इलाम । इलामको रोङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिक जीवनशैली र इतिहासलाई चित्रकलामार्फत राष्ट्रियस्तरमा चिनाउन ‘रोङनेसन्स–रोङदेखि रङसम्म’ चित्रकला योजना अघि सारिएको छ । रोङ गाउँपालिका वडा नं ६ ले देही आर्ट ग्यालरी एण्ड एल्मामेटरसँगको सहकार्यमा रोङको मौलिकता चित्रमा झल्काउन लागेको हो । रोङको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई अनुसन्धान, स्थलगत अध्ययन र समकालीन चित्रकलामार्फत अभिलेखीकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको वडाध्यक्ष सत्यम राई चौरासेले बताए ।
रोङका प्राकृतिक दृश्य मात्रै होइन, त्यहाँका मानिस, संस्कृति, स्मृति, मिथक, परम्परा, स्थानीय ज्ञान र बदलिँदो ग्रामीण जीवनलाई चित्रमार्फत दस्तावेज बनाइन उनको भनाई छ । तयार हुने चित्रलाई केवल कलाकृतिका रूपमा नभई रोङको सामाजिक तथा सांस्कृतिक इतिहास बोकेका दृश्य अभिलेखका रूपमा विकास गर्ने लक्ष्य राखिएको चौरासेको भनाई छ ।

देही आर्ट ग्यालरी एण्ड एल्मामेटरसँग आबद्ध १४ जना कलाकारले स्थलगत अध्ययन तथा स्थानीय समुदायबाट संकलन भएका कथा, अनुभव, दृश्य र सूचनाका आधारमा मौलिक चित्र सिर्जना गर्नेछन् । त्यसअघि चार जनाको अनुसन्धान तथा टोलीले चार दिनसम्म रोङ गाउँपालिका–६ का विभिन्न क्षेत्रमा स्थलगत अध्ययन गर्ने र स्थानीय समुदाय, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पर्यटन व्यवसायी तथा स्थानीसँग संवाद गरी आवश्यक सामग्री संकलन गर्नेछन् ।
फोटोग्राफी, अन्तर्वार्ता, मौखिक इतिहास संकलन, दृश्य अभिलेख तथा सांस्कृतिक अध्ययनमार्फत प्राप्त सामग्रीलाई विषयगत रूपमा वर्गीकरण गरि कलाकारले रोङको वास्तविक जीवन र पहिचानलाई समकालीन चित्रकलामा उतार्ने वडाध्यक्ष चौरासेले बताए । रोङका विभिन्न प्राकृतिक तथा सांस्कृतिक गन्तव्यलाई अनुसन्धानको मुख्य क्षेत्र बनाएको छ । जिर्मले बहुसांस्कृतिक पार्क, जिर्मले सांस्कृतिक सर्किट, झण्डीडाँडा, करसोङ पदमार्ग, सलकपुर, किराँतपार्क र देवनछाप लगायतका क्षेत्रलाई अध्ययन तथा चित्र सिर्जनाको आधार बनाइनेछ ।
अनुसन्धानमा प्राकृतिक भू–दृश्य, पहाड, डाँडा, वन, कृषि क्षेत्र, जैविक विविधता, पदमार्ग, सूर्योदय तथा सूर्यास्तका दृश्यदेखि स्थानीय भौगोलिक विशेषता र प्राकृतिक स्रोतसँग जोडिएको जीवनशैलीसम्मलाई समेटिनेछ । रोङ–६ को सांस्कृतिक पहिचानमा स्थानीय जातजाति, विशेषगरी लेप्चा समुदायको इतिहास, पहिचान, भाषा, बोली, परम्परागत पोशाक, सामाजिक संरचना र सामुदायिक सम्बन्धलाई समेत अनुसन्धानको विषय बनाइएको छ ।
त्यस्तै स्थानीय संस्कार, चाडपर्व, जात्रा, धार्मिक तथा सांस्कृतिक अभ्यास, खानपान, कृषि तथा पशुपालन, स्थानीय सीप, हस्तकला, घर–बस्ती र ग्रामीण जीवनशैलीलाई समेत परियोजनाले समेट्ने चौरासेको भनाई छ । स्थानीय ज्येष्ठ नागरिक तथा ज्ञानका वाहकसँग संवाद गरी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका लोककथा, मिथक, किंवदन्ती, ऐतिहासिक घटनाका मौखिक विवरण, पुराना स्थान तथा स्थलनामसँग जोडिएका कथा संकलन गर्ने योजना रहेको छ ।
रोङको विगत मात्र होइन, वर्तमानमा भइरहेको परिवर्तनलाई समेत समेट्नेछ । परम्परागत जीवनशैलीमा आएको परिवर्तन, युवा पुस्ताको जीवन, वैदेशिक रोजगारी तथा बसाइँसराइको प्रभाव, शिक्षा तथा प्रविधिको प्रभाव र गाउँमा भइरहेको विकासलाई अनुसन्धानको विषय बनाइनेछ । यस क्रममा पुरानो र नयाँ जीवनशैलीबीचको सम्बन्ध तथा ग्रामीण समाजमा भइरहेको परिवर्तनलाई कलाकारले आफ्नै सिर्जनात्मक दृष्टिकोणबाट चित्रमा प्रस्तुत गर्नेछन् ।
रोङका प्रमुख पर्यटकीय गन्तव्यसँगै होमस्टे, ग्रामीण पर्यटन, कृषि पर्यटन, सांस्कृतिक पर्यटन, पदमार्ग तथा साइकल पर्यटनको सम्भावना चित्रमार्फत उजागर गरिने छ । स्थानीय उत्पादन र पर्यटनबीचको सम्बन्ध, पर्यटन विकासका सम्भावना तथा चुनौती र भविष्यमा रोङलाई प्राकृतिक दृश्यावलोकनमा मात्र सीमित नराखी स्थानीय मानिस, संस्कृति, खानपान, कथा, परम्परा र जीवनशैलीसँग जोडिएको अनुभवमा आधारित पर्यटन गन्तव्यका रूपमा विकास गर्नेे उदेश्य रहेको छ ।
स्थानीय रैथाने उत्पादनलाई पर्यटन प्रवद्र्धनसँग जोडिने छ । गुन्द्रुक, सिस्नो, स्थानीय चिया, सुन्तला तथा अन्य कृषि उत्पादन, स्थानीय हस्तकला र मौलिक उत्पादनलाई रोङको ग्रामीण जीवन र पर्यटनसँग जोडेर प्रचार गर्ने योजना छ । यसबाट स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै पर्यटनसँग जोडिएको स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।
रोङमा तयार भएका मौलिक चित्रलाई नेपाल कला परिषद्को प्रदर्शनी कक्षमा प्रदर्शन गर्ने वडाध्यक्ष चौरासेले बताए । प्रदर्शनीमा रोङका प्राकृतिक दृश्यसँगै स्थानीय जीवन, संस्कृति, समुदाय, मिथक, परम्परा, कृषि, पर्यटन र स्थानीय उत्पादनलाई चित्रमार्फत प्रस्तुत गरिनेछ । यसबाट काठमाडौंका कलाकार, अनुसन्धानकर्ता, सञ्चारकर्मी, पर्यटन व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणसम्म रोङको पहिचान पु¥याउने लक्ष्य रहेको उनको भनाई छ ।
रोङमा असोज ३० र ३१ गते प्रदर्शनी हुने, विर्तामोडमा मंसिर पहिलो हप्ता र काठमाण्डौमा पुस महिना भित्र प्रदर्शनी गर्ने योजना राखिएको चौरासेले बताए । रोङका पर्यटकीय गन्तव्य, अनुसन्धान, चित्र तथा स्थानीय उत्पादन समेटिएको २४ पृष्ठकोे पुस्तक प्रकाशन गरिने छ । साथै पोस्टर, फ्लेक्स, फोटोग्राफी, भिडियोग्राफी, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गरिने छ ।
कार्यक्रमको अनुमानित लागत २ लाख ५८ हजार रुपैयाँ रहेको छ । क्यानभास, रङ, एप्रोन, मास्किङ टेपलगायत कला सामग्रीका लागि ८२ हजार रुपैयाँ, २४ पृष्ठको रंगीन पुस्तिका छपाइका लागि ६० हजार, सात दिनको प्रदर्शनी हलका लागि ५६ हजार, मिडिया तथा भिडियोग्राफीका लागि ३० हजार, डिजाइन तथा प्रचार–प्रसारका लागि २० हजार र चार दिनको फिल्डवर्कका लागि १० हजार रुपैयाँ अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
डेगु नियन्त्रणमा सरोकारवालाको भूमिका महत्वपूर्ण
१५ क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
बाढीपीडितका लागि चौदण्डीगढी नगरपालिकाद्वारा ४४ लाख सहयोग
मृत्युपछि सबैले आँखा दान गरौँ : मुख्यमन्त्री कार्की
टंगालको भाटभटेनी असोज ५ देखि पुनः सञ्चालनमा आउने
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
हलेसी तुवाचुङमा भूमि प्रशासन सेवा सुरु
अवतरण गर्दा पांग्रा खुस्किएपछि सीता एयरको जहाज दुर्घटना





