जसलाई छाउगोठको बासले विरानो बनायो

बझाङ । बिहानी पहिलो घाम गाउँमाथिका डाँडामा फैलिन थालिसक्यो । घरआँगनमा बालबालिकाको चहलपहल सुरु भइसकेको छ । गोठतिर गाईबस्तु खोल्ने हतारो छ । कतै चुलो बल्दै छ, कतै दिनभरिका कामको तयारी । गाउँ सामान्य दिनझैं ब्यूँझिँदै छ ।

गाउँकिनारको एउटा जीर्ण छाप्रोभित्र भने फरक दृश्य छ । त्यहाँ न घरको न्यानोपन छ, न त परिवारको साथ । न सुरक्षित बिछ्यौना, न त बलियो ढोकाकै व्यवस्था । वर्षामा छानो चुहिन्छ, जाडोमा चिसो हावा शरीर छेड्दै पस्छ । गर्मीमा सर्प र बिच्छीको डर हुन्छ । रात पर्दा जंगली जनावरको त्रास त छँदै छ, मानिसकै डरले पनि मन काँप्छ । त्यो छाप्रो सामान्य गोठ होइन, महिनावारी भएकी महिलाको अस्थायी निर्वासन अर्थात् छाउगोठ हो ।

यो कुनै दशकौंअघिको कथा पनि होइन । सुदूरपश्चिम बझाङमा आज पनि धेरै महिलाको महिनावारी यही छाप्रोबाट सुरु हुन्छ र यस्तै असुरक्षाबीच सकिन्छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको छ । समानता अधिकार सुरक्षित गरिदिएको छ । महिलामाथि हुने हिंसा र विभेदविरुद्ध कानुन बनेका छन् । छाउपडी अन्त्य गर्ने अभियान चलेका छन् । छाउगोठ भत्काइएका छन् । कतिपय गाउँ तथा स्थानीय तहलाई छाउगोठमुक्त घोषणा गरिएको छ ।

सरकारी तथा गैरसरकारी संस्थाले वर्षौंदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । बझाङका धेरै गाउँमा कागजमै सीमित परिवर्तन र महिलाले भोगिरहेको जीवनबीच भने अझ ठूलो खाडल छ । गोठ भत्किएका छन्, गोठ बनाउने सोच भने भत्किएको छैन ।

महिनावारीजस्तो प्राकृतिक जैविक प्रक्रियालाई अझै पनि ‘अशुद्धता’सँग जोडिरहेको छ । महिनावारी सुरु हुनेबित्तिकै एउटी महिला घरकी सदस्यबाट मानौं बाहिरिन्छिन् । उनको सुत्ने ठाउँ छुट्टिन्छ, खाने भाँडा छुट्टिन्छ, पानीको धारा छुट्टिन्छ । कतिपय ठाउँमा हिँड्ने बाटोसम्म फरक हुन्छ ।

– संविधानभन्दा बलियो अन्धविश्वास !

– कानुनले हारेर ‘कुसंस्कार’ले जित्दै छ ?

घरमा शौचालय हुन्छ, उनी त्यहाँ जान पाउँदिनन् । धारो हुन्छ, पानी छुन पाउँदिनन् । भान्सा हुन्छ, पस्न पाउँदिनन् । घरमा दूध, दही, घ्यू र फलफूल हुन्छन्, उनले खान पाउँदिनन् । आफ्नै घरमा उनी केही दिनका लागि पराइ बन्छिन् । यसपछाडि ‘देउता रिसाउँछन्’ भन्ने पुरानो विश्वास दोहोरिन्छन् ।

‘देउता रिसाउने’ डरमा कतिका काख रित्तिए, कतिले असुरक्षित रात बिताए र कतिले जीवनभर नमेटिने पीडा बोके, त्यसको हिसाब कसैले राखेको छैन । तलकोट गाउँपालिकाको लोकन्ड गाउँमा । विश्वासले केही आमाको काख सधैंका लागि रित्याएको छ । करिब डेढ दशकअघि जलादेवी रोकायाले सात दिनको नवजात शिशुलाई छाउगोठमा सुताएर नुहाउन गएकी थिइन् । केही बेरपछि फर्किंदा बच्चा गोठमा थिएन । गाउँले जम्मा भए । जंगल छानियो । खोल्साखोल्सी खोजियो । शिशुको शरीर भेटिएन । खोल्सातिर हड्डीको सानो टुक्राबाहेक केही फेला परेन । उनको सात दिनको बच्चा जंगली जनावरको सिकार भइसकेको थियो ।

त्यो पीडा त्यहीँ रोकिएन । २०६६ सालमा त्यही क्षेत्रकी पिउली रोकायाले पनि १२ दिनकी छोरी गुमाइन् । गहुँ काट्न गएकी उनी फर्किंदा छाउगोठ खाली थियो । गाउँलेले दिनभर खोजे, छोरीको शवसमेत भेटिएन । ‘बाघले खायो कि भालुले लग्यो, आजसम्म थाहा भएन,’ उनी आज पनि त्यो दिन सम्झँदा भक्कानिन्छिन् ।

सोही गाउँकी जमुना रोकायाको उस्तै पीडादायी कथा छ । आठ दिनको छोरालाई छाउगोठमा सुताएर घाँस काट्न गएकी उनी फर्किंदा बच्चा गायब थियो । गाउँलेको सहयोगमा खोजी गर्दा नजिकैको ओढारमा स्यालले आधा खाइसकेको अवस्थामा शिशुको शव भेटियो । वर्षौं बितिसकेका छन्, त्यो दृश्य जमुनाको स्मृतिबाट अझै हटेको छैन । ‘यस्तो पीडा कुनै आमाले भोग्न नपरोस्,’ यो जमुनाको मात्र प्रार्थना होइन, छाउगोठमा रात बिताएका धेरै आमाको मौन प्रार्थनासमेत हो ।

यी घटना दुर्घटना भनेरमात्रै टार्न मिल्दैन । दुर्घटना जोखिम त्यहाँ पैदा भएको थियो, जहाँ समाजले एउटी आमालाई उनको नवजात शिशुसहित सुरक्षित घरभित्र बस्न दिएन । छाउगोठ समस्या यहीँबाट अझ जटिल बन्छ । महिलालाई घरबाट अलग राख्न उनलाई सुरक्षित वातावरणबाट अलग गर्नु हो । उनी जीवनकै सबैभन्दा संवेदनशील अवस्थामा एक्लो, असुरक्षित र जोखिमपूर्ण ठाउँमा धकेलिन्छिन् ।

रात परेपछि त्यो जोखिम झन् बढ्छ । सर्प पस्न सक्छ, जंगली जनावर आउन सक्छ, चिसोले बिरामी बनाउन सक्छ । कतिपय महिलाका लागि यीभन्दा ठूलो डर मानिसकै हुन्छ । बझाङमा छाउगोठमै बसेका बेला यौन दुव्र्यवहार र बलात्कारका घटना सार्वजनिक भएका छन् । सर्पको टोकाइबाट ज्यान गुमाएका घटना पनि छन् । धेरै घटना गाउँसीमाभित्रै हराउँछन् । पीडा हुन्छ, उजुरी हुँदैन । अन्याय हुन्छ, न्याय खोजिँदैन । पीडा दिने व्यक्ति अपरिचित नहुन सक्छन् । आफ्नै परिवारको सदस्य हुन सक्छन् । आफ्नै श्रीमान्, बाबुआमा, सासूससुरा वा समुदायको व्यक्ति हुन सक्छन् । धेरै महिला मौन नै बस्छन् । ‘जंगली जनावरभन्दा ठूलो डर त मानिसकै हुन्छ,’ उनीहरू भन्छन् ।

डर हुँदाहुँदै पनि उनीहरू गोठमा जान्छन् । व्यक्तिगत इच्छाभन्दा पुस्तौंदेखि मनमा रोपिएको सामाजिक डर बलियो छ । घरभित्र बसे देउता रिसाउने, परिवारमा अनिष्ट हुने, पशु बिरामी पर्ने, खेती बिग्रने वा बालबालिकालाई केही हुनेजस्ता कथा उनीहरूले सानैदेखि सुन्दै आएका छन् । एउटा पुस्ताले अर्को पुस्तालाई डर हस्तान्तरण गर्दै आएको छ । त्यसैले छाउगोठ माटो, ढुंगा र काठले बनेको संरचनासँगै यो डरले बनेको संरचना हो ।

यही कारण बझाङमा पटकपटक गोठ भत्काइए पनि छाउपडी भत्किन सकेको छैन । वर्षौंदेखि छाउपडी अन्त्यका नाममा अभियान चले । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम भए । विद्यालयदेखि समुदायसम्म छलफल भए । महिला समूह सक्रिय भए । धामी–झाँक्रीसमेत अभियानमा जोडिए । कतिपय गाउँलाई ‘छाउगोठमुक्त’ घोषणा गरियो ।

‘छाउपडीको जरा कति गहिरो छ ?’ भन्ने बुझ्न सदरमुकामभन्दा टाढा जानैपर्छ भन्ने पनि छैन । बझाङ सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकाका सेलाखेत, धामिलेकलगायत बस्तीमा पनि महिनावारी हुँदा महिलालाई छुट्टै राख्ने चलन रहेको स्थानीय बताउँछन् । जिल्लाको नीति र योजना बन्ने ‘केन्द्रमै यस्तो अवस्था छ ?’ भने दुर्गम गाउँको यथार्थ कति कठोर होला ? अनुमान लगाउन कठिन छैन ।

यसले छाउपडी कुनै एउटा दुर्गम बस्तीको समस्या नभई सामाजिक सोचमा गाडिएको समस्या भएको देखाउँछ । त्यो सोच धर्मसँग पनि जोडिएको छ । गाउँमा कोही बिरामी प¥यो, पशु म¥यो, खेती बिग्रियो वा घरमा दुर्घटना भयो भने कारण खोज्दा छाउपडीमाथि औँला तेस्र्याउने गरिन्छ । ‘छाउ न’boutकाले यस्तो भयो,’ यति भनेपछि प्रमाण खोजिँदैन । एउटा घरको घटना अर्को घरको कथा बन्छ, कथा विश्वास बन्छ, विश्वास डर बन्छ, डर संस्कार बन्छ र संस्कार अर्को पुस्तामा हस्तान्तरण हुन्छ ।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पुस्तौंदेखि गाडिएको अन्धविश्वास हटाउन कठिन रहेको स्वीकार्छन् । स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि मानसिकता परिवर्तन हुन समय लाग्ने उनी बताउँछन् ।

महिला अधिकारकर्मीका अनुसार धेरै कार्यक्रम समुदाय परिवर्तनभन्दा बजेट खर्च गर्ने प्रक्रियामै सीमित भएका छन् । ‘कार्यक्रम भइरहँदा प्रभाव देखिन्छ, कार्यक्रम सकिएपछि पुरानै अभ्यास फर्किन्छ,’ उनीहरू भन्छन्, ‘प्रतिवेदनमा उपलब्धि देखिन्छ, गाउँमा परिवर्तन देखिँदैन ।’

छाउपडी अन्त्य गर्ने अभियान पटकपटक सुरु भएर पनि अधुरै छ । कानुनले समेत छाउपडीलाई ‘अपराध’ मानेको छ । संविधानले सम्मानपूर्वक बाँच्ने र समान अधिकार दिएको छ । महिलामाथि हुने हिंसा र विभेदबाट संरक्षण अधिकार पनि छ ।

मुलुकी अपराध संहिता, २०७४ ले पनि छाउपडीका नाममा महिलालाई अमानवीय व्यवहार गर्न वा छाउगोठमा बस्न बाध्य पार्नेलाई दण्डनीय बनाएको छ । कानुन किताबमा लेखिएरमात्र समाज बद्लिँदैन । कानुन उल्लंघन गर्ने व्यक्ति प्रायः अपरिचित हुँदैन, आफ्नै परिवारका हुन्छन् । उजुरी गरे परिवार टुट्ने डर, समुदायले बहिष्कार गर्ने भय, सम्बन्ध बिग्रने डर हुन्छ, देउता रिसाउने डर त पहिल्यै हुन्छ । त्यसैले कानुन हुँदाहुँदै पनि पीडित मौन बस्छन् । यही मौनता छाउपडीको सबैभन्दा ठूलो खाडल बनेको छ ।

‘कानुन कमजोर छ’ भन्ने होइन । समस्या कानुन र समाजबीचको दूरीमा छ । कानुनले अपराध देख्छ, समाजले संस्कार । कानुनले विभेद भन्छ, समाज परम्परा । कानुनले अधिकार भन्छ, समाज डर देखाउँछ । त्यसैले छाउपडी अन्त्यका लागि कानुन कडाइसँगै समाजको सोच बदल्नु आवश्यक छ ।

‘परिवर्तन कहाँबाट सुरु गर्ने ?’ भन्ने प्रश्नमा बझाङले आफ्नै अनुभवबाट उत्तर खोज्नुपर्ने देखिन्छ । छाउपडीलाई धार्मिक मान्यतासँग जोडेर बलियो बनाइएको छ भने धार्मिक अगुवाले नै त्यसको गलत व्याख्याविरुद्ध बोल्नुपर्छ । धामी र पुजारीले ‘महिनावारी अशुद्धता होइन’ भन्नुपर्छ । शिक्षकले विज्ञानको भाषा बोल्नुपर्छ । अभिभावकले छोरीलाई डर होइन, आत्मविश्वास दिनुपर्छ । जनप्रतिनिधिले घोषणामात्र होइन, व्यवहार परिवर्तनको निरन्तर अनुगमन गर्नुपर्छ । महिला र किशोरीलाई आफ्नो शरीर’bout निर्णय गर्ने अधिकार र आत्मविश्वास दिनुपर्छ ।

छाउपडी अन्त्य एउटा कार्यक्रमले मात्रै हुँदैन । यो निरन्तर संवादबाट मात्रै उन्मुलन हुन्छ । गोठ भत्काउने डोजरले संरचना हटाउन सक्छ, मानिसका मनभित्रको डर हटाउन सक्दैन । यसका लागि शिक्षा, संवाद, वैज्ञानिक चेतना आवश्यक पर्छ । धार्मिक तथा सामाजिक नेतृत्वको स्पष्ट आवाजसँगै समुदायभित्रैबाट परिवर्तनको आवाज बुलन्द हुनुपर्छ ।

बझाङमा वर्षौंका अभियानले ‘गा ेठ भत्काउनु सजिला े रहेछ, मानिसको मनभित्रको गोठ भत्काउनु कठिन रहेछ’ प्रस्ट पारेको छ । आज पनि बझाङका कतिपय गाउँमा साँझ पर्नासाथ महिनावारी भएकी महिला घरतिर होइन, गोठतिर लाग्छन् । उनीहरूका हातमा अपराधको कुनै प्रमाण हुँदैन, तर भोगिरहेका छन् ।

‘कति वटा छाउगोठ बाँकी छन् ?’ भन्नेमात्र होइन, ‘कति वटा मन अझै छाउगोठ बनेर उभिएका छन् ?’ प्रश्न जटिल बन्दै गएको छ । ‘अझै कति पुस्ताले प्राकृतिक जैविक प्रक्रियाको मूल्य सामाजिक बहिष्कारका रूपमा चुकाउनुपर्ने हो ? थाहा छैन,’ एक अगुवा महिला भन्छिन् ।

जबसम्म महिनावारीलाई प्राकृतिक जैविक प्रक्रिया नभई ‘अशुद्धता’ मान्ने सोच जीवित रहन्छ, तबसम्म गोठका भित्ता ढले पनि महिलामाथिको विभेद समाप्त हुने देखिँदैन । छाउपडी अन्त्य गर्ने वास्तविक अभियान गोठ भत्काउने ठाउँबाट भन्दा पनि मनभित्र गाडिएको डर भत्काउने ठाउँबाट सुरु हुनुपर्ने अधिकारकर्मी बताउँछन् ।

बझाङका धेरै महिलाका लागि महिनावारी शरीरको प्राकृतिक चक्रमात्र होइन, प्रत्येक महिना दोहोरिने ‘मौन निर्वासन’जस्तै बनेको छ । यसको अन्त्य छाउगोठ भत्किएरमात्र हुँदैन, मनभित्रको संकुचित गोठ भत्किनुपर्ने अधिकारकर्मीको ठहर छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा जिल्ला प्रशासन कार्यालयले विभिन्न पालिकामा छाउगोठ भत्काउने अभियान नै सञ्चालन ग¥यो । जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, थलारा, मष्टा र दुर्गाथलीलगायत स्थानीय तहमा दर्जनौं छाउगोठ भत्काइए । जनचेतनामूलक कार्यक्रममा युवापुस्ताको सक्रिय सहभागितासमेत देखियो । प्रशासनिक अभियानले मात्रै सामाजिक रूपान्तरण भने पूरा हुन सकिरहेको छैन ।

आज पनि बझाङका धेरै गाउँमा महिनावारी भएकी महिलाले आफूलाई ‘अशुद्ध’ प्रमाणित गर्न गोठमा बस्नुपर्छ । उनीहरूलाई समाजले होइन, आफ्नै परिवारले अलग्गै राख्छ । कानुनले बराबरी सम्झे पनि संस्कारले विभेद गरिरहेकै छ ।

घोषणा भयो, फेरि उस्तै
बझाङमा घोषणा र व्यवहारबीचको दूरी अर्को उदाहरणमा पनि देखिन्छ । २९ असार २०७६ मा बुंगल नगरपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो छाउगोठमुक्त नगरपालिका घोषणा भयो । त्यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरियो । राजनीतिक दल, स्थानीय सरकार, गैरसरकारी संस्था, महिला समूह, विद्यालय, युवा क्लबदेखि धामी–पुजारीसम्मलाई अभियानमा जोडियो । सयौं छाउगोठ भत्काइए । केही वर्षपछि ग्रामीण बस्तीमा फेरि छाउगोठ देखिन थाले । घोषणा भयो, प्रतिवेदन बन्यो, उपलब्धि देखाइयो, महिलाको जीवन उस्तै रह्यो । यो अवस्था बुंगलमै सीमित छैन । बझाङका अन्य स्थानीय तहमा पनि छाउगोठमुक्त घोषणा भएका गाउँमा महिनावारी भएकीलाई छुट्टै राख्ने, पानीका धारा छुन नदिने, घरको शौचालय प्रयोग गर्न नदिने ,भान्सामा पस्न रोक लगाउने र पो षिलो खाना खान नदिने अभ्यास अझै कायम छन् ।

भत्काउनुपर्ने अन्धविश्वास, भत्काइयो छाउगोठ
खप्तडछान्ना गाउँपालिका–३, साविक माझीगाउँ, यसको एउटा उदाहरण हो । १६ मंसिर २०७१ मा गाउँलाई भव्य समारोहबीच छाउगोठमुक्त घोषणा गरियो । जिल्ला तथा स्थानीय तहका प्रतिनिधि पुगे । महिलामाथि हुने विभेद अन्त्य गर्ने प्रतिबद्धता जनाइयो । स्थानीयले अबदेखि छाउपडी नमान्ने सार्वजनिक शपथ खाए । घरघरमा रहेका छाउगोठ भत्काइए । त्यो दिन गाउँमा उत्सव नै थियो । उत्सव लामो समय टिकेन ।

एक वर्ष नबित्दै फेरि गोठ ठडिन थाले । कसैले देउता रिसाएको कथा सुनायो । कसैले परिवारमा अनिष्ट भएको घटना सुनायो । कसैले पशु बिरामी परेको कुरालाई छाउ न’boutको परिणाम ठह¥यायो । अनि समाज फेरि पुरानै निष्कर्षमा फर्कियो, ‘गोठ नभए देउताले सहँदैनन् ।’ गोठ बनाउन नसक्ने महिला झरीमा पालमुनि बसे, हिमपातमा काँपे, चिसा रात खुला आकाशमुनि बिताए । परिवारले भने फेरि गोठ बनाए । अभियानले भत्काएको गोठ समाजले आफ्नै हातले फेरि उठायो ।

‘भत्काउनुपर्ने गोठ थियो कि सोच ?’ गोठ भत्काउनु सजिलो थियो, मानिसको मनभित्र बसेको डर भत्काउनु कठिन । गाउँका धेरै महिला स्वीकार्छन्, उनीहरू गोठमा बस्न चाहँदैनन् । परिवारका ज्येष्ठ सदस्यको दबाब, समाजको डर अनि देउताको त्रासले उनीहरूलाई आफ्नै इच्छाविपरीत गोठसम्म पु¥याउँछ । छाउगोठमुक्त अभियानको नेतृत्व गरेका कतिपय महिला स्वयं महिनावारी हुँदा गोठमै बस्न बाध्य छन्, विडम्बना यही छ । उनीहरूको भनाइ छोटो छ, यसमा पूरै समाजको असहायता सुनिन्छ, ‘हामी परिवर्तन चाहन्छौं, गाउँ परिवर्तन भएको छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता