वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

काठमाडौं । भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् ।

यही ८ असोजदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ ।

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छन् । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका कारण रातिको समय र जोखिम मानिएका स्थानमा दिउँसो पनि यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।

सडक विभागका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । त्यसैगरी बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत खण्ड अवरुद्ध भएका छन् ।

कान्ति राजमार्गको चपली, तकुर्चेलगायत खण्डमा पनि आंशिक रूपमा प्रभावित भइरहेको छ । मकवानपुर खण्डमा भने पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको विभागले सूचनामार्फत जनाएको छ । सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सलेरीखण्ड, सोलुखोला नजिकलगायत खण्डमा पनि अवरुद्ध भएका छन् । सो खण्डमा सडक भासिएकाले एक्जाभेटर, ह्विल लोडरलगायत उपकरण परिचालन गरेर सञ्चालन ल्याउने प्रयास भइरहेको छ ।

मध्यपहाडी राजमार्गको पनि निसी गाउँपालिका–कानाबगरलगायत खण्ड पनि अवरुद्ध भएको छ । सो खण्डमा लेदोसहितको पहिरो आउने क्रम पनि जारी छ । त्यसैगरी, कालीगण्डकी करिडोरको पनि जैमिनी नगरपलिका–८ बेलबगर सडक पनि अवरुद्ध छ । सो खण्डमा ठूलो प्रकृतिको पहिरो गएकाले पनि हटाउने कार्य भइरहेको सडक विभागले जनाएको छ । त्यसैगरी, बाग्लुङ–बेनी राजमार्ग खण्डको पनि म्यादी, हुलाकेलगायत खण्ड पनि सडक अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार तमोर कोरिडोरको छरुवाखोला, नावाखोला, रानीगाउँलगायत खण्डमा पनि सडक अवरुद्ध छ । राप्ती राजमार्गको पनि कपुरकोट–खारखोला खण्डको सडक अवरुद्ध छ । कर्णाली राजमार्गको गगनेखोला, नाग्म–जुम्लाको राँका क्षेत्र–बांगेसिमल–दहीखोला तथा हारे नजिक खण्ड पनि अवरुद्ध छ । भालुवाङ–चकचके–लिवाङ सडकखण्डको पनि विभिन्न क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान