कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज आइतबार १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।

यही १० असोजका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण १३ गतेभित्र आफू अनुकूल गर्न निर्वाचन समितिले विकल्प दिएपछि आज १३ जिल्लामा हुन लागेको हो । अरू २९ जिल्लामा भोलि र ९ जिल्लामा पर्सी क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनका अनुसार आज ११ गते झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतसहित १३ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको हो ।

त्यसैगरी भोलि १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीसहित २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

समितिलाई प्राप्त विवरण अनुसार पर्सि १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेख गरी ६ जिल्लामा र १४ गते इलाममा क्षेत्रीय अधिवेशन गर्ने तय भएको छ ।

अन्य १७ जिल्लाले भने पूर्वनिर्धारित तालिका अनुसार हिजो १० गते नै अधिवेशन गरेको विवरण केन्द्रीय निर्वाचन समितिलाई प्राप्त भएको उनले जानकारी दिएका छन् । सदस्य सचिव कटुवालका अनुसार यस महाधिवेशनको विरोध गर्दै आएका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरासहित ४ जिल्लाको नतिजा नै आइसकेको छ भने अन्य १३ जिल्लामा निर्वाचनको प्रक्रिया हिजोदेखि नै चलिरहेको छ ।

क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेका अन्य तीन जिल्लामा मनाङ, मुस्ताङ र बैतडी रहेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा भने आज पनि निर्वाचनको प्रक्रिया चलिरहेको छ ।

अन्य केही जिल्लामा भने मिति तय नभए पनि १३ गतेभित्र गरिसक्न भनिएकाले त्यतिबेलासम्म भइसक्ने निर्वाचन समितिले दाबी गरेको छ ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुने भएकाले यसलाई महत्वपूर्ण अधिवेशनको रूपमा लिइन्छ । अधिकांश नेता तथा कार्यकर्ताहरू महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् ।

केन्द्रीय महाधिवेशन तथा महासमिति बैठकमा सहभागी हुन र केन्द्रीय कार्यसमितिमा उम्मेदवार हुन पनि महाधिवेशन प्रतिनिधि हुनै पर्ने भएकाले महाधिवेशन प्रतिनिधिका लागि ठूलो भिडन्त हुन लागेको हो ।

केन्द्रीय नेतादेखि नवयुवासम्मले प्रतिस्पर्धा गर्दै छन् भने चर्चित कलाकार तथा पेसाकर्मीहरू पनि महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूले यसका लागि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरूलाई फोन गर्ने, एसएमएस गर्ने, सामाजिक सञ्जालमा प्रचार सामग्री राख्नेलगायतका कार्य गरेर प्रचार प्रसार गरिरहेका छन् ।

पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । पदेन सदस्यलाई मतदान गर्ने अधिकार भएपनि उम्मेदवार बन्ने अधिकार भने नहुने कांग्रेसको विधानमा उल्लेख छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ । यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन ।

यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ । ती १८ जनामध्ये दुवै प्रदेशसभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीनतीन जनाको दरले क्षेत्र क र खबाट कुल ६ जना निर्वाचित हुनेछन् । त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार जना, युवामध्येबाट एक महिलासहित २ जना, जनसंख्याका आधारमा समानुपातिक तर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ ।

क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला ४, खुला १०, एक महिलासहित तीन युवा, जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन् । साथै श्रमिक, पेसागत विज्ञ, अपांगता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक(एक जना चयन हुने व्यवस्था गरिएको छ । यसरी हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना संघीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

संघीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक, र जनसंख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कुल १२ जना छनोट हुनेछन् ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले क र ख दुवै तर्फका लागि प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ । प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन् । कोषाध्यक्ष भने प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा २ महिला, एक दलित, एक युवा, तीन खुला र जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन् । यसबाहेक थप ७ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ ।

सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, ८ खुला, एक महिलासहित दुई युवा, जनसंख्याका आधारमा हुने समानुपातिकतर्फ ६ जना चयन गर्नेछ । त्यसैगरी पेसागत विज्ञ, श्रमिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ ।

कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएपछि केन्द्रीय महाधिवेशन हुनेछ । केन्द्रीय महाधिवेशन यही १६ गतेदेखि १९ असोजसम्म काठमाडौंको खुल्ला मञ्चमा गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ । कांग्रेसको अधिवेशन यही ३ असोजमा वडा अधिवेशनबाट सुरु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा घट्दै डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत