सीमामा पर्यटकलाई स्वागत

वीरगन्ज । स्थलमार्ग भई नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमामा स्वागत गरिएको छ । सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसको अवसर पारेर आईतबार मुलुकको प्रमुख भन्सार नाका वीरगन्जस्थित शंकराचार्य गेटमा नै पुगी स्थलमार्ग भई नेपाल प्रवेश गर्दै गरेका पर्यटकलाई स्वागत गरिएको हो ।

पर्यटनको महत्व, यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पार्ने योगदान तथा दिगो विकासको आधारका रुपमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकमैत्री व्यवहार गरिएको सरोकारवालाको तर्क छ । भारतको मोतिहारीबाट यो मार्ग भई आउने सुधिर कुमार जैसवाल, कुलदिप दुवे, रंजित जैसवाल र सौरभ कुमार लगायतलाई नेपालमा नै उत्पादन भएको रुद्राक्षको माला लगाई स्वागत गरिएको छ । उनीहरु आईतबार र सोमबार दुई दिनको लागि नेपाल आएको जनाए । दुई दिनको लागि नेपाल आउँदै गरेका बखत प्रवेश केन्द्रमा नै पाएको स्वागत सम्मानले नेपाल प्रतिको भावना अझ प्रगाढ भएको उनीहरुको तर्क छ ।

विश्वभर हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने चलन नयाँ होइन । फलतः पर्यटकमैत्री व्यवहार प्रकट गरिएको पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाटा) मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले बताए । गएको भदौ १० गते आएको रसुवाको भोटेकोशी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।

तथापि ती प्रभावित क्षेत्र वाहेक पनि अन्य क्षेत्रको पर्यटन व्यवसाय कमजोर नरहेको र यहाँ घुम्ने अवलोकन गर्ने र बस्न सक्ने ठूलो सम्भावना छ भन्ने सन्देश दिन दिवसको दिन पारेर पनि सीमामा पुगी पर्यटकलाई स्वागत गरिएको उनले राजधानी दैनिकसँग बताए ।

विश्व पर्यटन संगठनले सन् १९८० देखि सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउन थालेको सन्दर्भमा नेपालले पनि पर्यटनको सम्भावना तथा महत्वलाई दृष्टिगत गरी सुरुदेखि नै यो दिवस मनाउँदै आएको छ ।

यसै सन्दर्भमा मधेश प्रदेश सरकार मातहतको उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय, पर्यटन विकास कार्यालयले पनि विभिन्न सरोकारवाला संस्थासँग सहकार्य गरी सीमा क्षेत्रमा पर्यटकलाई स्वागत गरिएको पर्यटन विकास कार्यालय पर्साका प्रमुख अरविन्द यादवले बताए । भदौ १० मा भएको विपत्को घटना पश्चात पर्यटन क्षेत्र र व्यवसाय नै पूर्ण धारासायी भए जस्तो देखिए पनि नेपालमा अझै यसको सम्भावना प्रचुर रहेको सन्देश दिन पनि पर्यटकको स्वागत गरी हौसला बढाएको उनको तर्क छ ।

पर्यटन विकास कार्यालय, नाटा तथा होटेल एशोसिएशन नेपाल (हान) को संयुक्त सहकार्यमा स्थलमार्गका पर्यटकसँग मैत्रीपूर्ण व्यवहार प्रस्तुत गरिएको नाटाका मधेश प्रदेश उपाध्यक्ष तथा हान पर्साका कोषाध्यक्ष विनोद चौधरीले पनि प्रष्ट पारे । नेपाल प्राकृतिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा रहेको छ, रहिरहन्छ उनले थपे । सर्वोच्च शिखर सगरमाथादेखि हिमाली पदयात्रा, धार्मिक तथा ऐतिहासिक सम्पदा, जैविक विविधता, साहसिक पर्यटन र स्थानीय संस्कृति नेपालका प्रमुख पर्यटकीय आकर्षणका गन्तव्य हुन् ।

यी गन्तव्यमा पर्यटक पुग्न सके स्वभाविक रुपमा मुलुकको अर्थतन्त्रमा योगदान पुग्नुका साथै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन र विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पुग्ने नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्काको भनाई छ । विशेषगरी ग्रामीण क्षेत्रमा होमस्टे, स्थानीय खाना, हस्तकला र सांस्कृतिक गतिविधिमार्फत पर्यटनले स्थानीय समुदायको आयआर्जन बढाउन समेत बल पुग्ने उनले तर्क गरे ।

पर्यटन क्षेत्रको विकाससँगै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण पनि उत्तिकै आवश्यक रहेको नाटा मधेश प्रदेशका अध्यक्ष शर्माको जोड छ । अव्यवस्थित पर्यटनका कारण वातावरणीय प्रदूषण, फोहोर व्यवस्थापनको समस्या तथा सम्पदामा पर्ने असर र सुरक्षा चुनौतिलाई न्यूनीकरण गर्दै दिगो र जिम्मेवार पर्यटन विकास गर्नु नेपालीको कर्तव्य भएको पर्यटन प्रहरी कार्यालय वीरगन्जका प्रहरी सहायक निरिक्षक ईसाहक मियाले बताए ।

नेपालमा पर्यटन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउन पूर्वाधार विकास, पर्यटकीय गन्तव्यको प्रचार–प्रसार, दक्ष जनशक्ति उत्पादन तथा पर्यटकमैत्री सेवा विस्तारमा जोड दिनुपर्ने सीमा नाकामा पर्यटकलाई स्वागत गर्न पुगेका सरोकारवालाको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम