विदेशबाट फर्कनेलाई होटलमै महँगो शुल्क

काठमाडौं । सरकारले पाँचौं चरणको चार्टर उद्धार उडानमार्फत विभिन्न मुलुकबाट स्वदेश फर्कने कामदारलाई सात दिनसम्म राख्नका लागि निकै महँगो पर्ने गरी होटललाई क्वारेन्टिन बनाएको छ । यस्तो चार्टर उद्धार उडानमा फर्कने कामदारले अब विदेशबाटै आफू बस्ने होटल बुकिङ गर्नुपर्नेछ ।

जसअनुसार विदेशबाट स्वदेश फर्कने हवाई यात्रुले तोकिएका पर्यटकीय स्तरकादेखि ठूला पाँचतारे होटलमा महँगो शुल्क तिरेर क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । लामो समयदेखि विदेशमा नै अलपत्र पर्दै आएका कैयौं कामदार आर्थिक अभावमा छन् । तर, होटलमा बस्न एउटा कोठाको प्रतिदिन न्यूनतम १ हजार ८ सयदेखि ९ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएपछि उनीहरू थप समस्यामा पर्ने भएका छन् ।

कोरोनाका कारण भएको जागिर गुमेर विभिन्न मुलुकमा अलपत्र भई स्वदेश फर्किएका कामदारहरू सरकारले तोकेको क्वारेन्टिन होटलमा अनिवार्य रूपमा एक साता बस्नुपर्नेछ । त्यसरी बस्नुपर्दा उनीहरूले हवाई उडानबाहेक थप होटल बुकिङ खर्चको भार पनि खेप्नुपर्ने भएको छ । हाल सरकारले तोकेको होटलखर्चमा सबैभन्दा कम पर्यटक स्तरीय होटलको एउटा कोठामा दुई जना मिलेर बस्दा पनि न्यूनतम प्रतिव्यक्ति १८ सय रुपैयाँ थप आर्थिक भार खेप्नुपर्नेछ ।

स्वदेश फर्किएर क्वारेन्टिन होटलमा बस्नेहरूका लागि सरकारले सबैभन्दा सस्तो पर्यटक स्तरीय होटलको कोठा बुकिङ गर्दा एक जना मात्र बस्न प्रतिदिन प्रतिव्यक्ति २८०० रुपैयाँ र दुई जना मिलेर बस्दा प्रतिव्यक्ति १८०० रुपैयाँ शुल्क तोकेको छ । यसैगरी, एक तारे होटल तथा रिसोर्टमा बस्नेहरूका लागि कोठा बुकिङ गर्दा एक जना मात्र बस्न प्रतिव्यक्ति ४ हजार रुपैयाँ र दुई जना मिलेर बस्दा प्रति व्यक्ति २५०० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ ।

–महँगो होटललाई क्वारेन्टिन बनाउँदा समस्या
– दैनिक १८ सयदेखि ९ हजार रुपैयाँसम्म होटललाई बुझाउनुपर्ने
–सस्तो होटलमा बस्नेले पनि सातामा १२ हजार ६०० तिनुपर्ने

दुई तारे होटलमा बस्नेहरूकालागि एकजना मात्र बस्न हरेक दिन प्रतिव्यक्ति ५ हजार रुपैयाँ र दुई जना मिलेर बस्दा प्रतिव्यक्ति ३५०० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ । तीन तारे डिलक्स होटलमा बस्नेहरूका लागि एक जना मात्र बस्न हरेक दिन प्रतिव्यक्ति ६ हजार रुपैयाँ र दुई जना मिलेर बस्दा प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क तिनुपर्ने गरी शुल्क निर्धारण गरिएको छ ।

चारतारे होटलमा बस्नेहरूका लागि एक जना मात्र बस्न प्रतिव्यक्ति ८ हजार रुपैयाँ र दुई जना मिलेर बस्दा प्रतिव्यक्ति ५ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । त्यसैगरी, पाँचतारे सांग्रिला होटलमा बस्नेहरूले प्रतिव्यक्ति ९ हजार रुपैयाँ र दुई जना मिलेर बस्दा प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

हाल उद्धार गर्न लागिएका धेरै व्यक्तिहरू विदेशमा लामो समय बेखर्ची हुँदै आएका हुन् । उनीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गई अहिले फर्कने बेला सबै प्रक्रिया पुगेका कामदारका लागि हवाई भाडा वैदेशिक रोजगार कल्याण कोषकै रकमबाट तिरिदिने भनिए पनि होटल खर्च पनि तिर्न नसक्केहरूका लागि सरकारले नै तिरिदिनु पर्ने यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाले बताएका छन् ।

सम्बन्धित सरोकारवालाका अनुसार अहिले सबैभन्दा सस्तो होटलमा एक साता एउटै कोठामा दुईजना मिलेर बस्नेहरूले पनि प्रतिव्यक्ति हरेक दिन न्यूनतम १८ सय बुझाउँदा एक साताको १२ हजार ६ सय थप आर्थिक भार खेप्नुपर्ने भएकाले अलपत्र हुनेहरूलाई होटल खर्च पनि थप समस्या बन्ने देखिएको छ ।

विभिन्न चरणमा गरी चौथो चरणसम्मको उद्धार उडानबाट सरकारले ५१ हजार ९ सय जनालाई स्वदेश ल्याएको छ भने अझै लाखौं नेपाली उद्धारको पर्खाइमा छन् । विभिन्न मुलुकमा अलपत्रमध्ये सबैभन्दा धेरै खाडी मुलुकमा रहेका छन् ।

सरकारले विदेशमा अलपत्र कामदारको उद्धार उडान सुरु गरेलगत्तै विभिन्न होटल क्वारेन्टिनहरूको सूची सार्वजनिक गरेको हो । जसमा पाँचतारेदेखि सामान्य पर्यटकीय स्तरका होटलहरू रहेका छन् ।

बढ्दो संक्रमणका बाबजुत यसरी उद्धार उडानबाट ल्याएकाहरूलाई जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय र पर्यटन विभागले पठाएको क्वारेन्टिन प्रयोजनार्थ होटलहरूको विवरणअनुरूप जिल्ला प्रशासन कार्यालय काठमाडांैले विभिन्न होटलहरूको सूची प्रकाशन गरेको हो ।

पछिल्लो पटक सरकारले निर्धारण गरेको नयाँ मापदण्डअनुसार विदेशबाट स्वदेश फर्किनका लागि दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौंका विभिन्न तोकिएका होटलहरूमध्ये आफूलाई पायक पर्ने र आफूले पैसा तिर्ने दर रेटमा होटल बुकिङ गर्न सक्नेछन् ।

फर्कनेका लागि विशेष मापदण्ड
यसअघि गत ३२ साउनमा उद्धार उडान रोक्ने निणर्य गरेको सरकारले अहिले पुनः चार्टर उद्धार उडानलाई सञ्चालन गर्ने दिने निणर्य गरेको हो । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हवाई मार्गबाट स्वदेश आउने अलपत्र नेपालीका लागि विशेष मापदण्डसमेत निर्धारण गरेको छ । सरकारले पछिल्लोपटक निर्धारण गरेको मापदण्डअनुसार अब हवाई मार्गमार्फत विभिन्न मुलुकबाट स्वदेश आउनेहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि एक सातासम्म अनिवार्य तोकिएको होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । सरकारले तोकेको होटलमा बस्दाको खर्च भने स्वयं व्यक्तिले नै बेहोर्नुपर्नेछ ।

यसैगरी, विदेशबाट स्वदेश फर्कनेहरूको सूची त्यस देशमा रहेको दूतावासले तोकेबमोजिम हुनेछ । अहिले पाँचौं चरणको उद्धार उडानका लागि सरकारले एक दिनमा बढीमा तीनवटा उडानसम्म मात्रै उडान अनुमति दिने निर्णय गरेको छ ।

यसअघि गत सोमबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चार्टर उद्धार उडान रोक्ने निर्णय गरेको थियो । सो निर्णयका कारण ३२ साउनमा दुबई गएको नेपाल वायुसेवा निगमको विमान विमानस्थलमा छिरिसकेका अलपत्र कामदार नलिईकन खाली फर्किएको थियो । तर, सोही दिन टर्कीको स्तानबुलबाट भने विदेशी वायुसेवा टर्किस एयरलाइन्सले २०१ जना यात्रु लिएर आएको थियो । यसैगरी, बिहीबार पनि बंगलादेशबाट चार्टर उडानबाट यात्रु ल्याइएको थियो ।

चौतर्फी दबाबपछि बल्ल सरकारले गत सोमबार बोडिङ पास लिएर पनि रिक्तै आएको निगमको विमानबाट आउन नपाएकाहरूलाई पुनः आगामी आइतबार ल्याउने निणर्य गरेको छ । त्यसदिन सोही उडानका लागि काठमाडौंबाट दुबई गएको निगमको विमानले २३५ जना यात्रु र १५ टन कार्गो लिएर उडेको थियो । निगमकी प्रवक्ता अर्चना खड्काले सो उडानबाट नेपाल आउन नपाएका अलपत्र नेपालीलाई लिन निगमको विमान आइतबार पुनः दुबई जान लागेको जानकारी दिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेर आउन नपाएका यात्रु ल्याउन लागिएको हो ।

अहिले सरकारले हवाई उडानसँगै तोकेका १० वटा स्थलगत नाकाबाट स्वदेश आउने नागरिकलाई पनि सम्बन्धित नाकामा रहेका स्थानीय होटलमा अनिवार्य सात दिनसम्म बस्नुपर्ने नयाँ मापदण्ड तोकेको छ । जसअनुसार विभिन्न १० वटा तोकिएका स्थलगत नाकाबाट आउनेहरूले पनि एक सातासम्म स्थानीय होटलमा अनिवार्य रूपमा बस्नैपर्ने र कोरोना परीक्षण गराउनुपर्नेछ । स्थलगत मार्गबाट आउनेहरूले पनि अब होटल बस्दाको सबै खर्च व्यक्ति आफैंले बेहोर्नुपर्ने छ । नसक्नेहरूको हकमा भने सम्बन्धित स्थानीय समितिले व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ ।

१६ भदौबाट अन्तर्राष्ट्रिय उडान खुल्ने
चौतर्फी विरोधपछि सरकारले आगामी १६ भदौबाट भने नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुलाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाका अनुसार नियमित व्यावसायिक उडानमा सहभागी हुनेहरूले ७२ घण्टाको कोरोना परीक्षणमा पिसिआर नेगेटिभ भएको रिपार्ट अनिवार्य रूपमा बुझाउनुपर्नेछ । यसैगरी, विभिन्न मुलुकबाट नेपाल आएपछि अनिवार्य रूपमा एक साता सरकारले तोकेको होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

होटल बस्दाको सबै खर्च यात्रु आफंैले बेहोर्नुपर्नेछ । नियमित व्यावसायिक उडान खुलेको पहिलो चरणमा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, नयाँ दिल्ली, युरोप तथा अमेरिकालगायतका देशमा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी उडान भर्ने सहमति भएको छ । तर, यी गन्तव्यमा दैनिक एउटा मात्र उडान भर्ने सहमतिसमेत भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति