गगनलाई २ नेताको टक्कर, विश्वप्रकाश र पुष्पा निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । यीमध्ये थापा र राठौरबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । वरिष्ठ उपसभापति र महिला उपसभापति भने निर्विरोध भएका छन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले औपचारिक घोषणा गरेपछि उनीहरूको निर्विरोध निर्वाचनले औपचारिकता पाउनेछ ।

कांग्रेसको संशोधित विधानअनुसार यसपटक केन्द्रीय कार्यसमिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ । पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु-याइएको छ । नयाँ संरचनामा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र एक सहप्रवक्ता रहने व्यवस्था गरिएको छ ।

यसपटक थपिएको वरिष्ठ उपसभापति सभापतिपछिको वरीयतामा रहनेछ । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । तीन महामन्त्रीमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ । सहमहामन्त्रीको संख्या आठबाट बढाएर १५ पु¥याइएको छ ।

खुला उपसभापतिका दुई पदका लागि डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधुप्रसाद आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव गरी नौ जनाको उम्मेदवारी परेको छ । महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएकी हुन् । समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णबीच प्रतिस्पर्धा हुनेछ ।

खुला महामन्त्रीका दुई पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिलकुमार शर्मा र डा. सन्तोष उपाध्याय उम्मेदवार छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनालबीच प्रतिस्पर्धा हुनेछ ।

१५ सहमहामन्त्रीका विभिन्न क्लस्टरमा पनि उम्मेदवारी परेको छ। खुलातर्फ देवेन्द्रराज कँडेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदी, महिलातर्फ प्रतिमा गौतम, खस–आर्यतर्फ मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदीश्वरनरसिंह केसी तथा पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही र मीन भाम उम्मेदवार छन् ।

आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, थारूतर्फ तेजुलाल चौधरी र योगेन्द्र चौधरी, दलिततर्फ लक्ष्मी परियार, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र नरेन्द्र पासवान, मधेशीतर्फ अभिषेकप्रताप शाह, मुस्लिमतर्फ अब्दुल सत्तार र अल्पसंख्यकतर्फ आङगेलु शेर्पाको उम्मेदवारी परेको छ ।

संशोधित विधानले केन्द्रीय सदस्यको संख्या पनि बढाएको छ । खुला केन्द्रीय सदस्य ४५, महिला खुला १५ तथा प्रदेश, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, पिछडिएको क्षेत्र, जनसम्पर्क समिति, श्रमिक, पेशागत विज्ञ, युवा, अपांगता भएका व्यक्ति र प्रजातन्त्र सेनानीका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था पनि छ । यसपटक ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै