कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोश्वारा हुलाकसँग सम्झौता गरेको छ । कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो ।

कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार कामपाबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पु¥याउन हुलाक सेवाको प्रयोग गरिनेछ । कामपाका विभाग, महाशाखा, सचिवालय, एकाइ र आयोजनाबाट चलानी हुने पत्रलाई केन्द्रीय सम्पर्क एकाइमा संकलन गरिने जनाउँदै उनले यसरी प्राप्त भएका पत्रलाई सम्बन्धित निकाय, जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइने बताए ।

‘हुलाक कार्यालयले महानगरबाट प्राप्त हुलाक वस्तु प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्ने, पठाउने वा डेलिभरी एजेन्टमार्फत सम्बन्धित प्राप्तकर्तालाई बुझाउनेछ । वितरणपछि प्राप्त हुने भर्पाइ महानगरपालिकालाई उपलब्ध गराउने र सेवाबापतको मासिक बिलसमेत पेस गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ,’ विभागका प्रमुख काफ्लेले भने ।

सम्झौताअनुसार कामपा क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘सेम डे’ (उही दिन) सेवा उपलब्ध हुनेछ । यस्तो सेवामा बढीमा दुई किलोसम्मका हुलाक वस्तु समावेश हुनेछन् । त्यसैगरी दुई किलोसम्मका पत्र वा अन्य सामानका लागि रजिस्ट्री सेवा तथा आवश्यकताअनुसार एक्सप्रेस मेल सर्भिस (द्रुत डाँक सेवा), पार्सललगायत अन्य सेवा प्रयोग गरिने काफ्लेले जानकारी दिए ।

रजिस्ट्री तथा पार्सलतर्फका वस्तु अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको प्रमुख काफ्लेले जानकारी दिए । कामपाका क्षेत्रबाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरका हकमा रजिस्ट्री सेवाअन्तर्गत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गरिने सम्झौतामा उल्लेख छ । अन्य जिल्लाका लागि प्रचलित हुलाक सेवाको डाँक सञ्चालन तालिकाअनुसार सेवा हुनेछ ।

सम्झौतामा हुलाक वस्तु हराउने, च्यातिने वा टुटफुट हुने जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले सुरक्षित प्याकेजिङ गर्नुपर्ने र हुलाक कार्यालयले प्राप्तिदेखि वितरणसम्म उच्च सावधानी अपनाउनुपर्ने उल्लेख छ । प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु कामपाको सम्पर्क एकाइमा फिर्ता हुनेछ । यो सम्झौता एक वर्षका लागि गरिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै