धनगढीको ‘गौशाला मोडल’ : छाडा चौपाया व्यवस्थापनसँगै दूध र मल बिक्रीबाट आम्दानी

धनगढी । सडकमा छाडिने चौपाया स्थानीय तहका लागि व्यवस्थापनको चुनौती बन्दै गएका छन् । सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै यातायात र सर्वसाधारणको आवागमनमा समेत समस्या हुने गरेको छ । तर, कैलालीको धनगढी उपमहानगरपालिकाले भने यही समस्यालाई आम्दानी र रोजगारी सिर्जना गर्ने अवसरका रूपमा विकास गर्ने प्रयास थालेको छ ।

समुदाय र स्थानीय सरकारको सहकार्यमा सञ्चालित गौशालाहरूले छाडा चौपाया व्यवस्थापनसँगै दूध तथा गोबर बिक्रीबाट आम्दानी गर्न थालेका छन् । गोबरबाट जैविक मल उत्पादन र बिक्री गर्ने अभ्यासले गौशालालाई आत्मनिर्भर बनाउने सम्भावना देखाएको छ । यसले चौपाया व्यवस्थापनलाई खर्चिलो दायित्व मात्र नभई आम्दानीको स्रोत बनाउन सकिने उदाहरणसमेत प्रस्तुत गरेको छ ।

केही वर्षअघिसम्म सडक, बजार र खेतबारीमा छाडा चौपायाको समस्या झेल्दै आएको धनगढीमा पछिल्लो समय यसको प्रभाव घट्दै गएको छ । समुदायको सहभागितामा गौशाला सञ्चालनमा आएपछि सडकमा चौपायाको संख्या घट्नुका साथै किसानलाई बालीनाली जोगाउन सहज भएको छ ।

धनगढी उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा चारवटा गौशाला सञ्चालन गरिरहेको छ । उपमहानगरपालिकाका अनुसार वडा नम्बर ३ को विशालनगर, वडा नम्बर ७ को देवहरिया, वडा नम्बर १६ को बेहडाबाबा र वडा नम्बर १८ को फूलबारी (ई गाउँ) मा गौशाला सञ्चालनमा छन् । तीमध्ये तीनवटा उपमहानगरपालिकाले र एउटा धार्मिक संस्थाले सञ्चालन गरिरहेका छन् ।

चारवटै गौशालामा गरी करिब एक हजार दुई सय चौपाया राखिएका छन् । बिरामी तथा अशक्त चौपायाको स्याहारसम्भारका लागि छुट्टै व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी–१८ फूलबारीस्थित ‘हाम्रो गौशाला’मा मात्रै ३६० चौपाया छन् । स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालित यस गौशालाले छाडा चौपाया व्यवस्थापनसँगै किसानको बालीनाली जोगाउन राहत दिएको छ । स्थानीयवासीले गौशालाका लागि घाँस, पराल र भुसा सहयोग गर्दै आएका छन् । पछिल्लो समय जन्मदिन तथा अन्य अवसरमा चौपायाका लागि आहारा दान गर्ने चलनसमेत बढ्दै गएको छ । ‘पहिले बाली जोगाउन रातदिन हेरालु बस्नुपथ्र्यो। अहिले गौशाला बनेपछि छाडा चौपायाबाट हुने क्षति रोकिएको छ,’ स्थानीय सोमनाथ खतिवडाले भने ।

गौशाला सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३४ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम हेरालुको तलब, आहारा खरिद तथा मर्मतसम्भारमा खर्च भइरहेको पशु शाखा प्रमुख डा. समीरकुमार ठाकुरले जानकारी दिए ।

धनगढीका फूलबारी र बेहडाबाबास्थित गौशालाले चौपाया व्यवस्थापनसँगै आम्दानीका स्रोतसमेत पहिचान गरेका छन् । फूलबारीस्थित गौशालाले दैनिक करिब १३ लिटर दूध बिक्री गर्दै आएको छ । त्यस्तै, गोबर बिक्रीबाट मात्रै वार्षिक दुई लाखदेखि साढे दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

गोबरबाट जैविक मल उत्पादन तथा बिक्रीलाई व्यवस्थित बनाउन उपमहानगरपालिकाले फूलबारी र बेहडाबाबाका दुवै गौशालालाई विद्युतीय मेसिन उपलब्ध गराएको छ । मेसिनको प्रयोगबाट गोबरलाई जैविक मलमा रूपान्तरण गरी आम्दानी बढाउने प्रयास भइरहेको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले समुदायको सहभागितामा गौशाला सञ्चालन गर्दा छाडा चौपायाबाट हुने क्षति कम गर्न ठूलो सहयोग पुगेको बताइन् । तर, छिमेकी पालिकाबाट समेत चौपाया ल्याएर धनगढी क्षेत्रमा छाड्ने गरिएकाले समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उनको भनाइ छ । यसका लागि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा चौपाया व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनले बताइन ्।

कैलाली र कञ्चनपुरका अधिकांश पालिकामा अझै पनि छाडा चौपाया व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहेको छ। सडक दुर्घटनाको जोखिम र बालीनालीमा हुने क्षति कायमै छ ।

यस्तो अवस्थामा समुदायको सहभागिता, स्थानीय तहको लगानी र चौपायाबाट प्राप्त दूध तथा गोबरको व्यावसायिक उपयोगमा जोड दिएको धनगढीको ‘गौशाला मोडल’ अन्य पालिकाका लागि पनि अनुकरणीय बन्न सक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

चेसका आईएम र जीएम हामी कहिले बनाउँछौं ?