केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने

धनगढी । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा चालु शैक्षिक सत्र २०८३/८४ देखि स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता विषयको पढाइ सुरु हुने भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत उक्त विषयको पठनपाठन सञ्चालन गर्न लागिएको हो ।

आइतबार क्याम्पसमा आयोजित पत्रकारहरूसँगको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले चालु शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

विश्वविद्यालयले पाठ्यक्रमको प्रारूप तयार गरिसकेको उल्लेख गर्दै उनले यसलाई थप व्यावहारिक, समयसापेक्ष र सञ्चार क्षेत्रको आवश्यकताअनुकूल बनाउन पत्रकार तथा सरोकारवालासँग सुझाव संकलन गरिएको बताए ।

कार्यक्रममा क्याम्पसको पत्रकारिता विभागका उपप्राध्यापक एवं विषय विज्ञ भुवन भण्डारीले प्रस्तावित पाठ्यक्रमको स्वरूप, विषयवस्तु र मूल्याङ्कन प्रणाली’bout प्रस्तुति दिएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको विषय समितिका संयोजक प्राध्यापक डा. राजेन्द्रवीर चन्दले पाठ्यक्रम निर्माण प्रक्रिया तथा यसको शैक्षिक र व्यावसायिक महत्व’bout जानकारी गराएका थिए ।

त्यस्तै, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहनसिंह साउदले पत्रकारिता शिक्षालाई समयको माग र श्रमबजारको आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा सहभागी पत्रकारहरूले पत्रकारिता शिक्षालाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिन सुझाव दिएका थिए । उनीहरूले बदलिँदो सञ्चार क्षेत्रको आवश्यकताअनुसार डिजिटल पत्रकारिता, मल्टिमिडिया, तथ्य जाँच, खोज तथा अनुसन्धान र समाचार उत्पादनजस्ता विषयलाई पाठ्यक्रममा समेट्नुपर्ने धारणा राखेका थिए ।

क्याम्पसमा लामो समयदेखि स्नातक तहमा पत्रकारिता विषयको अध्यापन हुँदै आएको छ । अब स्नातकोत्तर तहमा समेत पढाइ सुरु हुने भएपछि सुदूरपश्चिममै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई अवसर थपिने सहभागी पत्रकारहरूले बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने