सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ

पोखरा । सिद्धार्थ क्लब पोखराको आर्थिक वर्ष २०८३/०८४ का लागि सुनिल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।

क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका थिए।

निर्वाचन संयोजक इन्दिरा मर्सानी श्रेष्ठको संयोजनमा नयाँ नेतृत्व चयन गरिएको हो। कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले क्लबलाई सेवा, सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप प्रभावकारी बनाउने बताए। उनले पारदर्शिता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्दै समाजको आवश्यकता पहिचान गरी परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

वि.सं. २०७४ भदौ १० गते क्लबको सदस्य बनेका श्रेष्ठले अध्यक्षको जिम्मेवारीलाई पदभन्दा पनि सदस्य तथा शुभेच्छुकले दिएको विश्वास र जिम्मेवारीका रूपमा लिएको बताए।

विपद् प्रभावितलाई ५ लाख २० हजार सहयोग

सिद्धार्थ क्लबले भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि ५ लाख २० हजार ३३६ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने बताए।

बुबाको स्मृतिमा २ लाखको अक्षय कोष

अध्यक्ष श्रेष्ठले आफ्ना स्वर्गीय बुबा डिलबहादुर श्रेष्ठको स्मृतिमा बालबालिकाको शिक्षाका लागि २ लाख रुपैयाँको ‘स्वर्गीय डिलबहादुर श्रेष्ठ स्मृति अक्षय कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।

सिद्धार्थ क्लबमार्फत सञ्चालन हुने उक्त कोषबाट आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने बालबालिकालाई सहयोग गरिने जनाइएको छ। श्रेष्ठले आगामी वर्षमा कोषको रकम थप गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

क्लबको पदस्थापना समारोहमा विद्यालय पोशाक तथा स्टेशनरी वितरण, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग तथा २०८२ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो।

क्लबले आगामी कार्यकालमा बाल शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।

नयाँ कार्यसमिति
अध्यक्ष: सुनिल श्रेष्ठ
प्रथम उपाध्यक्ष: नवराज गोठाजु
द्वितीय उपाध्यक्ष: प्रकाशमान श्रेष्ठ
निर्देशक: ज्ञानेश्वर राज श्रेष्ठ
सचिव: अनिल श्रेष्ठ
कोषाध्यक्ष: मदन मुल्मी
सहसचिव: जमुना अधिकारी
सदस्य: शशी मर्सानी
सदस्य: वीरेन्द्र बाटाजू

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता