दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली

सुर्खेत । दशौं राष्ट्रिय खेलकुदको उद्घाटन सुरु हुन २३ दिन मात्रै बाँकी रहँदा कर्णाली प्रदेश यसको भव्य स्वागतको तयारीमा जुटेको छ । प्रतियोगिताको सह–आयोजक तथा व्यवस्थापकसमेत रहेको कर्णाली प्रदेश सरकारले प्रदेशका सम्पूर्ण संयन्त्र परिचालन गरेर तयारी अघि बढेको जनाएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रदेश सरकारका तर्फबाट प्रतियोगिता व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए । ‘प्रतियोगितासंग हाम्रो इज्जत, प्रतिष्ठा जोडिएको छ, यसलाई सफल बनाउन प्रदेश सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ, उनले भने, ‘आवश्यकताअनुसार थप जनशक्ति र स्रोतसाधन परिचालन गर्न कुनै कन्जुस्याई हुने छैन् ।’

कर्णालीले नेपाली खेलकुदको यो विशाल उत्सवमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा पाहुनाको स्वागत र सत्कारदेखि प्रतियोगिताको सिंगो व्यवस्थापन कसरी गर्छ ? भन्ने चासोका साथ हेरिएको छ । प्रतियोगिताको मुख्य केन्द्र रहने वीरेन्द्रनगर नगरपालिकाले पनि तयारीलाई तीव्रता दिएको छ । नगर प्रमुख मोहनमाया ढकाल नगरपालिकाले सडक सुरक्षा, सरसफाइ, सहरको सौन्दर्यीकरण र पर्यटकीय स्थलको व्यवस्थापनमा ध्यान केन्द्रित गरेको बताइन् । ‘आफ्नो आँगनमा हुन लागेको राष्ट्रिय खेल उत्सवलाई नगरवासीले गौरवको विषयका रूपमा लिनुपर्छ र आवश्यक सहयोग गर्नुपर्छ,’ ढकालले भनिन् । प्रतियोगिताको सफल सञ्चालनका लागि नगरपालिकाले तयारी र व्यवस्थापनका सबै पक्षमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ ।

प्रतियोगितालाई राष्ट्रियस्तरमा चिनाउन कर्णालीबासीले प्रचार–प्रसारका विभिन्न माध्यम अपनाएका छन् । कर्णालीबासीले विभिन्न माध्यमबाट प्रतियोगिताको प्रचार–प्रसारसमेत सुरु गरेका छन् । सञ्चारमाध्यमले प्रतियोगिता सुरु हुन बाँकी दिनको गणना गर्दै समाचार तथा सामग्री प्रकाशन र प्रसारणलाई प्राथमिकताका साथ सामग्री तयार गरिरहेका छन् । खेलकुदसँग सम्बन्धित गीत, प्रचार सामग्री र सामाजिक सञ्जालमार्फत पनि दशौं राष्ट्रिय खेलकुदको माहोल भव्य बन्दै गएको छ ।

प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । औपचारिक उद्घाटन १६ गते हुने भएपनि आवास व्यवस्थापनलाई मध्यनजर गर्दै मंसिर ८ गतेदेखि खेल प्रतियोगिता सञ्चालन हुने भएका छन् । खेलाडी, प्रशिक्षक र पदाधिकारीको आवास, खाना, यातायात, स्वास्थ्य तथा सुरक्षाको व्यवस्थापनसँगै उद्घाटन समारोहमा करिब १० हजार दर्शकको उपस्थिति रहने बताइएको छ ।

प्रतियोगिताको मूल आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा ३२ खेल समावेश गरिएका छन् । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहित ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका खेल सुर्खेतसहित दैलेख, सल्यान र रुकुम पश्चिममा सञ्चालन गरिनेछ । केही खेल भने लुम्बिनी प्रदेशका बाँके र बर्दियामा हुनेछन् । खोखोका महिला तथा पुरुष प्रतियोगिता बर्दियाको भुरीगाउँमा र टेनिस बर्दियामै सञ्चालन हुनेछ । सुटिङ र पौडी नेपालगञ्जमा हुनेछन् ।

प्रतियोगिताको तयारीका लागि गठन गरिएका १४ वटा उपसमितिमध्ये कर्णाली प्रदेशले सुरक्षा, आवास व्यवस्थापन, खेलस्थल व्यवस्थापन र स्वास्थ्य गरी चारवटा उपसमितिको नेतृत्व पाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले प्रतियोगिताको प्राविधिक तयारी तीव्र पारिएको बताए । उनका अनुसार प्रदेशले खेलाडी छनोट गरी बन्द प्रशिक्षणको तयारी सुरु गरिसकेको छ । खरिद प्रक्रिया र खेलमैदान व्यवस्थापनका काम पनि अघि बढाइएको छ ।

प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडी सहभागी हुनेछन् । आवास तथा खाना व्यवस्थापन उपसमितिले वीरेन्द्रनगरका होटल तथा होमस्टेसँगै छिञ्चु र गुराँसे क्षेत्रका होटलसमेत उपयोग गर्ने गरी तयारी गरिरहेको छ । उपसमितिले सुर्खेतमा हालसम्म ४ हजार ८२६ बेड आवास क्षमता पहिचान गरेको छ । उपसमितिका संयोजक समेत रहेका कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले होटल व्यवसायीसँग समन्वय गरी आवास व्यवस्थापनमा हुन सक्ने कमजोरी न्यूनीकरण गर्न निरन्तर तयारीमा जुटिरहेको बताए ।

यसैबीच, प्रतियोगितामा सहभागी खेलाडी, पाहुना, दर्शक लगायतको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य उपसमितिले पनि तयारी अघि बढाएको छ । उपसमितिका संयोजक एवं प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले प्राथमिक उपचारदेखि आकस्मिक उपचारसम्मका लागि स्वास्थ्यकर्मी, शैया र एम्बुलेन्स तयारी अवस्थामा राखिने जानकारी दिए ।

एक हजार बढी सुरक्षाकर्मी परिचालन हुने

प्रतियोगिताको सुरक्षाका लागि १ हजार १२६ सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । सुरक्षा उपसमितिका संयोजक एवं कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताका लागि १८ प्रकारका जिम्मेवारी निर्धारण गरी सुरक्षाकर्मी परिचालन गरिनेछ । सबैभन्दा बढी ३२१ जना कार्यक्रमस्थलको सुरक्षामा खटिनेछन् । त्यस्तै १४८ जना रिजर्भ र ९४ जना स्ट्यान्डबाइ टोलीमा रहनेछन् । कमान्ड पोस्टमा ६८, अनुगमनमा ५०, पिकेटमा ६२, ट्राफिक व्यवस्थापनमा ४९, मोबाइल गस्तीमा ४३, पैदल गस्तीमा ३६ र चेकपोइन्टमा ५२ जना परिचालन गरिनेछ ।

त्यस्तै, प्रवेशद्वार, निकासद्वार, स्ट्राइकिङ, नागरिक सहायता कक्ष र सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइनेछ । ड्रोन, केनाइन र वाटर क्यानन परिचालनका लागि १० जनाको छुट्टै टोली बनाइनेछ । सुरक्षामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल परिचालन हुनेछ । कमान्ड पोस्टमा नेपाली सेनाको समेत उपस्थिति रहनेछ । सुरक्षा व्यवस्थापनका लागि २४सै घण्टा कमाण्ड पोस्ट सञ्चालन गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली