काठमाडौँ । चितवन राइनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा नौ विकेट गुमाएर १४३ रन बनायो ।
चितवनले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराएर फाइनलमा स्थान बनाएको हो ।
टस जितेर ब्याटिङ रोजेको चितवनले ओपनर कामिल मिशाराको अविजित शतकको मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो । त्यसपछि रिजन ढकाल र उसामा मिरले सात विकेट बाँड्दै काठमान्डुलाई लक्ष्यसम्म पुग्न दिएनन् । ढकालले चार ओभरमा १६ रन खर्चेर चार विकेट लिए भने मिरले चार ओभरमा १५ रन दिएर तीन विकेट हात पारे । कुशल मल्ल र सलाउद्दिन खानले एक–एक विकेट लिए ।
काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ३७ रन बनाए । साहिल पटेल दोस्रो ओभरमै आउट भएपछि बोसिस्टोले साम हिजलेटसँग दोस्रो विकेटका लागि २५ रन र राशिद खानसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । त्यसपछि लगातार विकेट गुमाएको काठमान्डु ९२ रनमा छ विकेट गुमाउने अवस्थामा पुग्यो ।
सहान अराचिगेले १३ बलमा २४ रन बनाए । दसौँ नम्बरमा ब्याटिङ गरेका भीम सार्कीले १७ बलमा तीन छक्कासहित अविजित ३० रन जोडे ।
सम्बन्धित समाचार
दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
सन्दीप लामिछानेको ह्याट्रिकसहित एकै खेलमा ६ विकेट
एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो
चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी
एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य
एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?






