काठमाडौं । काठमाडौंको टंगालस्थित भाट–भटेनी सुपर स्टोर असोज ५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोरले उक्त दिनदेखि दैनिक रूपमा नियमित सेवा दिनेछ।
आगजनीबाट क्षति भएका स्टोरमध्ये हालसम्म १२ मध्ये १० वटा पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। बाँकी दमक र हेटौंडाका स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार आगजनीबाट ठूलो क्षति भए पनि १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न दिइएन। कर्मचारीलाई रोजगारीबाट अलग नगरी पुनः सञ्चालनमा आएका स्टोरमा उनीहरूको कामलाई निरन्तरता दिइएको र दसैं बोनससमेत कटौती नगरिएको कम्पनीले जनाएको छ।
आगजनीपछि तातो खरानी, फलाम र इँटा पन्छाउँदै एक साताभित्रै पुनःनिर्माणको काम सुरु गरिएको कम्पनीको भनाइ छ। पूर्ण रूपमा जलेको कोटेश्वरस्थित स्टोरलाई आगजनी भएको पाँच महिनापछि पुनः सञ्चालनमा ल्याइएको थियो।
कम्पनीले पुनःनिर्माणका क्रममा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई प्राथमिकता दिएको जनाएको छ। पूर्ण रूपमा क्षति भएका स्टोरको पुनःनिर्माणमा ठूलो समय, स्रोत र लगानी आवश्यक भए पनि चौबीसै घण्टा काम गरेर ग्राहकलाई सेवा पुनः उपलब्ध गराउने प्रयास गरिएको कम्पनीको भनाइ छ।
यसैबीच, काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि भाट–भटेनीले ७१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाएको छ। नेपाली बालबालिकाले एउटै भवनबाट अन्तर्राष्ट्रियस्तरको उपचार सेवा पाउन सकून् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले पुनः सञ्चालनमा आएका स्टोरमा आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, पुनःनिर्माणमा सहयोग गर्ने कर्मचारी, ग्राहक, शुभेच्छुक तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
सम्बन्धित समाचार
बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५६ पुग्यो, ४ हजार ९९४ अझै बेपत्ता
नेप्से १५ अंकले घट्यो, मर्जरमा जान लागेका सिन्धु र जानकीको मूल्यमा पहिरो
अमेरिकी डलरको मूल्य बढेको बढ्यै
राहत कोषमा प्याब्सनको १२ करोड सहयोग, काठमाडौं प्यबसनबाट ४ करोड रुपैयाँ
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व






