नेपाली प्राविधिक एसियाडका लागि जापान जाँदै

काठमाडौं । २०औँ एसियाली खेलकुद (एसियाड) मा ट्रायथलनतर्फ प्राविधिक अधिकारीका रूपमा सहभागी हुन नेपालका चाहना शाह र पुष्प रत्न बज्राचार्य जापान प्रस्थान गर्दै छन् ।

नेपाल ट्रायथलन संघले बुधबार दुवैलाई बिदाइ गरेको हो । अन्तर्राष्ट्रिय रेफ्री तथा प्राविधिक अधिकारीका रूपमा एसियाडमा सहभागी हुने दक्षिण एसियाकै दुई प्रतिनिधि नेपालबाट छनोट हुनु नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भएको संघले जनाएको छ ।

आफ्‌नो प्राविधिक क्षमता थप निखार्न दुवै अधिकारी हालै दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय एन्टी–डोपिङ तथा विशेष प्राविधिक सेमिनारमा सहभागी भएर स्वदेश फर्किएका थिए ।

यसपटक एसियाडको ट्रायथलन प्रतियोगितामा भने नेपाली खेलाडीले सहभागिता जनाउन पाएका छैनन् । नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले ओलम्पिक कमिटीको आन्तरिक विवादका कारण नेपाली ट्रायथलन टोलीलाई एसियाडमा समावेश नगरिएकोमा दुःख व्यक्त गरे । उनले यस निर्णयबाट नेपाली खेलाडी अन्यायमा परेको बताए ।

नेपाली खेलाडी प्रतियोगितामा सहभागी हुन नपाए पनि प्राविधिक अधिकारीका रूपमा दुई नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्न पाउनु महत्वपूर्ण अवसर भएको श्रेष्ठले बताए ।

जापानको आइची–नागोयामा हुने एसियाडअन्तर्गत ट्रायथलनका प्रतिस्पर्धा सेप्टेम्बर २० र २१ मा सञ्चालन हुँदै छ । बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले एसियाडजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राविधिक अधिकारीको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने बताउँदै दुवैलाई शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

एक अर्ब ३४ करोड रुपैयाँको हुन्डी कारोबार गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ