प्रचण्डले भने– राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको उल्लेख गरे । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पूर्व प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र जिम्मेवार हुन आग्रह गरे ।

उनले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरि राख्नुपर्नेमा जोड दिए । लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने औँल्याए ।

दाहालले भने, ‘अहिले कता–कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ । सुरुदेखि हामीले भनेका छौँ, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ । नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ । हरेक क्षेत्रमा हामीले त्यही भन्दै आएका छौँ, अहिले पनि हाम्रो त्यही भनाइ रहिआएको छ । तर लक्षण राम्रो देखिएको छैन ।’

उनले राज्यका हरेक क्षेत्रमा सचेत नागरिक र जिम्मेवार निकायले राष्ट्रिय हितका लागि काम गर्नुपर्ने आवश्यकता रहेको समेत प्रस्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडियो