…अनि भेटियो सुरुङभित्र जीवन

काठमाडौं । १० भदौ बिहान ८ बजेर ४० मिनेटमा रसुवाको भोटेकोशी नदी हुँदै त्रिशुलीमा आएको विनाशकारी बाढीको दसौँ दिनसम्म पनि खोज तथा उद्धार अभियान जारी छ । दसौँ दिन शुक्रबार बिहान अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना कामदार जीवितै निकालिएपछि लेदो, ढुंगा र भग्नावशेषले भरिएका सुरुङहरुमा जीवन भेटिने आशा बढेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रवारसम्म सरकारी निकायबाट प्राप्त तथ्यांक सार्वजनिक गर्दै १ हजार २८७ शव फेला परेको जनाएको छ भने करिब ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको र १३ हजार ९३ जनाको उद्धार भइसकेको भनेको छ । उद्धार गरिएकामध्ये ३ सयभन्दा बढी विदेशी नागरिक छन् भने सम्पर्कविहीनमध्ये करिब ६ सय विदेशी ३५ देशका नागरिक छन् । नेपाल प्रहरीको तथ्यांकमा भने शुक्रवार बिहानसम्म १ हजार २८० शव फेला परेको र घाइतेमध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको उल्लेख गरेको छ ।

भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीसम्म बगेका शव रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीका विभिन्न क्षेत्रमा फेला परेका छन् । बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् र दूरसञ्चारलगायतका पूर्वाधारमा अकल्पनीय क्षति गरेको छ ।

१० दिनसम्म जारी छ जीवन बचाउने लडाइँ
विपत्तिको पहिलो दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई खोज, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार, शव व्यवस्थापन र राहत वितरणमा परिचालन गरिएको छ । हाल २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् । सुरुङभित्र फसेकाको उद्धारमा नेपालसँग आवश्यक पर्ने विशेष प्रविधि र दक्षता थप्न भारत, चीन र दक्षिण कोरियाका विशेष टोलीसमेत नेपाली सेनासँग संयुक्त रूपमा खटिएका छन् ।

लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, अपर त्रिशूली–३ ‘ए’, अपर त्रिशूली–३ ‘बी’लगायतका सुरुङमा खोजी भइरहेको छ । लाङटाङमा नेपाली सेनाका २५ जना र आयोजनाका दुई प्राविधिकले मेसिन प्रयोग गरी सुरुङको माथिल्लो भागबाट अर्को सानो प्वाल खोलेका थिए । अपर त्रिशूली–३ ‘ए’ मा ९३ सदस्यीय टोली तथा ३ ‘बी’ मा ६७ सैनिक र तीन प्राविधिक परिचालित छन् ।

यी प्रयासबीच दसौँ दिन बिहान अपर त्रिशूली–३ ‘ए’ को सुरुङबाट कामदारको जीवितै उद्धार सम्भव भएको छ ।

शव पहिचानको चुनौती
बाढीको पानीसँगै शव टाढासम्म पुगेपछि मृतक पहिचानसमेत ठूलो चुनौती बनेको छ । नेपाल प्रहरीका अनुसार फेला परेकामध्ये ८९७ वटा शव आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ भने पहिचान नखुलेका ९६० शवको विवरण वेबसाइटमा राखेर पहिचानको प्रयास जारी राखिएको छ ।

भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक तथा डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन विशेषज्ञले नेपाली टोलीसँग काम गरिरहेका छन् । सरकारका अनुसार पहिचान हुन नसकेका वा सुरक्षित रूपमा लामो समय राख्न नसकिने शवको डीएनए नमुना लिएर अस्थायी रूपमा सुरक्षित गाड्ने व्यवस्था गरिएको छ ।

उद्धार र राहतसँगै पुनःस्थापनातर्फ
उद्धारसँगै पहिलो दिनदेखि खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आवास, औषधि तथा आकस्मिक स्वास्थ्य सहायता वितरण सुरु गरिएको सरकारले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रभावित पाँच जिल्लाका १५ वटा स्थानीय तहलाई खोज, उद्धार र तत्काल राहतका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइसकिएको छ । रसुवा र नुवाकोट जिल्लालाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

सरकारले १० भदौ मै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेपछि देशबाहिरबाट आएको सहयोगलाई पनि सरकारले एउटै संयन्त्रबाट उद्धार र राहतमा परिचालन गरिरहेको छ ।

भारत, चीन, बेलायत, जापान, अमेरिका, यूएई, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलियालगायत देश तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट उद्धार विशेषज्ञ, उपकरण, चिकित्सा तथा फरेन्सिक सहयोग, राहत सामग्री र आर्थिक सहयोग प्राप्त भएको छ ।

३ खर्ब ८७ अर्ब बढी क्षति
सरकारले राहत र उद्धारसँगै पुनर्निर्माणको प्रक्रिाय पनि सुरु गरेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक मूल्यांकनलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले भौतिक पूर्वाधार, मानव बस्ती, पुल, स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जा, विद्युत् र दूरसञ्चार क्षेत्रमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि मात्रै ७ अर्ब ९५ करोड रुपैयाँ तत्काल आवश्यक पर्ने सरकारी आकलन छ । पूर्ण क्षति र पुनर्निर्माण आवश्यकता निर्धारणका लागि विस्तृत ‘पोस्ट डिजास्टर निड्स एसेसमेन्ट’ गरिने सरकारले जनाएको छ ।

हिमाली क्षेत्रमा तीव्र तापक्रम वृद्धि, पर्वतीय देशको बढ्दो संवेदनशीलता र यस्ता विपत्तिको बढ्दो जोखिमलाई सरकारले अन्तर्राष्ट्रिय जलवायु न्यायको प्रश्नसँग औपचारिक रूपमा जोडेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार काठमाडौंस्थित कूटनीतिक नियोगलाई गरेको ब्रिफिङमा विश्वव्यापी उत्सर्जनमा नेपालको हिस्सा नगण्य भए पनि तातिँदो हिमालयको असमान भार नेपालले बेहोर्नुपरेको बताएका छन् । सरकारले ‘लस एन्ड ड्यामेज फन्ड’ बोर्डका सहअध्यक्षलाई तत्काल सहयोग माग गर्दै पत्रसमेत पठाइसकेको छ ।

भोटेकोशी–त्रिशूली विपत्तिको स्वरूप फेरिएको छ । बाढीबाट मानिस बचाउने नदी र भग्नावशेषमा हराएकाको खोजी, सुरुङमा फसेकासम्म पुग्ने संघर्ष र हजारौँ शवको पहिचान अहिले पनि चुनौतीका रुपमै छन् । उद्धार नसकिँदै विस्थापितको पुनःस्थापना, पूर्वाधार पुनर्निर्माण र भविष्यमा यस्तै विपत्ति हुँदा क्षति घटाउने संरचना कसरी र कस्तो बनाउने भन्ने बहस सुरु भएको छ ।

रहेन आश, कुशको शव
बाढी गएको दस दिन पुग्दा भोटेकोशीका पीडित परिवारको पीडा शवको खोजीबाट आफैंले अन्तिम संस्कार गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

लामो समयसम्म बेपत्ता आफन्तको अवस्था थाहा नभएपछि नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, स्याङ्जा र काठमाडौंलगायतका परिवारले कुशको प्रतिरूप बनाएर धार्मिक विधिअनुसार अन्त्येष्टि गरी काजकिरिया सुरु गरेका छन् । कतिपय परिवारले शव नभेटिए पनि अब आफन्त जीवित नरहेको निष्कर्षमा पुगेका छन् भने किरियापुत्री भवनसमेत भरिएपछि केही परिवार टेन्टमा बसेर शोक संस्कार गर्न बाध्य छन् ।

नुवाकोट र रसुवाका स्थानीय बढी बस्ने काठमाडौंको तारकेश्वर नगरपालिका बालाजु क्षेत्रका सामुदायिक भवनहरुमा अहिले रसुवा र नुवाकोटका मृतकका आफन्तहरु धार्मिक विधिअनुसार काजकिरियामा बसेका छन् ।

यो क्षेत्रमा भएका १० भन्दा बढी सामुदायिक भवन किरियापुत्रीले भरिएको र किरिया बस्न स्थान पाउनसमेत सकस भएको पीडितको गुनासो छ । सरकारले पाशुपत क्षेत्रमा गरिने अन्तिम संस्कार र १३औ दिनसम्म किरियापुत्री घरमा बस्दा लाग्ने शुल्क लगायत नलिने घोषणा गरेका कारण परिवारसँगै सम्पत्तिसमेत गुमाएका आफन्तलाई केही राहत मिलेको छ ।

१० भदौः नसोचेको विपत्ति
बुधबार बिहान ८ः४० बजे भोटेकोशीमा बाढी आएपछि सरकारले तत्काल खोज, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार र राहतमा सुरक्षा निकाय परिचालन ग¥यो । राति ८ः३० बजेसम्म नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासी पूर्वमा गरी १०० शव फेला परेको जनाएको थियो । जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सार्ने, अवरुद्ध बाटो खुलाउने र खोजी विस्तार गर्ने कामसँगै प्रधानमन्त्री कार्यालयले त्यही दिन दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोगका लागि सार्वजनिक अपिल ग¥यो ।

११ भदौः ३५९ शव, दोस्रो जोखिमको चेतावनी
दोस्रो दिनसम्म शवको संख्या तीव्र रूपमा बढेर परराष्ट्र मन्त्रालयको राति ८ बजेको अपडेटमा ३५९ पुगेको थियो र ३३ देशका ५९६ नागरिक सम्पर्कविहीन रहेको विवरण आएको थियो। नेपाल प्रहरीले चितवन, मुग्लिङ, गल्छी, नुवाकोट र नवलपरासीलगायत क्षेत्रमा वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा ड्रोन, सञ्चार साधन र थप जनशक्ति परिचालन ग¥यो ।

यही दिन प्राधिकरणले रसुवागढीबाट करिब १८ किलोमिटर माथि ल्हेन्दे खोलाको बहाव अवरुद्ध भएर करिब ०.११ वर्गकिलोमिटरको ताल बनेको देखिएको भन्दै फेरि ठूलो बाढी आउन सक्ने चेतावनी दियो । प्रभावित स्थानीय तहलाई राहत रकम पठाउने निर्णय गरियो ।

भदौ १२ : सुरुङ उद्धारमा पहिलो सफलता
साँझ ५ बजेसम्म नेपाल प्रहरीले ५५३ शव फेला परेको थियो । जोखिम क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्ने, नदी किनार र बगरमा खोजी गर्ने तथा अवरुद्ध सडक खुलाउने काम निरन्तर चल्यो । राष्ट्रिय विपद् प्राधिकरणले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा नेपाली सेनाको विशेष तालिमप्राप्त टोली खटायो । सुरुङबाट दुई जनालाई सकुशल उद्धार गरियो ।

१३ भदौ : स्थानीय तहमा ६ करोड ७५ लाख
६६९ शव फेला परे । शव कुहिन थालेपछि संक्रमण र महामारीको जोखिम कम गर्न प्रहरीले पहिचान नभएका शवको फरेन्सिक प्रक्रिया र सुरक्षित व्यवस्थापनलाई तीव्र बनायो । यही दिन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई खोज, उद्धार र तत्काल राहतका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गरायो ।

१४ भदौः ८ हजार १८६ जनाको उद्धार
साँझ ५ः४५ बजेसम्म ७९४ शव फेला परेको नेपाल प्रहरीले जनाएको थियो । करिब २ हजार ४९८ सम्पर्कविहीन र ८ हजार १८६ भन्दा बढी उद्धार भएको तथ्यांक सार्वजनिक । भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विशेषज्ञ नेपाली सेनासँग जोडिए ।

१५ भदौः अन्तर्राष्ट्रिय उद्धार सहयोग विस्तार
सुरुङ उद्धार, शव पहिचान, राहत तथा हराएका विदेशी नागरिकको सूचना समन्वयमा अन्तर्राष्ट्रिय सहायता विस्तार । परराष्ट्र मन्त्रालयको इमर्जेन्सी कन्ट्रोल रुमले परिवार तथा नियोगसँग नियमित सम्पर्क जारी राख्यो ।

१६ भदौः १,०९३ शव,११ हजार ८००को उद्धार
१ हजार ९३ शव फेला । ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार । तीनवटै सुरक्षा निकायका २१ हजारभन्दा बढी जनशक्ति परिचालित । ठूलो संख्यामा अज्ञात शव भेटिन थालेपछि नेपाल प्रहरीले आफन्तबाट डीएनए नमुना संकलन र शवसँग मिलान गर्ने प्रक्रिया विस्तार ।

१७ भदौ : सुरुङ खोजी तिब्र
फेला परेका शवको संख्या १ हजार २२२ पुग्यो ९५ शव आफन्तलाई हस्तान्तरण । ८८२ शव फरेन्सिक प्रक्रिया पूरा गरेर सुरक्षित व्यवस्थापन र ९५३ अज्ञात शवको विवरण प्रहरी वेबसाइटमा राखिएको । सुरुङहरूमा नेपाली तथा विदेशी विशेषज्ञ टोलीको संयुक्त खोजी जारी ।

१८ भदौः १,२८० शव, सुरुङमा मेसिन र विशेषज्ञको प्रयोग
१ हजार २८० को शब फेला । करिब ४ हजार २०० जना सम्पर्कविहीन रहेको पुष्टि । लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, ३ ‘ए’ र ३ ‘बी’ मा भारतीय, चिनियाँ र कोरियाली विशेषज्ञ तथा नेपाली सेनाले ड्रिलिङ, एक्स्काभेटर, ड्रोन र अन्य उपकरण प्रयोग गर्दै खोजी तीव्र । भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोली पनि शव पहिचानमा खटिए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल