काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । उनका अनुसार विवाद समाधानका नाममा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारबाजी बढी गरिएको छ भने वास्तविक संवाद र सहमतिको प्रयास भएको छैन ।
सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट आफूहरूसँग विवाद समाधानका लागि कुनै ठोस संवाद नभएको बताए । उनका अनुसार संस्थापन पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित भएर हाल बाहिर रहेका नेताहरूलाई वडा अधिवेशनमा सहभागी भए विशेष अधिवेशनमार्फत समेट्ने प्रस्ताव गरेको छ, तर उक्त प्रस्ताव स्वीकार्य नभएको उनको भनाइ छ ।
‘हामी केन्द्रीय सदस्य हुनका लागि मात्रै पार्टीमा लागेका होइनौँ,’ महतले भने, ‘नेपाली कांग्रेसको आफ्नै मूल्य, मान्यता र संस्कार छ । १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अहिले आएर अधिवेशनमा सहभागी भए मात्रै केन्द्रीय सदस्य बन्न सक्नुहुन्छ भन्नु घाउमा नुन छर्किएजस्तो हो ।’
महतले विवाद समाधानका लागि आफूहरूले दुई विकल्प अघि सारेको बताए । उनका अनुसार अदालतमा विचाराधीन प्रक्रियाको निर्णय पर्खिने वा अधिवेशन प्रक्रिया स्थगित गरेर राजनीतिक सहमतिको वातावरण बनाउने प्रस्ताव गरिएको थियो । तर संस्थापन पक्षले दुवै विकल्प अस्वीकार गरेको उनले आरोप लगाए ।
राजनीतिक सहमति भए अदालतमा दायर गरिएको पुनरावलोकन निवेदन फिर्ता लिन आफूहरू तयार रहेको पनि महतले स्पष्ट पारे । तर त्यसअघि अधिवेशन प्रक्रिया रोकिएर दुवै पक्षबीच विश्वासको वातावरण बन्नुपर्ने उनको धारणा छ ।
‘पहिला राजनीतिक रूपमा सहमति हुनुपर्यो। एकताको महाधिवेशन गरेर जाने वातावरण बन्नुपर्यो,’ उनले भने, ‘त्यसपछि अदालतको प्रक्रिया फिर्ता लिने विषयमा कुरा गर्न सकिन्छ ।’
महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन देशभरका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे । उनका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने र मंसिर २१, २२ र २३ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ ।
उनले आफूहरू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेसकै मूल भावना, विचार र संगठनात्मक संरचना जोगाउन महाधिवेशन आयोजना गर्न लागिएको बताए । १४औँ महाधिवेशनबाट निर्वाचित समितिको नेतृत्वमा अधिवेशन अघि बढिरहेको उल्लेख गर्दै उनले कांग्रेसजनलाई सक्रिय सहभागिताका लागि आग्रह गरे ।
‘हामी अर्को पार्टी बनाउँदै छैनौँ, नेपाली कांग्रेसकै महाधिवेशन गर्दैछौँ,’ महतले भने, ‘पदभन्दा विचारलाई महत्व दिने स्वाभिमानी कांग्रेसजन १५औँ महाधिवेशनमा सहभागी हुनुहुन्छ भन्ने विश्वास छ ।’
महतले संस्थापन पक्षले सहमतिका सबै ढोका बन्द गरेको आरोप लगाउँदै अब पार्टीको मूल भावना जोगाउने माध्यम महाधिवेशन नै भएको दाबी गरे । पत्रकार सम्मेलनमा पुनरावलोकन निवेदन फिर्ता लिएपछि विवाद समाधान’bout पुनर्विचार गर्न सकिने संस्थापन पक्षको भनाइ’bout सोधिएको प्रश्नमा उनले राजनीतिक सहमति भएपछि मात्रै त्यस्तो प्रक्रिया अघि बढ्न सक्ने जवाफ दिए ।
‘अधिवेशन स्थगित गरेर दुवै पक्ष बसेर सहमति खोज्ने वातावरण बने हामी तयार छौँ,’ उनले भने, ‘तर सहमतिभन्दा अघि अदालतको प्रक्रिया फिर्ता लिनु समाधान होइन ।’
सम्बन्धित समाचार
प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे
कांग्रेस विधान मस्यौदा समितिमा सदस्य मनोनयन
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
महाधिवेशनका लागि काँग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक






