नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज हिन्दू महिलाको महŒवपूर्ण पर्व हो । यस वर्ष यही भाद्र ५ गते परेको तीज कोरोना महामारीका कारणले हर्षोल्लासपूर्वक सार्वजनिक स्थल र देवस्थलमा रमाइलो गरी मनाउन नसकिने भएको छ । सामाजिक सञ्जाल र विद्युतीय सामाग्रीबाट चित्त बुझाउनुपर्र्ने भएको छ । हिन्दू धर्मग्रन्थअनुसार पुत्री पार्वतीले पिता हिमवत्ले आफ्नो विवाह विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि साथीसंगीको सहायता लिएर घनघोर जंगलमा गई ‘महादेव पति पाऊँ’ भनी कठोर तपस्या गरिन् । महादेव खुसी भएर ‘तथास्तु’ भनी स्वीकार गरेको दिनको सम्झनामा यो चाड मनाउने गरिएको भनाइ छ । पार्वतीको मनोकांक्षा पूरा भएको दिन भाद्र शुक्ल पक्ष तृतीया थियो । यही दिन महिलाले शिव–पार्वतीको पूजा–आराधाना गरी तीज मनाउने चलन चलेको छ ।
हरितालिका भनिने यो पर्वको ‘हरित’को अर्थ ‘अपहरित’ र ‘आलिका’को अर्थ ‘साथी’ दुवै मिलाएर हरितालिका बन्न गएको हो । भारतको उत्तराखण्ड र नेपालको तराई भूभागमा तीजलाई विभिन्न नामले पुकारिन्छ । यो तीनदिनसम्म भव्य रूपमा मनाइन्छ । तीजको पहिलो दिन दिदीबहिनी माइती घरमा जम्मा हुने, दर खान,े भक्तिभावपूर्ण गीतका साथै आफ्ना व्यक्तिगत दुःख, घरपरिवार एवं समाजबाट भएका विभेद, दमन, अपहेलना, दुव्र्यवहारजस्ता मनका दुःख, व्यथा–पीडा गीतको माध्यमबाट पोख्ने गर्दछन् । दोस्रो दिन दिनभर निराहार र निर्जल व्रत बस्दछन् । महादेवको मन्दिरमा जाने, शिवलिंगमा पूजाआराधाना गर्ने र पति तथा परिवारको सुस्वास्थ्य, दीर्घायुका साथै सुखसमृद्धिको कामना गर्ने गर्दछन् । यस दिन दिनभर गीत गाउने र नाच्ने गर्दछन् ।
यसपछिको तेस्रो महŒवपूर्ण दिनलाई ऋषि पञ्चमी भनिन्छ । यस दिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित राखी सप्तर्षि–पत्नी अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ)को पूजा गर्ने गर्दछन् । यो पूजा गर्नाले रजस्वला भएको बेलामा कसैसँग छोइएको भए त्यो पापबाट मुक्त भइने विश्वास गरिन्छ । वर्ष दिनको एकपटक माइती परिवार र साथीसंगी भेट भएर खुसीसाथ गीतको माध्यमबाट घरपरिवार, सासू, नन्द, छरछिमेक आदिले गरेका दुव्र्यहारलाई गीतको माध्यमबाट अभिव्यक्त गर्ने अवसरका रूपमा लिइन्छ ।
मेला र चाडपर्वका पछाडि धार्मिक, सांस्कृतिक मूल्यमान्यता र मानव हितकारी सन्देश छिपेका हुन्छन्
सामजिक रूपमा वर्षायामको समाप्तिसँगै आउने तीज पर्वमा घरबाट धेरै टाढा विवाह भएर गएका छोरीचेली माइती घरमा जुट्न, परिवारजनमा आत्मीयता अभिवृद्धि गर्न, मित्रभाव बढाउन, इष्टमित्र, नाताकुटुम्ब, साथीसंगीसँग पुनर्मिलन गराउन, मनका दुःख, पीडा, वेदना पोखेर मन हलुका बनाउन यो पर्वलाई एउटा महŒवपूर्ण अवसरका रूपमा लिइएको छ । पारिवारिक र सामाजिक सम्बन्ध सुदृढ गर्नुका साथै विकृति, विसंगति हटाउन र स्वस्थ समाज निर्माण गर्न समेत यस पर्वले मद्दत गर्छ । परम्परादेखि चलनचल्तीमा रहेका पोसाक र गरगहना लागाएर दिनभर उपवास बसी पूजाआजा गर्दा शरीर स्वस्थ रहने, मन शुद्ध हुने र मानसिक शान्ति प्राप्त हुने हुन्छ । वैदिक कालदेखि चल्दै आएका सामाजिक–सांस्कृतिक मूल्य–मान्याता र आदर्शलाई कायम राख्दै जीवनोपयोगी बनाउनसमेत मद्दत गर्दछ । यो अवधिमा शुद्ध आहार, शुद्ध पोसाक, शुद्ध शरीर, शुद्ध मन र वचन राखिन्छ । अन्तर्मनदेखि नै शुद्ध र मुक्त रहने हुनाले महिलाहरूको तनावलाई यसले कम गर्दछ ।
जीवन र जगत्लाई हेर्ने दुई भिन्न आध्यात्मिक र भौतिकवादी दृष्टिकोण छन् । अध्यात्मवादीले अदृश्य शक्ति वा ईश्वरमा विश्वास गदर्छन् भने भौतिकवादीले यथार्थ वा विज्ञानमा विश्वास गर्दछन् । यस प्रसंगमा तीज पर्वको महŒवलाई धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक रूपमा विश्लेषण गर्नुपर्ने देखिएको छ । जैविक वा लैंगिक बनावटका आधारमा मात्र पुरुष र महिलामा फरक देखिन्छ । तथापि, पितृसत्तात्मक सोचका कारण पौराणिक कालदेखि महिलालाई अलग स्थान दिइएको पाइन्छ । शारीरिक बनावट र प्राकृतिक रूपमा हुने महिनावारीका आधारमा समेत अझै महिला प्रताडित हुनुपरेको अवस्था छँदै छ ।
लैंगिक विभेद चर्को छ । वर्गीय आधारमा हेर्दा हुनेखाने र उपल्लोवर्ग र जातमा यो चाडबाडको रौनकता विशेष खालको पाइन्छ भने गरिब तथा निम्नवर्गमा उत्तिको रौनकता देखिँदैन । तडकभडक, तामझामका साथ गरगहना र महँगा लुगाको प्रदर्शन गर्ने र पुगिसरी नहुनेलाई गिज्याउने पर्वका रूपमा विकास हुन थालेको छ । पारिवारिक बेमेल, विखण्डन, झैझगडा, आर्थिक रूपमा बिचल्ली पार्ने अवस्था सिर्जना नगरी सांस्कृतिक सौन्दर्यका आधारमा विकास हुनुपर्नेमा आधुनिकताका नाममा नांगिदै र सांस्कृतिक रूपमा स्खलित हुँदै गएको आभास भएको छ ।
तीजलगायत सबै पर्वलाई पुँजी र फेसनसँग जोडेर यसको मौलिकतामा प्रहार गरिनु वास्तवमा वैचारिक एवं सांस्कृतिक औपनिवेशीकरण हो । धनसँग जोड्दा चाडपर्व सीमित सम्भ्रान्तको पेवा बन्न जाने डर पनि उत्तिकै छ । तीज यसबाट अछुतो छैन । उपभोक्तावादी संस्कृति निकै हाबी छ । अर्कोतिर सारीचोलोको सट्टा छोटा लुगा र छिल्लिएका केटाकेटीको उच्छृंखल क्रियाकलापले बजार लिएको पाइन्छ । केटाको हात नसमाइकन नाँच नहुने दोहोरीबिनाको त तीज गीत नै नहुने प्रचलन बढ्दै जाँदा तीजको पवित्रता हरण हुँदै गएको छ । वैदिक कालमा यस्तो थिएन र पूर्वीय संस्कृति एवं दर्शनमा पनि स्वीकार्य छैन । महिला देवी हुन् तर कालान्तरमा लिंगवादी अवधारणाको विकासले विकृति र विसंगतिलाई मलजल ग¥यो । फलतः राम्रा पक्ष सबै ओझेलमा पर्दै गइरहेका छन् । नारीहरूले आधुनिकताका नाममा आफू नांगिदै गएको पत्तो पाएका छैनन् ।
परम्परागत रूपमा चलनचल्तीमा रहेका मेला र चाडपर्वका पछाडि धार्मिक, सांस्कृतिक मूल्यमान्यता र मानव हितकारी सन्देश छिपेका हुन्छन् । स्वस्थ, अनुशासित र सभ्य समाज सिर्जना गर्ने ध्येयले आदिम कालदेखि सञ्चालन हुँदै आएका पर्वको आफ्नै महŒव छ । यी पर्वले विशेष सन्देश प्रवाह गरेका हुन्छन् । शरीर र मनको सन्तुलन शारीरिक र मानसिक स्वस्थताका लागि हो । यो सामाजिक सुव्यवस्थाका लागि पनि अपरिहार्य छ । तर, यस्तो धार्मिक एवं सांस्कृतिक प्रचलनलाई निषेध वा आलोचनाभन्दा पनि परिमार्जन र सामयिक सुधारको आवश्यकता छ ।
यसलाई हाम्रो सांस्कृतिक मौलिकतासहित लैंगिक, आर्थिक, जातीय विभेद अन्त्य गरी अपन्वत्वबोध हुने चाडका रूपमा विकसित गर्नु आवश्यक छ । तब मात्र हिन्दू संस्कृति स्वस्थ, जीवन्त र अनुकरणीय बनाउन सक्छौं । चाडपर्व आउँदा मानिसमा आउनु पर्ने खुसी ऋण बोझ र देखासिकीका कारण हराउने हुनुहुँदैन । आर्थिक रूपमा भड्किलो नहुने, परिवार एवं समाजमा सद्भाव, माया, प्रेम, स्नेह र सदाचार सुदृढ हुनेगरी मनाउने पद्धतिमा परिमार्जन गर्नुपर्छ । यसलाई हर्षोल्लासका साथ मनाउने सबै जात–धर्म, भाषा–भाषी तथा धनी–गरिबको साझा पर्वका रूपमा सबैले सहज रूपमा ग्रहण गर्ने वातावरण सिर्जना गर्ने कार्यमा शिक्षित, सचेत नारीहरूका साथै सांस्कृतिक अभियन्ता लागिपर्नुपर्छ ।






