बाजुरा । ‘जानु मालिका, शौच गर्ने कहाँ ?’ बडिमालिकासँग जोडिएको यो स्थानीय उखान वर्षौंदेखि चलिआएको छ । बडिमालिका पुग्ने यात्रुको सबैभन्दा आधारभूत समस्या झल्काउने यो उखान अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
उखान चलनमा आएको बेलादेखि हालसम्म राज्यले बडिमालिकाको विकासका नाममा करोडौं रुपैयाँ खर्च गरिसकेको छ । तर, बडिमालिका पुग्ने यात्रुको दुःख फेरिएको छैन ।
चार दिनसम्मको पैदल यात्रापछि मन्दिर पुग्ने तीर्थयात्रीका लागि पर्याप्त शौचालय छैन । जनैपूर्णिमाको समयमा हजारौं यात्रु पुग्दा मन्दिर आसपास टेन्ट राख्ने ठाउँसमेत हुँदैन । भिरालो जमिनमा टेन्ट अड्याएर रात काट्नुपर्छ । शौचालय नहुँदा मन्दिर, पाटन र बाटो आसपास खुला दिसापिसाब गर्नुपर्ने बाध्यता छ ।
बडिमालिकाको पर्यटन विकास, प्रवद्र्धन र पूर्वाधार निर्माणका नाममा राज्यका विभिन्न निकायले वर्षौंदेखि रकम खर्च गरिरहेका छन् । महालेखा परीक्षकका प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६९–७० देखि २०८२–८३ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पुरातत्व विभाग, सुदूरपश्चिम र कर्णाली प्रदेश तथा बडिमालिका र त्रिवेणी नगरपालिका एवं कालीकोटका सम्बन्धित स्थानीय तहले बडिमालिका क्षेत्रको विकासका नाममा ४० करोड ८१ लाख ५७ हजार ५ सय ६२ खर्च गरेका छन् । यति ठूलो रकम खर्च भइसक्दा पनि यात्रुले भोग्ने आधारभूत समस्या भने समाधान भएको छैन ।
बडिमालिका सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल हो । देशकै अग्ला खुला तथा विशाल घाँसे मैदानमध्ये एक रहेको यो क्षेत्र धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण पनि चर्चित छ ।
स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सतीदेवीले प्राण त्याग गरेपछि महादेवले उनको मृत शरीर बोकेर हिँड्ने क्रममा मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अंग पतन भएको मानिन्छ । त्यही स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडिमालिका प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको धार्मिक विश्वास छ ।
बडिमालिका २२–२४ राज्यका बेला गोर्खा राज्य र जुम्ला राज्यको सीमाबिन्दुका रूपमा समेत लिइन्थ्यो । चन्दनाथ नगरपालिका–९ जुम्लाका विश्वप्रसाद उपाध्यायका अनुसार विक्रम संवत् १७७१ देखि जुम्लाका राजा सुर्तीशाही महाराज आफैं श्रावण शुक्ल पञ्चमीका दिन चन्दननाथको टाँको र पेटारो लिएर बडिमालिका माताको पूजा गर्न जाने परम्परा सुरु भएको थियो ।
‘त्यसको दोस्रो वर्ष गोर्खा राज्यका तर्फबाट डोटीको शैलेश्वरीको टाँगो सहित अमरसिंह थापाले डोटी गौडाबाट बडिमालिकामा सरकारी पूजा टोली पठाउने परम्पराको सुरुवात गरिएको थियो,’ बडिमालिकाका पुजारी नेत्र उपाध्याय भन्छन् ।
उनका अनुसार भारतको पूर्णगिरी र बडिमालिकामा एउटै माताको पूजा हुने धार्मिक विश्वास छ । गर्मी मौसममा बडिमालिकामा र हिउँदमा पूर्णगिरीमा पूजा लाग्ने गरेको उनले बताए ।
जुम्लाको चन्दनाथबाट हरेक वर्ष शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म ११ दिन पैदल यात्रापछि सरकारी पूजा टोली बडिमालिका पुग्छ । डोटीको शैलेश्वरीबाट सरकारी पूजा टोली औंसीका दिन हिँडेर १५ दिनमा बडिमालिका पुग्ने गरेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकायाले बताए ।
औपचारिक पूजाआजा गर्ने परम्पराअनुसार अछाम, डोटी, जुम्ला र कालिकोटबाट समेत सरकारी पूजा टोलीसहित तीर्थयात्री बडिमालिका पुग्छन् । डोटीको सरकारी पूजा टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलनसमेत अहिले कायम छ ।
बाजुराको भूमिबाट बडिमालिका पुग्न तोकिएका स्थानमा बसेर तीन दिन यात्रा गर्नुपर्ने परम्परा छ । यस वर्ष विगतका वर्षभन्दा भक्तजनको उपस्थिति बढी देखिएको पुजारी भानुभक्त जोशीले बताए ।
गत वर्ष पूजा अवधिमा दर्शनार्थीले तीन दिनसम्म नियमित पूजा गर्दा पनि १७ घण्टाभन्दा बढी लाइनमा बस्नुपरेको थियो । त्यसलाई ध्यानमा राखेर यस वर्ष भदौ १ गते पञ्चमीदेखि चौबीसै घण्टा पूजा गर्ने तयारी भइरहेको छ ।
फूल, पाटन र जडीबुटी
धार्मिक आस्थाबाहेक बडिमालिकाको अर्को ठूलो आकर्षण यसको प्रकृति हो । बैशाखको पहिलो सातादेखि मंसिरको अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटक बडिमालिका घुम्न पुग्छन् । जेठदेखि भदौसम्म पाटनहरू बुकी फूलले ढाकिन्छन् । हिमाली क्षेत्रमा पाइने जडीबुटी र घाँसले बडिमालिकाका पाटनहरू रंगीबिरंगी देखिन्छन् ।
बडिमालिका नगरपालिका–८ मार्तडीका तुल्या रावलका अनुसार यही समयमा बडिमालिका घुम्न आउनेको संख्या ठूलो छ । बडिमालिका क्षेत्रमा २२ पाटन, त्रिवेणी र खेतीवेती मुख्य आकर्षण हुन् । करिब १४ हजार फिट उचाइसम्मको भूभागमा रहेका समथर हरिया फाँट र त्यसमाथि फुलेका सयौं प्रजातिका फूलले बडिमालिकालाई प्रकृतिको अनुपम उपहार बनाएका छन् ।
‘धार्मिक आस्था र प्राकृतिक सौन्दर्य हेर्न हरेक वर्ष हजारौं तीर्थयात्री बडिमालिका पुग्छन्, विकासका नाममा राज्यले करोडौं खर्चिसकेको छ । तर मन्दिरदेखि पाटनसम्म गतिलो शौचालय छैन, रात काट्न टेन्टको भर छ, बनाइएको पदमार्ग डोजरले भत्काइएको छ । एकीकृत योजना नहुँदा बडिमालिकाको विकास कागजमै सीमित बनेको छ ।’
जिल्ला वन कार्यालयका सूचना अधिकारी सुबास ऐडीका अनुसार बडिमालिका क्षेत्रमा ६ सयभन्दा बढी प्रजातिका जडीबुटी पाइन्छन् । घोरल, झारल, तियाल, बँदेल, भालु र चितुवाजस्ता वन्यजन्तुको समेत ठूलो जनसंख्या रहेको उनले बताए ।
त्रिवेणी नगरपालिका–५ का वडाध्यक्ष पारस बुढाका अनुसार बडिमालिकामा पुस्तौंदेखि भेडा, घोडा र भैंसीपालन हुँदै आएको छ । ‘फूल चढाउने, सोता पाटन, घोडा पाटन, भितिछिर्ना बुढीमाईको थान, त्रिवेणी लौडी विनायकमा बथानका बथान भेडा देखिन्छन्,’ उनले भने, ‘यस वर्ष मात्रै ८० हजारभन्दा बढी भेडाका बथान त्रिवेणी क्षेत्रमा भेटिन्छन् ।’
करोडौं खर्च, उपलब्धिमा प्रश्न
बडिमालिकाको विकासमा राज्यका विभिन्न निकायले गरेको खर्चको विवरण हेर्दा पैसाको अभाव देखिँदैन । बरु खर्चबीचको समन्वय र एकीकृत योजनाको अभाव स्पष्ट झल्किन्छ ।
वितेका एक दशकमा पर्यटन विकास, प्रवद्र्धन तथा आधारभूत सुविधा निर्माणका नाममा करोडभन्दा बढी खर्च भइसकेको छ । तर, बडिमालिका जाने यात्रुका लागि गतिलो शौचालय, विश्रामस्थल र व्यवस्थित पदमार्ग छैन ।
मन्दिर, भण्डारघर र पुजारीको भान्साघर बनाउन पर्यटन मन्त्रालय, पुरातत्व विभाग, प्रदेश तथा स्थानीय तहबाट २ करोड ३९ लाख रुपैयाँ खर्च भइसकेको छ । तर शौचालय र विश्रामघर निर्माणमा जम्मा ५ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
पुरातत्व विभागले आव २०७३–०७४ मा बडिमालिका मूल मन्दिर, त्रिवेणी नगरपालिकाको पैमा गाउँस्थित भण्डारघर र भण्डारघर जाने पैदल बाटो मर्मत तथा संरक्षणका लागि १ करोड ३ लाख विनियोजन गरेको थियो । भौगोलिक विकटताको कारण देखाउँदै त्यसमध्ये ६१ लाख १७ हजारबाट भण्डारघरमा तामाको छाना राख्ने र ’roundको बाटो मर्मत गर्ने कार्य गरिएको थियो । त्यही वर्ष पर्यटन मन्त्रालयले बडिमालिका मूल मन्दिर संरक्षण शीर्षकमा २० लाख रुपैयाँ खर्च गरेको तथ्यांक छ ।
पुरातत्व विभागले ६ वर्षमा बडिमालिका क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धनमा ९८ लाख ६७ हजार खर्च गरेको छ । पुरातत्व विभाग र पर्यटन मन्त्रालयले १० वर्षमा मन्दिरमा मात्रै २ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
बडिमालिका मूल मन्दिर र त्रिवेणी नगरपालिकाको पैमा गाउँस्थित भण्डारघर क्षेत्रमा मात्रै पुरातत्व विभाग र पर्यटन मन्त्रालयले १ करोड ९ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन् । तात्कालीन राजा वीरेन्द्रको पहलमा २०३६ सालमा भएको सामान्य जीर्णोद्धारपछि मन्दिरको पुननिर्माण नेपाली सेनाले २८ चैत, २०८१ बाट सुरु गरेर २३ असार २०८२ मा सम्पन्न गरेको छ । सेनाका अनुसार यसका लागि करिब २ करोड रुपैयाँ खर्च भएको छ ।
बडिमालिका नगरपालिकाका मेयर अमर खड्का पनि खर्चअनुसार विकास नदेखिएको स्वीकार गर्छन् । ‘बडिमालिका मन्दिरमा रकम धेरै खर्चेको कागजमा देखिए पनि हुनुपर्ने जति विकास देखिएको छैन,’ खड्काले भने, ‘एकीकृत योजना नभएका कारण कसले कहाँ कति खर्चेको छ भन्ने’bout हामी कसैलाई थाहा हुँदैन । अब यसको एकीकृत योजना बनाउनुपर्ने बेला भएको छ ।’

पदमार्गमा डोजर
काठमाडौंको बालाजुस्थित ‘जलुकेनी निर्माण सेवा’ले दुई वर्षमा मार्तडीदेखि बडिमालिका जाने १२ किलोमिटर पदमार्ग निर्माण ग¥यो । यसका लागि पर्यटन विभागले ३ करोड ६२ लाख रुपैयाँ खर्च गरेर बनाएको यो पदमार्गमा बडिमालिका नगरपालिकाले सडक बनाउने नाममा डोजर चलाउँदा तहसनहस भयो ।
मार्तडीदेखि बडिमालिका हुँदै फूलचढाउनेसम्म सडक बनाउन तथा मर्मत गर्न नगरपालिकाले ४८ लाख ६२ हजार रुपैयाँ खर्च ग¥यो । तर न पदमार्ग काम लाग्यो, न सडक पूर्ण भयो ।
बडिमालिका जाने विभिन्न रुटमा पदमार्ग निर्माणमा मात्रै साढे ६ करोड रुपैयाँ खर्च भएको देखिन्छ । कुल खर्चमध्ये आर्थिक वर्ष २०७६–०७७, २०७७–०७८ र २०७८–०७९ मा मात्र ७४.६९ प्रतिशत अर्थात ४ करोड ९१ लाख ३९ हजार रुपैयाँ पर्यटन विभागले खर्च गरेको देखिन्छ । आव २०७६–०७७ र २०७७–०७८ मा १२ किलोमिटर पदमार्ग निर्माणका नाममा विभागले ३ करोड ६२ लाख खर्च गरेको थियो ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बहुवर्षीय पूर्वाधार विकास योजनाअन्तर्गत १ करोड ५० लाख खर्चेर आरसीसी भवन बनाएको छ । स्थानीयका अनुसार उक्त भवन अहिले चुहिने अवस्थामा छ ।
टेन्टको भरमा रात, शौचालयको हाहाकार
बडिमालिका पुग्ने तीर्थयात्रीले भोग्ने सबैभन्दा गम्भीर समस्या शौचालयको हो । चार दिनसम्म पैदल यात्रा गर्दा यात्रुले आफैं टेन्टको व्यवस्था गर्नुपर्छ । जनैपूर्णिमाका बेला मन्दिर ’round टेन्ट राख्ने ठाउँसमेत हुँदैन । भिरालो ठाउँमा सात–आठ हजार टेन्ट अड्याएर रात काट्नुपर्ने अवस्था आउँछ ।
टेन्ट राख्ने ठाउँ पाउनेले जसो–तसो रात काट्छन् । टेन्ट नहुनेले भने उभिएरै रात बिताउनुपर्ने बाध्यता हुन्छ । तर रात काट्नुको समस्याभन्दा शौचालयको समस्या झन् गम्भीर छ ।
मन्दिर क्षेत्रमा ‘ढुक्कले’ दिसापिसाब गर्ने ठाउँ छैन । बिहान उज्यालो नहुँदै मौका खोज्नुपर्ने अवस्था छ । भीडका कारण मन्दिर आसपास, त्रिवेणी पाटन, भितिछिर्नालगायत ठाउँमा मानव मल देखिन्छ ।
बर्दियाका पुरन चौधरीले अनुभव सुनाउँदै भने, ‘उज्यालो नहुँदै हेर्दा हेर्दै गरे ग¥यो, नत्र जता पनि मान्छे नै मान्छे । पुगेको दिनदेखि पूजा नसकिएर तल नझरुन्जेल २४ घण्टा पेट च्यापेरै सहनुपर्ने बाध्यता छ ।’ त्यही अवस्थाले स्थानीय उखानलाई जन्म दिएको हो, ‘जानु मालिका, हग्नु कहाँ ?’
त्रिवेणी नगरपालिका–४ का वडाध्यक्ष गणेश साउँद राज्यले नेपाललाई खुला दिसामुक्त घोषणा गरेको प्रसंग सम्झदै भन्छन्, ‘सरकारले नेपाललाई खुला दिसामुक्त घोषणा गरेको भनेको छ । पूजाको समयमा यहाँ खुला दिसा गर्नुको अर्को विकल्प छैन ।’
हरेक वर्ष जनैपूर्णिमाको समयमा अस्थायी शौचालय निर्माण गर्ने गरिन्छ । स्थानीयले प्लास्टिक बेरेर बनाउने ती शौचालय पर्याप्त छैनन् । ‘त्यो हात्ती देखाउने दाँत मात्र भएको छ,’ साउँदले भने, ‘यहाँको शौचालय’bout कसैले ध्यान दिएको देखिँदैन ।’
पूजामा मात्रै सम्झिन्छ राज्य
हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशीमा लाग्ने पूजाको तयारीका लागि जिल्ला समन्वय समिति बाजुराले सरोकारवालाको बैठक बोलाउँछ ।
यस वर्ष पनि बैठक बसेर सम्बन्धित निकायलाई आ–आफ्नो जिम्मेवारी तोकिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दीपेन्द्र पाण्डेले बताए ।
उनका अनुसार बडिमालिका र त्रिवेणी नगरपालिकाले यात्रुलाई हिँड्न सहज हुने गरी ठाउँठाउँमा लोकेसन प्लेट राख्ने, कृपाल र नेपाली सेनाले प्राथमिक उपचारको व्यवस्था गर्ने तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट र नेपाल रेडक्रसले लाइन व्यवस्थापन र अन्य बन्दोबस्तीमा सहयोग गर्ने निर्णय भएको छ ।
हरेक वर्ष यस्तै तयारी हुन्छ । पूजा सकिन्छ । तीर्थयात्री फर्किन्छन् । बैठक पनि सकिन्छ । तर अर्को वर्ष फेरि उही समस्या दोहोरिन्छ ।
बडिमालिका समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइमा छ । मार्तडीबाट ४१.५ किलोमिटर बाटो पार गरेपछि मन्दिर पुगिन्छ । सरकारले बडिमालिकालाई घुम्नैपर्ने १०० पर्यटकीय स्थलको सूचीमा समेत राखेको छ ।
धार्मिक पर्यटनका लागि यसको सम्भावना ठूलो छ । प्रकृति, जैविक विविधता, जडीबुटी, पाटन, पदयात्रा र स्थानीय जीवनशैलीलाई जोडेर बडिमालिकालाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने आधार प्रशस्त छन् ।
बडिमालिकामा प्रश्न बजेट कति छुट्याउने भन्ने होइन, वर्षौंदेखि खर्च भएको करोडौं रुपैयाँको उपलब्धि कहाँ छ? भन्नेमा छ । तर प्रश्न अझै अनुत्तरित छ ।
सम्बन्धित समाचार
ब्रोड पिकमा भेटियो निर्मल पुर्जाको शव
हिजो के भएको हो सुस्तामा ?
चिरञ्जीवीको चीरकालसम्म सम्झना रहने काम
न्याय खोज्दै तेतरी खातुन
तर्साएर तर्सिन्न, दबाएर दबिन्न : सभापति थापा
बदलिँदै इलामको ग्रामीण दैनिकी
कांग्रेसको वैधानिक सभापति देउवा नै हुन् : डा. कोइराला
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी






