वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए । यसरी बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड र एनएमबि बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । कृषि विकास बैंकले १ अर्ब १ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

अधिकांश बैंकको नाफा बढ्दा केहीको घट्यो

२० वाणिज्य बैंकमध्ये १० वटाले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नाफा वृद्धिका हिसावले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार उल्लेख्य देखिएको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको ५८ करोड ८७ लाख रुपैयाँबाट बढाएर १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकको नाफा पनि ५७ करोड ३८ लाखबाट बढेर १ अर्ब ९ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ । यद्यपि, सबै बैंकको नाफा बढेको छैन। प्राइम कमर्सियल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबि बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ ।

अन्य बैंकमध्ये सिद्धार्थ बैंकले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, हिमालयन बैंकले ६८ करोड ४८ लाख र लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, प्रभु बैंकले ६४ करोड ७४ लाख, नेपाल एसबीआई बैंकले ५५ करोड ८५ लाख, माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख र एनआईसी एशिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैनः राजेन्द्र लिङ्देन