चितवन । भोटेकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ ।
गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो ।
यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात मात्रै बुक भएको बताए । उनले भने, ‘सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन् ।’
वर्षाका कारण पुनः बाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकलाई भएको उनको अनुमान छ । यससँगै भोटेकोशी र बूढीगण्डकी बाढीका कारण धेरै जनधनको क्षतिका कारण नेपालीले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उनको भनाइ छ ।
अबका दिनमा क्रमशः पर्यटक बढ्ने उनले अपेक्षा व्यक्त गरे । भोटेकोशी बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उनले बताए । नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको अनुमान छ ।
होटल व्यवसायी सुमन घिमिरे आज शुक्रबार भएकाले अब क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताउँछन् । उनले भने, ‘अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ ।’
शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उनले भने, ‘दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ ।’
विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा भइनसकेको उनले बताए । अब पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन हुने उनी बताउँछन् । उनले भने, ‘पर्यटक बढेपछि क्रमशः बढ्ने र उच्च विन्दुमा पुगेर तल झर्ने गर्दछ ।’
होटल भिष्टाका सञ्चालक रमेश सिलवाल दसैँसँगै आन्तरिक पर्यटक आउनेमा आफूहरु आशावादी भएको बताउँछन् । दसैँको समयमा विदेशी पर्यटक केही आएको उनले बताए । भारतीयसहित अन्य देशबाट पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उनको भनाइ छ ।
व्यवसायी विदेशी पर्यटकको संख्या अब बढ्नेमा विश्वस्त छन् । भोटेकोशी बाढीको समयमा वर्षापछिको याम भएकाले धेरै पर्यटकको बुकिङ भए पनि रद्द हुँदा ठूलो नोक्सानी व्यवसायीहरुले व्यहोरेका थिए ।
वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपाने दसैँको समयमा आफ्नो होटल विदेशी पर्यटकले भरिएको बताउँछन् । उनले भने, ‘गएको तीन दिन मेरो होटल विदेशी पर्यटकले भरिएको छ ।’ जर्मन, डेनमार्क, बेल्जियम, अष्ट्रेलियन र अमेरिकन आएको उनी बताउँछन् ।
स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उनले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी भएको बताए । भोटेकोशी बाढीपछि रोकिएका पर्यटक आउन थालेको उनले बताए । उनले भने, ‘जति नेपाल आएका छन् विगतमा जस्तैगरी उनीहरु सौराहा पनि आउन थालेका छन् ।’
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक धेरैजसो सौराहा बस्ने गर्दछन् । यससँगै भरतपुरको पटिहानी, जगतपुर, मेघौलीलगायत क्षेत्रमा ती पर्यटक बस्ने गर्दछन् । तिनै क्षेत्रबाट हात्ती, जिप, डुंगा, पैदल निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्न उनीहरु रुचाउँछन् । एकसिंगे गैँडा, पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई सफारी पर्यटनमा एक नम्बर मानिन्छ । यहाँ थारु संस्कृति हेर्न पनि पर्यटक आउने गर्दछन् ।
सम्बन्धित समाचार
मन्त्रिपरिषद बैठक बस्दै
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु, चार हजार ७२० जना बेपत्ता
कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौं महानगरपालिकाले भन्यो– ‘कात्तिक १, ३ र ४ गते घरबाट फोहोर बाहिर ननिकाल्नू’
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै






