काठमाडौं । गायक प्रकाश सपूतले आफ्नो नयाँ गीतमा छुवाछूत र अन्य नाममा मानिसबीच हुने विभेदविरुद्ध आवाज उठाएका छन् । उनले शुक्रबार रिलिज गरेको ‘मान्छे मान्छे एउटै हो, छैन बीचमा कुनै बार…’ गीतमा यस्तो आवाज उठाएका छन् ।
लकडाउनपछि उनको यो पहिलो गीत हो । लकडाउनले ल्याएको तनाव कम गर्न र सामाजिक सन्देश दिन यो गीत आफूले ल्याएको उनले बताएका छन् । गीतको भिडियोमा पनि लकडाउनको तीन महिना बसाइले दिक्क भएको र अहिले यो गीत गाएपछि आफू कही मात्रामा भए पनि तनावमुक्त भएको उल्लेख गरेका छन् । गीतको भिडियोमा प्रकाश सपूतले सामाजिक कार्य गरेको देखाइएको छ ।
उनको यो नमस्कार शीर्षकको लोक पप गीतमा प्रकाशले शब्द रचना र संगीत सिर्जना गरेका हुन् । गीतको भिडियोमा पनि गायक प्रकाश नै नायक रूपमा प्रस्तुत भएका छन् । भिडियोमा प्रकाशसँगै विराज थापा, किरण मगरको अभिनय रहेको छ । यो भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।
गीतको भिडियोलाई गायक प्रकाशले आफ्नै च्यानलबाट आज रिलिज गरेका हुन् । भिडियोमा नृत्य कलाकार कविता नेपालीले पनि नृत्य छ । भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन भने र अनिल के मानन्धरको यसमा छायांकन रहेको छ ।






