काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ ।
जितका लागि पछ्याएको १९८ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । नेपालको सुरुआत निराशाजनक रह्यो । मयन यादव एक रन नबनाइकन आउट भए । त्यसपछि पनि नेपालले नियमित विकेट गुमाउँदै गयो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ४६ बल खेल्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै लोकेश बमले २३ बलमा ३८ रन बनाए भने राशिद खानले ११, नारायण जोशीले १२ तथा बिपिन खत्रीले १० रन बनाए ।
बलिङतर्फ हैदराबादका लागि स्कट कुगेलेइन र उसामा मिरले तीन तीन विकेट लिए भने अलि शेखले दुई विकेट हात पारे । त्यसअघि डर्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोे हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो ।
हैदराबादका लागि शेहान जयसूर्याले ४४ बलमा चार चौका र पाँच छक्कासहित ६७ रनको योगदान दिए । यस्तै हम्माद आजमले ११ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए । मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका नारायण जोशीले दुई तथा राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले एक एक विकेट लिए । यससँगै पाँच खेल खेलको नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ ।
बुधबार भएको खेलमा नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई ४ विकेटले पराजित गरेको थियो भने सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो ।
सम्बन्धित समाचार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने
टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?
चिटिक्क बन्योः चिदीचौर खेल मैदान
व्यवसायिक फुटबलबाट सन्यास लिँदै रोनाल्डो !
आयुष कुँवरले आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै बनाए नयाँ इतिहास
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
पिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा





