त्यो बिहान, बाढीभन्दा केही मिनेट अगाडि

२०८३ भदौ १० गते । सधैँझैँ बिहान ५ बजे उठेँ। नानीको स्कुलमा अतिरिक्त कक्षा चलिरहेको थियो। नानीले आफ्नो काम सकेर तयार भई बिहान ६ः३० बजे स्कुल पुग्नुपर्ने भएकाले उनी ६ बजे नै घरबाट निस्किइन्।

मलाई पनि नानीका लागि स्कुलमै खाना पुर्‍याउनुपर्ने थियो। त्यसैले खाना बनाउन लागेँ। खाना बनाएर नानीका लागि टिफिन बक्समा खाना राखेँ। आफूले पनि खाना खाएँ र तयार भएँ।

त्यो दिन म सधैँभन्दा ५–७ मिनेट छिटो तयार भएकी थिएँ। ‘आज अलि छिटो जान्छु’ भनेर घरबाट निस्किएँ। घरबाट केही अगाडि सात्तलेको ओरालोमा पुगेकी मात्रै थिएँ, फोनको घण्टी बज्यो। स्कुटर साइडमा रोकेर फोन हेर्दा बेत्रावतीबाट एकजना दाइको फोन रहेछ। केही काम पर्‍यो होला भनेर फोन उठाएँ।

उहाँले बाढी आउन लागेको सूचना दिनुभयो। नदी किनारमा कामको सिलसिलामा बसेका मानिसहरूलाई बाढी आउँदैछ, सुरक्षित ठाउँतिर लागेर बस्न भनिदिन आग्रह गर्नुभयो।

मैले नदी किनारमा रहेका मानिसका नजिकका आफन्त तथा चिनेजानेकाहरूलाई फोन गरेर जानकारी गराएँ। त्यसपछि स्कुल जान सोलेतिर ओर्लिएँ।

सोले बजार शान्त थियो। मानिसहरू आफ्नै धुनमा सामान्य रूपमा हिँडडुल गरिरहेका थिए। अलि अगाडि बढ्दा पनि अवस्था उस्तै थियो। ‘बाढी सामान्य आउने होला, हामी हिँड्ने बाटो त नदीभन्दा धेरै माथि छ’ भन्ने सोच्दै स्कुलतिर लागेँ।

स्कुलतर्फ हिँडेका विद्यार्थीहरू पनि आफ्नै सुरमा बिस्तारै गइरहेका थिए। बाटोमा स्कुलका एकजना कर्मचारी भेटिनुभयो। उहाँले आफ्नी नानीका लागि पनि खाना स्कुल पुर्‍याइदिन अनुरोध गर्नुभयो। मैले उहाँकी नानीको खाना पनि लिएँ र स्कुलतर्फ अघि बढेँ।

त्यतिबेलासम्म बाढी आउने कुनै संकेत थिएन। सबै कुरा सामान्य रूपमा चलिरहेको थियो। तर स्कुल नजिकै पुग्दा मानिसहरूको चहलपहल देखेँ। ‘के भयोरु’ भनेर सोध्दा बाढिको कुरा सुनाएँ। त्यहाँका मानिसहरू भने निकै डराएका थिए। कोही सुरक्षित ठाउँतिर भाग्ने तयारीमा थिए।

म पनि स्कुल पुगेँ। नानीहरूलाई खानाको बक्स जिम्मा लगाएँ। अतिरिक्त कक्षा पढाउने शिक्षकहरू पनि खाना खान घर जाने तयारीमा हुनुहुन्थ्यो। मैले उहाँहरूलाई बाढिको कुरा सुनाएँ।

‘पोहरको जस्तै सानो बाढी होला, आउँछ–जान्छ, डराउनुपर्दैन’ भन्ने कुरा भइरहेको थियो। त्यही बेला विद्यालयमा आइपुग्नुभएका एकजना अभिभावकले निकै ठूलो बाढी आएको खबर सुनाउँदै ‘सुरक्षित ठाउँमा जाऔँ’ भन्नुभयो।

त्यसपछि अर्को एकजना शिक्षकलाई पनि फोन आयो। उहाँ पनि आत्तिँदै बाहिर आउनुभयो। प्रधानाध्यापक अर्का एकजना शिक्षकसँग बाहिर अवस्था अवलोकन गर्न जानुभयो र केही क्षणमै फर्केर आउनुभयो।

हामी स्कुलको गेटमै बसेर कुरा गरिरहेका थियौँ। अचानक पछाडि फर्केर हेर्दा- अत्यन्त ठूलो बाढी हाइटेन्सन लाइनका पोलहरू ढाल्दै, पक्की पुल बगाउँदै हाम्रोतर्फ आइरहेको देख्यौँ।

हामीले विद्यार्थीहरूलाई चिच्याएर बोलायौँ। स्कुलमा भर्खरै आइपुगेका साना–साना नानीहरूलाई काम गर्ने दिदीहरूले बोकेर सुरक्षित ठाउँतिर लैजानुभयो।

हामी पनि भाग्यौँ। स्कुलको मुख्य गेटबाट बाहिर निस्कन आँट आएन । आपतकालीन गेट डाँडातर्फ थियो। त्यही बाटो हुँदै विद्यालयमा आइपुगेका तथा बाहिर देखिएका सबै विद्यार्थीलाई सुरक्षित ठाउँतिर लैजान सफल भयौँ। डाँडामा पुगेपछि फर्केर हेर्दा स्कुलको गेटभित्र समेत बाढी पसिसकेको थियो। त्यसपछि डाँडामा बसेर त्रिशूलीको त्यो बितण्डा हेर्नुबाहेक हामीसँग अर्को विकल्प थिएन ।

हेर्दाहेर्दै गाउँ, बस्ती, विद्यालय, बिजुलीका पोल र पुलहरू छिनभरमै ध्वस्त भए। केही बेरअघिसम्म सामान्य देखिएको ठाउँ एकाएक बगरमा परिणत भयो।

कति विद्यार्थी बिहानको कक्षा सकेर खाना खान घरतर्फ जाँदै थिए। बाटोमै आएको बाढीमा उनीहरू बिलिन भए। केही समयअघिसम्म हामीसँग बोलेर हिँडेका मानिसहरूलाई बाढीले बगाएको खबर साँझतिर मात्रै सुनियो।

आफन्तलाई फोन गरेर त्यो खबर सुनाउन खोज्दा बोलीभन्दा पहिला रुवाइ आयो। आफू हिँडेको माटो, घुमेको ठाउँ, चिनेजानेका बाटाहरू सबै बगर बनेका थिए। केही समयअघिसम्म बोलेका मानिस र आफन्तहरू एकैछिनमा बाढीले निलेको थियो।

अहिले पनि लाग्छ, त्यो दिन म केही मिनेट छिटो हिँडेँ र बाँचेँ। म अघि–अघि आएँछु, बाढी पछाडि–पछाडि आएछ। बिजुलीका पोलहरू ढलेका कारण विद्युत् थिएन। कसैसँग पनि राम्रोसँग सम्पर्क हुन सकेको थिएन। दिनभरि हामी शिक्षक साथीहरू विद्यालयमा रहेका विद्यार्थीहरूलाई उनीहरूका अभिभावकको जिम्मा लगाउने काममा व्यस्त रह्यौँ ।

धेरैजसो विद्यार्थीलाई अभिभावकको जिम्मा लगाउन सफल भयौँ। तर जसको घर बगेको थियो र अभिभावकसँग सम्पर्क हुन सकेन, उनीहरूलाई विद्यालयमै बस्ने व्यवस्था गर्‍यौँ ।

आफू सुरक्षित थियौँ, तर छिमेकी र आफन्तहरू सम्पर्कविहीन थिए। जति सम्झन्छु, उति नै मन भक्कानिएर आउँछ। दिमागमा त्यही दिनका दृश्यहरू मात्रै आउँछन्। सामान्य बन्न सकिएला कि नसकिएला भन्ने लाग्छ। जति सम्झ्यो, उति नै गाह्रो हुन्छ। प्रकृति यति धेरै निष्ठुरी हुन सक्छ भनेर कुनै दिन सोचेकै थिइनँ।

साथीभाइ तथा इष्टमित्रहरूले चिन्ता व्यक्त गर्दै फोन सम्पर्क गर्न खोज्नुभएको रहेछ। कठिन समयमा हाम्रो अवस्था’bout चिन्ता व्यक्त गर्नुहुने सबैप्रति हृदयदेखि आभार व्यक्त गर्दछु।

घर र काम गर्ने ठाउँ सुरक्षित भए पनि हिँड्ने बाटो र पुलहरू सबै सकिएका छन्। बजार जोड्ने पुल नहुँदा आफन्तजनसँग सम्पर्क र भेटघाटमा समेत अन्योलको अवस्था छ।

यस्तो विपत्तिको समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिनुहुने सबैप्रति सम्मान व्यक्त गर्दछु। उहाँहरूले आफ्नो सक्दो प्रयास गरिरहनुभएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

त्यो बिहान, बाढीभन्दा केही मिनेट अगाडि