जारको पानीको मूल्य बढाइयो

काठमाडौं । सरकारले पहिलो पटक उपभोक्तालाई मर्का पर्ने गरी प्रशोधित पिउने पानीको मूल्य निर्धारण गरेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सर्वसाधारण उपभोक्तालाई अत्यधिक मर्कामा पार्ने गरी प्रशोधित पिउने पानीको मूल्य निर्धारण गरेको हो । प्रशोधित पिउने पानी जारमा अधिकतम ५० रुपैयाँ र बोतलको हकमा प्रतिबोतल १६ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

जारको पानीमा विभागले बजारमा कारोबार भइरहेको भन्दा झन्डै २० रुपैयाँ बढी राखेर अधिकतम खुद्रा बिक्री मूल्य ५० रुपैयाँ निर्धारण गरेको हो । बोलतको पानी भने अधिकांश कम्पनीले २० रुपैयाँ मूल्यसूची राखी बिक्री वितरण गर्ने गरेका छन् । बोतलको पानीमा भने ४ रुपैयाँ घटाएर अधिकतम बिक्री मूल्य १६ रुपैयाँ निर्धारण गरिएको छ ।

सरकारले पानी जस्तो अत्यावश्यक वस्तुमा बजारमा चलेको मूल्यभन्दा बढी निर्धारण गर्नु उपभोक्ताको हितविपरीत भएको उपभोक्ताकर्मीको भनाइ छ । अहिले बजारमा २५ देखि ३५ रुपैयाँमा जारको पानी पाइन्छ ।

प्रशोधित पिउने पानी जारमा अधिकतम ५० रुपैयाँ र बोतलको हकमा प्रतिबोतल १६ रुपैयाँ मूल्य निर्धारण गरिएको छ

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा २५, ३० र ४० रुपैयाँमा उपभोक्ताको घरमै आइपुग्ने जारको पानीको मूल्य अधिकतम ५० रुपैयाँ निर्धारण गर्नु आम उपभोक्ताको हितविपरीत भएको बताए । विभागले पानीको गुणस्तर हेर्नुपर्ने समयमा मूल्य बढाएर उपभोक्तालाई मारमा पारी व्यापारी पोस्ने काम गरेको उनको भनाइ छ ।

उनले भने, ‘बजारलाई सन्तुलित गर्न कुनै पनि वस्तुको लागतका अधारमा मूल्य कायम गर्नु सही हो तर अहिले जुन मूल्य विभागले निर्धारण गरेको छ, त्यो उपभोक्ताका लागि न्यायोचित छैन । बजारमा चलिरहेको मूल्यलाई नै आधार मानेर ४० रुपैयाँसम्म निर्धारण गरिएको भए केही हदसम्म ठीकै हुन्थ्यो । ५० रुपैयाँ भनेको धेरै हो ।’

खाद्य ऐन २०२३ ले तोकेको मापदण्ड पूरा नगरेका पानी उद्योगहरू अहिले खुलेआम सञ्चालित छन् । ती उद्योगले गुणस्तरहीन र स्वास्थ्यलाई प्रतिकूल असर पार्ने पानी उत्पादन गरिरहेकाले त्यसलाई रोक्नेतर्फ विभाग लाग्नुपर्ने उनको भनाइ छ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विभागले अहिले पानीको मूल्य बढाउनु उपभोक्ताको अधिकारविपरीत भएको बताए । उनले कुनै अध्ययनबिना पानीको मूल्य निर्धारण गरिएको भन्दै मूल्य फिर्ता हुनुपर्ने बताए

विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा गठित अध्ययन कार्यदलले उपत्यकाका विभिन्न पाँच स्थानका २१ वटा पानी उद्योगको स्थलगत निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार पारेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एसोसिएसनका महासचिव ध्रुवबहादुर गौतम र विभागका निरीक्षण अधिकृत ध्रुव खनाल सदस्य रहेको कार्यदलले दिएको सुझावअनुसार विभागले पिउने पानीको मूल्य बढाएको हो ।

अध्ययन कार्यदलले पिउने पानीको उत्पादन लागत, प्रतिस्पर्धी बजारको मूल्य विश्लेषण र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार राईको संयोजत्वमा गठित समितिले तोकेको पानीको एमआरपीलाई समेत आधार लिई नयाँ मूल्य तोकिएको विभागले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले प्रशोधित पिउने पानीको उत्पादन र बिक्री वितरण कार्यलाई सुव्यवस्थित गरी उपभोक्ताले सुलभ तरिकाले सुपथ मूल्यमा जार तथा बोटलका प्रशोधित पिउने पानी प्राप्त गर्न सकून् भन्ने उद्देश्ले पानीको अधिकतम मूल्य निर्धारण गरेको बताए ।

उनले पानी उद्योगहरूको स्थलगत निरीक्षण तथा पानीको जार र बोतलको मूल्य निर्धारण सम्बन्धमा कार्यदलले पानी उद्योगहरूको उपलब्ध सूचीलाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रवाट ४÷४ उद्योग नमुनाका लागि छनोट गरी २१ वटा उद्योगको स्थलगत निरीक्षण गरेर मूल्य निर्धारण गरेको बताए । पानी उद्योगहरू छनोट गर्दा ठूला, मझौला र साना उद्योगलाई छनोट गरेर नमुना लिइएको हो ।

महानिर्देशक सुवेदीका अनुसार पानी उद्योगको निरीक्षण पछि २३ साउन समितिका संयोजक सागर मिश्रको संयोजकत्वमा बसेको बैठकले प्रशोधित पानीको जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ र बोतलको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ निर्धारण गरेको हो ।

महानिर्देशक सुवेदीले पानीको मूल्य र गुणस्तरका विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन विश्वासयोग्य भएको र नयाँ मूल्य तोक्ने विषय व्यावहारिक र व्यापारिक दुवै हिसाबले सही रहेको दाबी गरे ।

उनले जारमा कम्पनीको मूल्य २०, डिस्ट्रिब्युटरको मूल्य ३५, खुद्रा मूल्य ४० र अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ रहेको बताए । बोतल प्रतिकार्टुन कम्पनी मूल्य ११० डिस्ट्रिब्यूटरको मूल्य १३०, खुद्रा मूल्य १५० र प्रतिबोतल १६ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 1,377 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?