बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याएकी छन् ।
सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकी छन् ।
प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको थियो ।
संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार उक्त घटनामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाएकी छन् । बङ्गलादेशले पटकपटक सुपुर्दगी मागे पनि भारतले उनलाई हस्तान्तरण गरेको छैन ।
एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै उनले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको बताएकी छन् । स्वदेश फर्किएपछि आफू गिरफ्तार, यातना वा हत्याको जोखिममा पर्न सक्ने उनको भनाइ छ ।
हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो । गत फेब्रुअरीमा भएको निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आएका थिए । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।
हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएको तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेको आरोप लगाएकी छन् ।
उनले देशमा सामान्य राजनीतिक तथा लोकतान्त्रिक वातावरण नरहेको दाबी गरेकी छन् । सरकारले भने पक्राउका घटनामा कानुनी आधार रहेको बताउँदै आएको छ ।
विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनुपर्ने अवस्था नरहेको बताउँदै हसिनाले बङ्गलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गरेकी छन् ।
अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसङ्ख्यकमाथिको धम्कीप्रति चिन्ता जनाउँदै आएका छन् । युनुस नेतृत्वको अन्तरिम सरकारले भने यस्ता आरोप अस्वीकार गरेको थियो । वर्तमान सरकारले बिग्रँदो कानून तथा व्यवस्थाको अवस्थालाई लिएर आलोचना खेपिरहेको छ ।
सम्बन्धित समाचार
म्याराडोनाको मृत्यु मुद्दाको फैसला २२ डिसेम्बरमा
फ्रान्समा आजको प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते
युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ
भारतमा चक्रवात अर्नबले निम्त्यायो विपत्ति, ८९ हजार विस्थापित
इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा
नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा, नयाँ सरकार गठन अनिश्चित
अमेरिकी कंग्रेसमा डेमोक्रेटको अग्रता, राष्ट्रपति ट्रम्पद्वारा पराजय स्वीकार






