आफ्नी महिला साथीको कुटपिट गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई भारतीय प्रहरीले सार्वजनिक रूपमा कुटपिट गरेको छ।उक्त कुटपिटको भिडियो अनलाइनमा फैलिएपछि विभिन्न मिश्रित प्रतिक्रियाहरू सार्वजनिक भएका छन्।
सर्वोच्च अदालतले यस्तो व्यवहारमा रोक लगाउने आदेश दिएको भएता पनि भारतमा प्रहरीद्वारा संदिग्ध व्यक्तिहरूलाई सार्वजनिक रूपमा घुमाउने र कुटपिट गर्ने घटनाहरू नौलो होइनन्।
अधिकारीहरूका अनुसार उक्त कुटपिट कथित हत्याको घटनामा देखिएको क्रूरताको प्रतिक्रियास्वरूप गरिएको थियो। प्रहरीले फैजल लखानीका रूपमा पहिचान गरेका ती व्यक्तिलाई गुजरात राज्यको भावनगर सहरबाट पक्राउ गरिएको थियो।
घटनास्थलको अनुसन्धान प्रक्रियाका लागि घटनाको विवरण पुनः सिर्जना गर्न प्रहरीले शुक्रबार लखानीलाई अपराध भएको ठाउँमा लगेको थियो। त्यहाँ उनलाई प्रहरीले कुटपिट गरेपछि सो दृश्यको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
भिडियोमा लखानीको हात डोरीले बाँधिएको र बर्दीधारी प्रहरी अधिकारीले बाँसको लट्ठीले उनको खुट्टा तथा नितम्बमा पटक-पटक प्रहार गरिरहेको देखिन्छ। उनलाई बस टर्मिनलभित्र पनि खुट्टामा कुटपिट गरिएको थियो।
‘टाइम्स अफ इन्डिया’ का अनुसार प्रहरी अधिकारी डीपी उनादकटले भनेका छन्, “महिलाविरुद्ध हुने अपराधलाई गम्भीरतापूर्वक लिइन्छ। अरू कसैले पनि यस्तो अपराध गर्ने आँट नगरून् भन्ने उदाहरण प्रस्तुत गर्न हामीले उनलाई कुटपिट गरेका हौँ।”
त्यस्तै ‘द इन्डियन एक्सप्रेस’ को रिपोर्टअनुसार उनादकटले भने, “हामीले यस्तो गर्दा उनीहरू प्रहरीसँग डराउँछन्।”
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त कुटपिटको प्रशंसा गरे भने अन्यले प्रहरी अधिकारीहरूको कार्यको निन्दा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’का धेरै प्रयोगकर्ताहरूले ती व्यक्ति अपराधमा अदालतबाट दोषी ठहर भइनसकेको कुरा औँल्याएका छन्।
यस विषयमा भावनगरका प्रहरी प्रमुख नितेश पाण्डेले भने। “यस विषयमा मसँग कुनै टिप्पणी छैन।”
सम्बन्धित समाचार
न्युजिल्यान्डले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने
युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
अमेरिकी आक्रमणपछि इरान रणनीति : ‘कुचल्ने र चकनाचुर पार्ने’
अमेरिकी सैनिक थाइल्यान्डकाे ‘याैन पर्यटन’मा
चिनियाँ एजेन्ट बने अमेरिकी पत्रकार, अमेरिकी अदालतले सुनायो जेल सजाय
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
मस्कोमा अमेरिकी टोलीले युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग गरे तीन घण्टा विशेष छलफल






