्दा गहिरो इतिहास अभिलेखमा होइन, उसले पुस्तौँसम्म दोहो¥याइरहेको कथामा लुकेको भेटाउन सकिन्छ ।

दुर्गाबाट छुट्टिएको त्यो क्षण
कथा महालिङ्ग बाट सुरु हुन्छ । स्थानीयका अनुसार महालिङ्ग देवतासँग सोह्र बहिनी शक्ति रूप रहेको बताइन्छ । तीमध्ये जेठी दुर्गादेवी र कान्छी सुर्मादेवीको कथा बिरिजातसँग सबैभन्दा गहिरोसँग जोडिन्छ । कतिपय स्थानीय परम्पराले उनीहरूलाई महालिङ्गका देवी रूपमा व्याख्या गर्छन् ।

महालिङ्गलाई कुष्ठरोग लाग्यो । देवताको रोग निको पार्न अनेक उपाय खोजिए । जडीबुटी प्रयोग भए । अन्ततः लसुन पिसेर लगाउने कुरा आयो । दुर्गादेवीले सुर्मालाई लसुन पिस्न भनिन् । लसुनको गन्ध सुर्मालाई मन परेन । उनले नाक छोपेर, शरीर अर्कोतिर फर्काएर लसुन उठाउन थालिन्। यही व्यवहारलाई लिएर दुवै दिदीबहिनीबिच मनमुटाब सुरु भयो ।

स्थानीय कथामा यही क्षणलाई सुर्माको जीवनको निर्णायक मोड लिएको मानिन्छ । दुर्गाको बचन सुर्माको मनमा लाग्यो । “यति नै चोखो भए हिमालयतिर जाऊ ।” सुर्माले पनि जवाफ दिइन् , हिमालतिर जाने विचार आफ्नो मनमा पहिल्यै रहेको सङ्केत गर्दै । त्यसपछि सुरु भयो एउटा यात्रा, घरबाट छुट्टिने यात्रा, दिदीबाट टाढिने यात्रा, मानिसहरूको संसार बाट हिमालको एकान्ततर्फ जाने यात्रा । तर सुर्मा साधारण यात्रु भएर हिँडिनन् । उनले ‘थार’को भेष रोजिन् । थार—स्थानीय भूगोल र लोक स्मृतिमा चिनिने वन्यजन्तु हो । यहीँबाट बिरिजातको कथा धर्म, प्रकृति र लोक जीवनको अनौठो सङ्गम बन्न पुग्छ ।

थारको भेषमा देवी
सुर्मा देवीले थारको भेषमा निस्किएपछि उनी एकै ठाउँमा पुगेकी छैनन् भन्ने स्थानीय कथन छ । उनी जहाँ–जहाँ पुगेको विश्वास गरिन्छ, त्यहाँ–त्यहाँ उनका पदचिह्नसँग जोडिएका थान, मन्दिर र धार्मिक स्मृतिहरू निर्माण भएका छन् । कथाका विभिन्न स्थानीय संस्करणमा बाटो र घटनाका विवरण केही फरक छन् । तर मूल भाव एउटै छ, सुर्मा आफ्नो पुरानो घर छोडेर हिमालतिर लागिन् र बाटोका अनेक ठाउँमा आफ्नो ‘छल’ अर्थात् देवी रूपको स्मृति छाड्दै गइन् ।

बिरिजातको यात्रा केवल एउटा मेला होइन । बिछोडिएकी देवी, पछुतो बोकेको लोक स्मृति, दुई भाइको बाटो र पुस्तौँदेखि बाँचिरहेको हिमाली आस्थाको कथा पनि हो ।

दुर्गा बाट अलग हुँदा दुर्गाथलीको जीउलोमा भएको पागरको बोट र आधा अन्न उब्जनी हुने जिउलो समेत सँगै लिएर हिँडेको भन्ने कथन छन् । जो अहिले पनि आधा रुख र जिउलो दुर्गाथलीको दुर्गा मन्दिरमा र आधमा सुर्मा गाउँपालिको सुर्मा मन्दिर नजिकै देख्न सकिन्छ ।

दुर्गा थली बाट छुट्टिएपछि उनले विभिन्न ठाउँमा आफ्नो बास बसालिन् भन्ने विश्वास छ । खेतकोट, सेलाखेत, बारिल्ल, घोगाडा, थकुन्नाडा हुँदै उनको यात्रा सुर्मा सरोवरतर्फ पुगेको कथा सुनाइन्छ । स्थानीयका अनुसार सुर्माको थाररूप, बुडखोरी र घोगाडा लगायत स्थानसँग जोडिएको यहाँका नागरिकको भनाई छ ।

कुनै ठाउँमा उनले थारको भेषमा अन्नको बिस्कुन खाइन् । कुनै पनि ठाउँमा उनलाई मानिसहरूले देवी भनेर चिनेनन् । र कुनै ठाउँमा उनलाई देख्नेहरूले वन्यजन्तु ठानेर लखेटे । यसैले सुर्मादेवीको कथा केवल ‘देवी हिमालमा पुगिन्’ भन्ने कथा होइन । यो बाटोभरि फैलिएको देवीको स्मृति हो । आज ती ठाउँहरूमा मन्दिर छन् । थान छन्, जात्राका चरण छन्,पूजा हुन्छ, धामी बस्छन् ।

अर्थात्, सुर्मा जहाँ–जहाँ ‘गइन्’ भन्ने विश्वास छ, त्यहाँ–त्यहाँ आज पनि उनको कथा बाँचेको देखिन्छ ।

बिस्कुन चोर्ने थार
थारको भेषमा बुडखोरी, खेतकोट, सेलाखेत हुँदै घोगाडातिर पुगेको जनविश्वास छ । गाउँमा अन्न सुकाउन बिस्कुन हालिएको थियो । तर दिनदिनै बिस्कुन हराउन थाल्यो । मानिसहरूले थारले अन्न खाएको अनुमान गरे । खोरियाल्नीहरूले पुरुषलाई भने,“त्यो थारलाई धपाऊ।” मानिसहरू लागे,भाला बोके, थारलाई लखेटे, तर उनीहरूले जसलाई वन्यजन्तु ठानेर लखेटिरहेका थिए, लोक विश्वास अनुसार त्यो साधारण थार थिएन । उहाँ सुर्मादेवी स्वयं थिइन् । उनी गाउँबाट भागिन् । मानिसहरू पछिपछि लागे ।

कथा एक ठाउँमा रोकिएन । थारको भेषमा सुर्माका विभिन्न बस्ती हुँदै अघि बढिन् । घोगाडामा पनि बिस्कुन खाएको कथाले नयाँ मोड लियो । मानिसहरूले फेरि लखेटे । थकुन्नाडा, पाँगरजडी हुँदै उनी जलजलातिर लागिन् ।

स्थानीय परम्परामा यही क्रममा थारको पसिना वा त्यससँग जोडिएको घटनाबाट धौल्देउको जन्म भएको कथा पनि सुनाइन्छ । यसरी एउटै देवीको कथाले विभिन्न देवता, थान र गाउँलाई जोड्दै गयो । सुर्माको ‘छल’ एक ठाउँको कथा रहेन, त्यो एउटा पूरा सांस्कृतिक भूगोल बन्यो ।

रामदु र बामदु
सुर्माको लोककथामा अर्को मार्मिक अध्याय पनि छ । रामदु र बामदुको । स्थानीयका अनुसार रामदु र बामदु दुई दाजुभाइ थिए । दुवै दाजु भाइ मिलेर उक्त धारलाई लखेट्दै जाँदा सुर्मादेवी थारको भेषमा हिमालतिर लागेपछि उनको पछिपछि लागेर गएका थिए । लखेटेर लिएको थार सुर्मा सरोबर तालमा विलय भयो । र उनको पछिपछि गएका सबै जना घर फर्किए । घर फर्कने क्रममा बिचमा पहिरो जान गई । सबै जनाको पहिरोमा परेर मृत्यु भयो । बाँकी रहेका दुई जना दाजुभाइ रामदु र बँँमदु बाँचे । उनीहरू बिच विवाद भयो । कान्छो भाइ बामदुले परिवारका सबै परिवारको मृत्यु भएको अब आफूहरूले पनि गाउँ नजाने अडान गरे भने जेठो दाइ रामदुले भागे पनि घरमा गएर भाग्ने अडान लिए ।

त्यसपछि कान्छो भाइ बामदु घर जान नमानेर त्यही बाट अर्को ठाउँ गए जुन दार्चुला गएको भन्ने कथन छ । र जेठो भाइ भने घर फर्किएको स्थानीय पुजारी धामी बत्ताउँछन् । दुई भाइको बिछोड हुँदा जेठो दाइले कान्छो भाइलाई आफूले भनेको नमानेपछि तिम्रो र मेरो डिठ(देखाई) पणी जाऊ, भेट कहिले पनि नहोस् भन्दै श्राप दिएको भनाई छ । जो अहिले पनि बझाङ बाट पूजा पाठ गर्न गएका स्थानीय र दार्चुला बाट पूजा गर्नका लागी सुर्मा सरोबर तालमा पुगेकाहरू बिच भेट नभएको तीर्थ यात्रा दिनेश बोहराले सुनाए ।

मानिसहरूकै कथासँग यी दुई भाइको प्रसङ्ग यसरी जोडिन्छ । त्यसपछि दुई भाइमध्ये एक बझाङतर्फ फर्कने बाटोमा लागेका र अर्को दार्चुलातर्फ लागेका भन्ने गरिन्छ ।

यहीँबाट कथाले एउटा गहिरो भौगोलिक अर्थ पनि बोकेको देखिन्छ ।

सुर्मा सरोवर बझाङ र दार्चुलाको हिमाली सांस्कृतिक भूगोललाई जोड्ने स्थल हो । आज पनि बिरिजातमा बझाङको बाटो भएर जाने र दार्चुलाको मार्मा–अपि क्षेत्रबाट आउने श्रद्धालुहरूको भेट मुख्य धार्मिक स्थलका रूपमा परिचित छ । यस क्षेत्रलाई बझाङ र दार्चुलाबाट आएका तीर्थ लुहरूको साझा धार्मिक–सांस्कृतिक सम्बन्ध उल्लेख गरिएको छ ।

तर रामदु–बामदुको कथा अझ मार्मिक छ । लोककथाको एक संस्करण अनुसार सुर्मा सरोवरमा विलीन भइसकेपछि उनीहरू घर फर्कँदै गर्दा बाटोमा ठुलो पहिरो गयो । पहिरोमा परेर साथमा रहेका धेरै मानिसको मृत्यु भयो । त्यो मृत्यु केवल दुर्घटना थिएन—कथाले त्यसलाई देवीलाई नचिनी लखेटेको, उनको भेषको रहस्य नबुझेको र पछि पछुताएको स्मृतिसँग जोड्छ । जेठो भाइ रामदु बझाङतर्फ, थकुन्नाडाको बाटो फर्किए भने कान्छो भाइ बामदु भने घर फर्किएनन् । सबै जना पहिरोमा परेपछि उनले दार्चुलातिर जाने बाटो रोजे भन्ने जनश्रुति छ ।

यसरी दुई भाइको बाटो छुट्टियो । एउटा भाइ बझाङको स्मृतिमा रह्यो । अर्को दार्चुलाको भूगोलसँग जोडियो र सुर्मा सरोवर उनीहरूको बिचमा एउटा यस्तो पवित्र केन्द्र बन्यो, जहाँ वियोग, मृत्यु, पछुतो र देवीप्रतिको आस्था एउटै कथामा मिसिएको पाइन्छ । रामदु–बामदुको यो प्रसङ्ग उपलब्ध प्रमुख विभिन्न प्रकाशित सामग्रीमा स्पष्ट रूपमा भेटिँदैन; यो स्थानीय मौखिक परम्पराका रूपमा सुरक्षित रहेको कथन हो जो यहाँका मुख्य पुजारीहरू बत्ताउँछन् ।

तर लोककथाको शक्ति यही हो—उसले घटनाको मिति नबताए पनि मानिसहरूको स्मृतिमा एउटा भाव छाड्छ । रामदु र बामदुको कथा त्यही भाव हो ।

सुर्मा सरोवर : जहाँ थार हरायो र देवी प्रकट भइन्
लामो यात्रा गरेपछि सुर्मा जलजलातिर पुगिन् । उकालो अझै बाँकी थियो । हिमाल अझै टाढा थियो । मानिसहरू उनको पछिपछि थिए । अन्ततः उनी सुर्मा सरोवर पुगिन् । स्थानीय बासिन्दा दिनेश बहादुर बोहराका अनुसार थारको भेषमा रहेकी सुर्मा सरोवरको कुण्डमा पुगेर विलीन भइन् । र त्यहीँ उनको वास्तविक देवी रूप प्रकट भयो । थार हरायो, सुर्मा प्रकट भइन् । मानिसहरूले आफूहरूले लखेटेको जनावर देवी भएको बुझे । त्यसपछि पछुतो भयो ।

स्थानीय व्याख्यामा यही पछुतोबाट ‘चाः चाः’ वा ‘च्वः च्वः’ भन्ने ध्वनि र पछि ‘चाभाइ’ गीतको परम्परा विकसित भएको मान्यता पाइन्छ । यसको भाषा वैज्ञानिक प्रमाण’bout थप अध्ययन आवश्यक भए पनि स्थानीय सांस्कृतिक स्मृतिमा चाभाइलाई सुर्मादेवीको स्तुति गानका रूपमा लिइन्छ । सायद त्यसैले आज पनि बिरिजातमा चाभाइ केवल गीत मात्रै नभई, त्यो पछुतोको स्वर हो । देवीलाई नचिनेको समाजको क्षमा याचनाको स्वर हो । हराएकी देवीलाई सम्झने स्वर, र पुस्तौँ पछिसम्म आफ्ना सन्तानलाई पुरानो कथा सुनाइरहने स्वर रहेको यहाँका बुढापाकाको भनाई छ ।

जुत्ता खोलेर, शरीर होइन मन शुद्ध पार्दै
बिरिजातको वास्तविक शक्ति कथा सुनेर मात्र बुझिँदैन । यसलाई बुझ्न बाटोमा हिँड्नुपर्छ । एकादशीको दिन, भक्तजनहरू स्नान गर्छन् । लाकुणी—निगालाको लौरो—पूजा गर्छन् । त्यसपछि समूह बनाएर सुर्मा सरोवरतर्फ लाग्छन् । कसैले ढाँक बजाउँछ । कसैले शङ्ख फुक्छ । कसैले चाभाइ गाउँछ । कसैले देवीको नाम लिन्छन् । कसैले देवीका फाग र मागल गाउँछन् । र सबैभन्दा महत्त्वपूर्ण कुरा—जुत्ता खोलिन्छ, पानी हिउँ वा असिना नै आए पनि छाता ओढ्न पाइँदैन । कठिन हिमाली बाटोमा जुत्ता नलगाई हिँड्नु बाहिरी आँखाले हेर्दा असम्भवजस्तै लाग्न सक्छ । तर भक्तका लागि त्यो पीडा होइन, व्रत हो । सुर्मादेवीलाई चोखो मन मन पर्ने विश्वासका कारण यात्राअघि बाँधा मानिन्छ । निश्चित अवधिसम्म मासु, माछा, लसुन लगायतका खाद्य पदार्थ त्यागिन्छ र मदिरा बाट टाढा रहने परम्परा छ ।

थकुन्नाडाबाट माथि चढ्दै जाँदा….
लोट्नी आउँछ, पहिलो पटक जाने ‘बालावीर’का लागि लोट्नीको आफ्नै अर्थ छ । नाच्नी आउँछ, यहाँ पहिलो पटक सरोवर जाने बालावीरलाई काँधमा बोक्ने परम्परा छ । त्यसपछि मधु खर्क, बूढी विनायक, जलजला, चाँदे शिखर हिमाली भूगोल पार गर्दै यात्रा अघि बढ्छ । पुराना विवरणमा यही मार्ग हुँदै साँझतिर सुर्मा सरोवर पुग्ने गर्छन् । कसैको खुट्टामा काँडा बिझ्छ । कसैलाई लेक लाग्छ ।

कसैलाई चिसोले सताउँछ । तर पनि यात्रा रोकिँदैन । किनकि उनीहरूका लागि गन्तव्य केवल ताल होइन । सुर्मा माता हुन् ।

हिमालको काखमा एक रात
साँझ सुर्मा सरोवर देखिन्छ । चारैतिर हिमाल र चारै तिर ठुला ठुला चट्याङ, ढुङ्गा नै ढुङ्गा भएको ठाउँ, अलि ’round ठुला ठुला पाटन र बिचमा शान्त पानी । आकाश कहिले निलो, कहिले बादलले ढाकिएको , हावा चिसो र सँगै चल्ने सिरेटो । तर तीर्थालुको मनमा एउटा अनौठो न्यानोपन, उनीहरू सरोवरमा स्नान गर्छन् । पूजा आराधना गर्छन्, जल चढाउँछन्,फूल, अक्षता, धूप, भेटी चढाउँछन् । र मनमा वर्षौँदेखि बोकेको इच्छा देवीसमक्ष राख्छन् । बाटोमा हिँड्दा पाएका हजारौँ पिडा सरोबरको नजिक पुग्दा सुर्मा देवी जस्तै सबै पिडा एक छिन मै विलय हुन्छन् ।

स्थानीयको विश्वास छ,सरोवरमा स्नान गरी सुर्मादेवीको पूजा गरे मनोकामना पूरा हुन्छ र कतिपयका मनोकामना पुरा भएको उनीहरू सुनाउँछन् । त्यसैले यहाँका पुगेको कोही तिर्थालुहरु सन्तान माग्छन् । कोही रोग निको होस् भन्छन् । कोही परिवार सुखी होस् भनेर प्रार्थना गर्छन् । कोही विदेश गएको छोराको खबर माग्छन् । कोही घर फर्किएको मान्छे फेरि नहराओस् भनेर देवीलाई सम्झन्छ ।

साँझ पर्दै जाँदा तीर्थालुहरू ओडार र खुला आकाश मुनि रात बिताउँछन् ।

त्यहाँ न होटेल छ । न सहज बास । न सुविधायुक्त विश्राम स्थल । हिमाली रातले शरीरलाई कठोर बनाउँछ । तर आस्थाले मानिसलाई त्यहाँ रोकिराख्छ । सुर्मा सरोवरमा आगो, छाता र अन्य सुविधा’bout पनि स्थानीय धार्मिक निषेधका परम्परागत मान्यता छन् । पुराना विवरणमा तीर्थयात्रीहरूले सरोवर क्षेत्रको पवित्रता कायम राख्न यस्ता नियम पालना गर्ने उल्लेख छ ।

फर्किने बाटो पनि उस्तै पवित्र
देवीको दर्शनपछि यात्रा सकिँदैन । वास्तवमा बिरिजातको अर्को भावनात्मक अध्याय त्यहीँबाट सुरु हुन्छ । सरोवरबाट जल, माटो, फूल, गौरी धानजस्ता पवित्र सामग्री लिएर तीर्थालु फर्किन्छन् । लोट्नीमा गाउँका महिला–पुरुषहरू उनीहरूको भव्य स्वागत गर्न पुग्छन् ।

दही हुन्छ । मिठा परिकार हुन्छन् । आफन्त हुन्छन् । थकान हुन्छ । तर पनि अनुहारमा निकै खुसी हुन्छ । सुर्मा सरोवरबाट ल्याएको जलजस्तो पवित्र जल घरका देवतामा चढाइन्छ । गंगी माटो टीका लगाइन्छ । गौरी धान आशिषका रूपमा कान र शिरमा लगाइन्छ ।यसरी हिमालमा गएको तीर्थ घरको आँगनमा फर्किन्छ । यात्राले गाउँलाई जोड्छ । मन्दिरलाई जोड्छ । परिवारलाई जोड्छ । बझाङलाई दार्चुलासँग जोड्छ । र वर्तमान पुस्तालाई पुर्खासँग जोड्छ ।

डाँका, धामी र रातभर जाग्राम
बिरिजातको सौन्दर्य केवल हिमालमा छैन । त्यो गाउँमा पनि छ । थकुन्नाडा पुग्दा डाँका बज्छ । धामीलाई काँधमा बोकेर मन्दिर प्रवेश गराइन्छ । देउघरमा रातभर जाग्राम बसिन्छ । ढुस्का, फाग, मागल, चाभाइ र देउडा चल्छ । धामी काँप्छन् । स्थानीय विश्वास अनुसार देवताको अवतार हुन्छ । धामीले विगतका कुरा सुनाउँछन्, वर्तमान’bout सङ्केत गर्छन् र भविष्यका विषयमा पनि वाणी दिने विश्वास गरिन्छ । यो आधुनिक विज्ञानको प्रमाणित विधि होइन । तर समाज शास्त्रीय अर्थमा हेर्दा धामी केवल धार्मिक पात्र पनि होइनन् । उनीहरू स्थानीय मौखिक ज्ञानका वाहक हुन् । पुस्तौँदेखि सुनिँदै आएका कथा, देवी–देवताका सम्बन्ध, गाउँका सामाजिक स्मृति र धार्मिक संस्कार उनीहरूकै माध्यमबाट अर्को पुस्तामा पुग्छन् ।

मेलाभित्र लुकेको सामाजिक सम्बन्ध
बिरिजातलाई केवल धार्मिक पर्व मान्नु यसको आधा कथा मात्र बुझ्नु हो । यो भेटघाटको पर्व पनि हो । दार्चुलाको मार्मा र अपि हिमाल क्षेत्रबाट श्रद्धालु आउँछन् । बझाङका सुर्मा, छबिस, मष्टा,जय पृथ्वी र आसपासका क्षेत्रबाट तीर्थालु आउँछन् । कुनै गाउँका मानिस अर्को गाउँका पाहुना बन्छन् । कुनै ठाउँमा दही खुवाइन्छ । कुनै ठाउँमा धामी काँधमा चढाइन्छ । कुनै ठाउँमा चाभाइ खेलिन्छ । कुनै ठाउँमा देउडा रातभर चल्छ । त्यसैले बिरिजातले भूगोललाई मात्र होइन, मानिसलाई मानिससँग जोडेको छ ।

बिरिजातको समय
बिरिजातका चरण’bout स्थानीय परम्परामा विभिन्न विवरण पाइन्छन् । कतिपय स्रोतले साउनको औँसीदेखि पूर्णिमासम्मको लामो पर्वका रूपमा वर्णन गर्छन् भने मुख्य तीर्थयात्रा शुक्ल पक्षको एकादशीपछि सरोवरतर्फ जाने र चतुर्दशीमा स्नान–पूजा गरी जनपूर्णिमातिर फर्किने विवरण पनि प्रकाशित छन् । यस अवधिमा व्रत, बाँधा, मन्दिर पूजा, धामी परम्परा, डाँका नाच, चाभाइ, देउडा, भारी खेल, जाग्राम, सरोवर यात्रा र घर फिर्तीका विभिन्न चरण हुन्छन् । यसैले बिरिजात एउटा दिनको मेला होइन । यो एउटा समुदायले आफ्नो स्मृति फेरि जिउने समय हो ।

कथा र इतिहासको बिचमा उभिएको सुर्मा
सुर्मादेवीको कथा सुन्दा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ । यी सबै घटना कहिले भए ? यसको ठ्याक्कै उत्तर स्थानीयसँग पनि छैन । किनकि बिरिजातको प्राचीन उत्पत्ति’bout पर्याप्त लिखित ऐतिहासिक अभिलेख भेटिँदैन । उपलब्ध सामग्रीमा जनश्रुति, धामी–पुजारीको मौखिक ज्ञान, स्थानीय मन्दिर परम्परा र आस्थामा सङ्कलित विवरण प्रमुख छन् । त्यसैले सुर्मादेवीको थाररूप, रामदु–बामदु, पहिरो, देवीको सरोवरमा विलय जस्ता प्रसङ्गलाई प्रमाणित ऐतिहासिक तथ्यका रूपमा होइन, स्थानीय लोक विश्वास र मौखिक परम्पराका रूपमा बुझ्नु आवश्यक हुन्छ ।

तर यसो भन्दैमा यसको महत्त्व घट्दैन । नेपालका धेरै समुदायमा इतिहास ढुङ्गाको शिलालेखमा मात्र छैन । गीतमा छ, मन्दिरमा छ, धामीको वाणीमा छ, बाटोको नाममा छ, देवीको कथामा छ । र मानिसले आफ्नो नातिलाई राति आगोछेउ बसेर सुनाउने कथामा छ । सुर्माको इतिहास पनि त्यही प्रकारको इतिहास हो ।

अब बाटो जोगाउने पालो
तर समय बदलिँदै छ । पहिले सुर्मा सरोवर पुग्नु नै ठुलो चुनौती थियो । आज धार्मिक तीर्थयात्रासँगै प्राकृतिक सौन्दर्य हेर्न पर्यटकहरू पनि जान थालेका छन् । सुर्मा सरोवरलाई धार्मिक गन्तव्यसँगै पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा विभिन्न अध्ययन र समाचारहरूले उल्लेख गरेका छन् । यसले एउटा नयाँ प्रश्न जन्माएको छ । पर्यटन बढाउने कि परम्परा जोगाउने ? उत्तर सायद दुवै हो । तर बाटो र पर्यटन पदमार्ग बनाउँदा सुर्माको कथा नहराओस् । विश्राम स्थल बनाउँदा पवित्रता नबिग्रियोस् । पर्यटक बढ्दा प्लास्टिक नबढोस् । सडक र संरचनाको नाममा पुराना तीर्थ मार्ग नमासिउन् । स्थानीय संस्कृति केवल पर्यटकलाई देखाउने ‘कार्यक्रम’मा सीमित नहोस् ।

यही चुनौतीलाई बुझेर सुर्मा क्षेत्रका धार्मिक तथा पर्यटकीय पूर्वाधारतर्फ काम भइरहेको छ । सरकारी बजेट दस्ताबेजमा समेत सुर्मा क्षेत्रमा सुर्मा सरोवरतर्फको पदमार्ग निर्माणका योजना समावेश भएको देखिन्छ । सुर्मा गाउँपालिकाले पर्यटन, शिक्षा, कृषि र पूर्वाधारलाई विकासका आधारका रूपमा अघि सारेको छ । स्थानीय तहले बिरिजातलाई संरक्षण, प्रवर्द्धन र सामुदायिक पहिचानसँग जोडेर विभिन्न गतिविधि सञ्चालन गर्नु सकारात्मक सङ्केत हो ।

स्थानीय तहमा पर्वका अवसरमा सार्वजनिक बिदा, सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधिमार्फत यसको सामाजिक महत्वलाई संस्थागत गर्ने प्रयाससमेत भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइ छ । तर अब संरक्षणको अर्थ केवल मेला आयोजना गर्नु मात्र होइन । कथा लेखिनुपर्छ । चाभाइ र ढुस्का अभिलेख गर्नुपर्छ । धामीका वाणी र पुजारीका स्मृति रेकर्ड गर्नुपर्छ । पुराना तीर्थमार्गको नक्सा बनाउनुपर्छ । मन्दिर र थानको इतिहास लेखिनुपर्छ ।

रामदु र बामदुको जस्तो मौखिक कथालाई पनि कसले, कहाँ र कसरी सुनाउँदै आएको हो भनेर दस्ताबेज गर्न जरुरी छ । किनकि एक दिन कथाका अन्तिम साक्षी बुढापाका रहने छैनन् । त्यसपछि किताबमा लेखिएको अक्षर मात्र बाँकी रहनेछ ।

तीर्थका रूपमा जोगाउनुपर्छ
सुर्मा सरोवरको सौन्दर्य क्यामेराले कैद गर्न सक्छ । हिमालको फोटो खिच्न सकिन्छ । तालको रङ्ग देखाउन सकिन्छ । यात्राको कठिनाइ लेख्न सकिन्छ । तर एउटा कुरा क्यामेराले कैद गर्न सक्दैन । थारको भेषमा हराएकी देवीको कथा सुन्दा बुढापाकाको आँखामा आउने चमक ।

रामदु र बामदुको बाटो छुट्टिएको पीडा, पहिरोमा हराएका मानिसको स्मृति, ‘चाः चाः’बाट जन्मिएको भनिने चाभाइको पछुतो । खाली खुट्टा हिमालतिर उक्लिँदा भक्तको मनमा उठ्ने विश्वास ,धामी काँप्दा गाउँलेको आँखामा देखिने आस्था,र सरोवरको किनारमा पुगेर हात जोड्दा मानिसले आफ्नो मनभित्रै गर्ने संवाद ,यही बिरिजातको असली शक्ति हो ।
यो केवल मेला होइन ।

यो बिछोडको कथा हो । यो पछुतोको कथा पनि हो । यो देवीलाई खोज्दै हिमाल चढेको मानव यात्राको कथा हो । यो दुई भाइको बाटो छुट्टिएको कथा हो । यो बझाङ र दार्चुलाको सांस्कृतिक सम्बन्धको कथा हो । यो थारको भेषमा हिँडेकी सुर्माले बाटो–बाटोमा छाडेको छलको कथा हो । र सबैभन्दा माथि, यो एक समुदायले आफ्नो आस्था, स्मृति र पहिचानलाई पुस्तौँदेखि बचाइरहेको कथा हो ।

अन्तिम दृश्य
कल्पना गरौँ, बिरिजातको दिन सकिएको छ । डाँकाको आवाज बिस्तारै टाढिँदै छ । तीर्थालुहरू फर्किसकेका छन् । लोट्नीमा बाँडिएको दही सकिएको छ । थकुन्नाडाका देउघरहरू शान्त छन् । धामीहरू घर फर्किसकेका छन् । चाभाइको स्वर रोकिएको छ । पहाडमा फेरि बादल झरेको छ । र सुर्मा सरोवर एक्लै छ र जहाँ सुर्मा देवी माता मात्रै छन् । जहाँ पानीमा, लोक विश्वासअनुसार, कुनै समय थारको भेषमा आएकी सुर्मा विलीन भएकी थिइन् । त्यही पानीले उनको कथा बोकिरहेको छ ।

त्यही हिमालले रामदु र बामदुको बाटो सम्झिरहेको छ । त्यही पहाडले पहिरोमा हराएकाहरूको मौनता सुनेको छ । र त्यही बाटो भएर अर्को वर्ष फेरि मानिसहरू आउनेछन् । जुत्ता खोल्नेछन् । लाकुणी समाउनेछन् । चाभाइ गाउनेछन् र रमाउने छन् । देवीलाई पुकार्नेछन् । कसैले पहिलो पटक बालावीर भएर हिमालतिर पाइला चाल्नेछन् । कसैले आफ्नो पुरानो व्रत पूरा गर्न फर्कनेछ । कसैले मनोकामना माग्नेछन् । कसैले पुर्खाको कथा आफ्ना छोराछोरीलाई सुनाउनेछन् । र फेरि सुर्माको कथा सुरु हुनेछ ।

दुर्गाबाट छुट्टिएकी एउटी देवीको कथा । थारको भेषमा गाउँ–गाउँ हिँडेकी एउटी देवीको कथा, मानिसहरूले नचिनेर लखेटेको देवीको कथा , सरोवरमा विलीन भएर आफ्नो वास्तविक रूप देखाएकी देवीको कथा । पछुतोबाट जन्मिएको चाभाइको कथा, रामदु र बामदुको बाटो छुट्टिएको कथा,र हिमाल, पानी, मानिस र विश्वासबिच पुस्तौँदेखि बाँचिरहेको एउटा अमिट सम्बन्धको कथा, सायद त्यसैले बिरिजातलाई केवल ‘मेला’ भन्नु अपुरो हुन्छ । बिरिजात एउटा जीवित स्मृति हो । सुर्मा सरोवर त्यस स्मृतिको मुटु हो,र सुर्मादेवी त्यो मुटुमा आज पनि बगिरहेकी एउटा पुरानो, रहस्यमय र कहिल्यै नसकिने कथा हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग