प्रस्तावित राजदूतको सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने, १३ जनाविरुद्ध सात उजुरी दर्ता

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १३ राजदूतको सुनुवाइ यही असोज २६ देखि २८ गतेसम्म गर्ने भएको छ । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

यही असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका निम्ति प्राप्ति शेरचनलाई सिफारिस गरेको थियो ।

यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको थियो ।

१३ देशका लागि राजदूतमा सिफारिस भएका व्यक्तिहरूविरुद्ध तोकिएको समयसीमाभित्र कुल ७ वटा उजुरीहरू दर्ता भएका छन् । कुल ७ वटा उजुरीमध्ये २ वटा उजुरी सबै प्रस्तावित राजदूतहरूलाई समेटेर सामूहिक रूपमा परेका छन् भने बाँकी ५ वटा उजुरी विभिन्न व्यक्तिहरूलाई छुट्टाछुट्टै लक्षित गरेर दर्ता भएका छन् ।

समितिले प्राप्त भएका उजुरीहरूलाई अध्ययन तथा छानबिनको दायरामा राखेर सुनुवाइ प्रक्रिया सुरु गरिएको सभापति बोधनारायण श्रेष्ठले बताए । उनले केही उजुरी समिति नै बनाएर छानबिन गर्ने खालको समेत रहेको बताए ।

संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूका गुनासा र प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना तथा पृष्ठभूमिको विस्तृत परीक्षण गरेपछि मात्र नियुक्तिसम्बन्धी अन्तिम निर्णय गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी