विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी, पहिरो र अविरल वर्षाका कारण जोखिम अझै कायम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न नागरिकलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै कुनै पनि संकट परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले विपद्को जोखिम अझै नटरेको बताएका हुन् ।

प्रधानमन्त्री शाहले भने, ‘हाम्रो अगाडि खतरा अझै टरेको छैन, जोखिम कायमै छ । त्यसैले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु । अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोला र कुनै पनि संकट पर्दा शुल्क नलाग्ने नम्बर १२३४ मा फोन गरेर हामीलाई सम्झिनुहोला ।’

उनले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन् । बाढीमा फसेका मानिस तथा पशुचौपायाको उद्धार र बेपत्ता नागरिकको खोजीमा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको उनको भनाइ छ ।

बाढीपहिरो प्रभावित परिवारका लागि स्थानीय तहसँगको समन्वयमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको भन्दै प्रधानमन्त्री शाहले नागरिकलाई सुरक्षित महसुस गराउनु सरकारको प्राथमिकता रहेको बताएका छन् ।

‘यस्तो संकटको घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो,’ उनले भने, ‘त्यसैले बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फसेका मानिसहरू र पशुचौपायाको उद्धारमा हाम्रा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ ।’

प्रधानमन्त्री शाहले विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्ने कार्य नगर्न समेत सचेत गराएका छन् ।

उनले भने, ‘पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनु हुँदैन । संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य छ ।’

असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो, हावाहुरी, चट्याङ र अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । पाँच जना बेपत्ता र पाँच जना घाइते रहेको उनले बताएका छन् ।

मनाङको हिमपहिरोमा समेत मानिस बेपत्ता भएको सूचना प्राप्त भएको भन्दै उनले घटना’bout विवरण संकलन भइरहेको बताएका छन् ।

बाढीपहिरोका कारण सडक, पुल, जलविद्युत् आयोजना तथा खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । जोखिम भएका क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको उनले बताएका छन् ।

‘हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

पहिरोले विभिन्न राजमार्गमा क्षति, हटाउने काम तीव्र