काठमाडौं उपत्यकामा वायु प्रदूषणवारे चिन्ता, भरपर्दो जानकारीमा ठूलो खाडल

काठमाडौं । ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकाका १ हजार २ सय बासिन्दामाझ गरेको सर्वेक्षणले वायु प्रदूषणप्रति जनचासो उच्च रहे पनि वायु गुणस्तरसम्बन्धी भरपर्दो जानकारीमा पहुँच कमजोर रहेको देखाएको छ।

सन् २०२६ मा स्थापना भएको गैरनाफामूलक संस्था ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि अनुसन्धान, वायु गुणस्तर निगरानी र प्रमाणमा आधारित समाधान प्रवद्र्धन गर्दै आएको जनाएको छ। संस्थाको शुभारम्भसँगै सर्वेक्षणको निष्कर्ष सार्वजनिक गरिएको हो।

सर्वेक्षणअनुसार ८१.२ प्रतिशत उत्तरदाताले काठमाडौं उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रहेको बताएका छन्। तर, वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांकभन्दा गन्ध, दृश्यता र आँखामा हुने जलनजस्ता आफ्नै इन्द्रियमा भर पर्ने गरेका छन्।

समग्रमा ५२.३ प्रतिशतले आफ्नो स्थानीय वायु गुणस्तरलाई खराबदेखि अति खराब रहेको मूल्याङ्कन गरेका छन्। ललितपुरमा यस्तो धारणा राख्नेको संख्या ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६ प्रतिशत रहेको छ। उत्तर काठमाडौंमा भने यो दर ३५.९ प्रतिशत छ।

सर्वेक्षणले वायु गुणस्तरसम्बन्धी जानकारी हासिल गर्ने क्षमतामा शिक्षाको स्तरअनुसार ठूलो अन्तर रहेको देखाएको छ। प्राथमिक शिक्षा वा सोभन्दा कम शिक्षा भएका १०.८ प्रतिशतले मात्रै वायु गुणस्तर जाँच्न जान्ने बताएका छन् भने स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गरेका ६३ प्रतिशतले वायु गुणस्तर जाँच्ने जानकारी रहेको बताएका छन्।

युवा पुस्तामा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति बढी देखिएको छ। १८ देखि २४ वर्ष उमेर समूहका वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने उत्तरदातामध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने बताएका छन्। तर, यो क्रमशः उक्त उमेर समूहको १४.१ प्रतिशत र १० प्रतिशतमा मात्र सीमित रहेको सर्वेक्षणले देखाएको छ।

वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा ९८.६ प्रतिशतले मोटर सवारी साधन तथा यातायातबाट निस्कने धुवाँलाई औंल्याएका छन्। त्यस्तै, ९४.८ प्रतिशतले सडक निर्माणबाट उत्पन्न धूलोलाई प्रमुख प्रदूषकका रूपमा पहिचान गरेका छन्।

वायु प्रदूषण नियन्त्रणका लागि संस्थागत उपायप्रति पनि जनसमर्थन देखिएको छ। ७९.९ प्रतिशत उत्तरदाताले सार्वजनिक यातायात विस्तार र विद्युतीय गतिशीलतालाई समर्थन गरेका छन् भने ७१.५ प्रतिशतले कडा धूलो नियन्त्रण र सहरी हरियाली प्रवद्र्धनको पक्षमा मत दिएका छन्। तर, ७०.४ प्रतिशतले वायु प्रदूषण न्यूनीकरणका लागि सरकारको प्रयासप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

व्यक्तिगत सुरक्षाका विषयमा ८२ प्रतिशतले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन्। यद्यपि, ४३.४ प्रतिशतले वायु प्रदूषणबाट जोगिन आफूले कुनै व्यक्तिगत उपाय नअपनाएको बताएका छन्।

सर्वेक्षणले वायु प्रदूषणका कारण काठमाडौं उपत्यका छाड्ने सोचमा समेत प्रभाव परेको देखाएको छ। उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई त्यसको एउटा कारण बताएका छन्। आर्थिक दबाब तथा महँगीलाई ४७.८ प्रतिशतले प्रमुख कारण मानेका छन्।

ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले सर्वेक्षणले वायु प्रदूषण’bout जनचासो र भरपर्दो सूचनाबीच ठूलो खाडल रहेको देखाएको बताइन्।

उनका अनुसार अधिकांश बासिन्दाले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक रहेको बुझे पनि आफूले श्वास फेर्ने हावाको वास्तविक अवस्था बुझ्न वैज्ञानिक तथा आधिकारिक तथ्यांकमा सहज पहुँच पाउन सकेका छैनन्।

संस्थाले आगामी चरणमा काठमाडौं उपत्यकाभरि वायु गुणस्तरसम्बन्धी अनुसन्धान विस्तार गर्ने, सहज रूपमा बुझ्न सकिने डेटा प्लेटफर्म विकास गर्ने र वायु गुणस्तरसम्बन्धी जनचेतना तथा साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसको उद्देश्य नागरिकलाई भरपर्दो जानकारी उपलब्ध गराई प्रदूषणको स्तर बुझ्न, सचेत निर्णय लिन र वायु गुणस्तर सुधारका प्रयासमा सहभागी हुन सहयोग गर्नु रहेको संस्थाले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालय समयमै वडासचिव निदाएको तस्वीर भाइरल