सिन्धुपाल्चोक । वर्षाेदेखि खानेपानी नहुँदा समस्यामा रहेको लिसंखुपाखर गाउँपालिका–४ का स्थानीयले अब भने खानेपानीको सुविधा पाउने भएका छन् ।
लिसंखुपाखर गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको सिक्रे अत्तरपुर खानेपानी आयोजनाकोे शिलन्यास भएसँगै अबको केही महिना भित्रै स्थानीयले खानेपानी सुविधा पाउने भएका हुन् । संघीय सरकारको विशेष अनुदान,स्थानीय पुर्वाधार साझेदार कार्यक्रम अन्र्तगत १ करोड ४६ लाख ३५ हजार र प्रदेश प्रदेश सासंद अरुण नेपालको सासंद विकास कोषको ५० लाख सहित झण्डै २ करोड रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
वृहत्त खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष कमल नेपालले औपचारिक रुपमा शिलान्यास गरेसँगै स्थानीयको लामो समयदेखिको खानेपानी अभावबाट मुक्त हुने भएका हुन् । खानेपानी आयोजनाबाट वडा नम्बर ४ का २ सय २५ घरधुरीका १४ सय ३५ स्थानीयले खानेपानी सुविधा पाउँने अध्यक्ष नेपालले जानकारी दिए ।
खानेपानी आयोजनाबाट गाउँपालिका आसपासका नयाँ बस्ती,पाग्रे पुरानो बस्ती,सिक्रे पुरानो बस्ती र पात्लेका स्थानीयले सुविधा पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले जानकारी दिए । गाउँपालिकाले सुरु गरेको एक घर एक धारा कार्यक्रम अन्र्तगत यो आयोजना पछि खानेपानीको समस्या यी बस्तीहरुमा सधैको लागि अन्त्य हुने अधिकृत दुलालले जानकारी दिए ।
लिसंखुपाखर वडा नम्बर ४ को सिक्रे,धुपिचौर मुहानबाट २ किलोमिटर पाइप गाडेर बस्तीसम्म खानेपानी पु¥याइने गाउँपालिकाका इन्जिनियर कपिल श्रेष्ठले जानकारी दिए । ग्राभेटी सिस्टममा सुरु गर्न लागीएको खानेपानी आयोजनामा २० हजार लिटरका दुइ,१० हजार लिटरको एक,६ हजार लिटर को एक र ५ हजार लिटर क्षमताको एउटा ट्याङकी मार्फत उपभोक्ताहरुलाई खानेपानी वितरण गरिने श्रेष्ठले जानकारी दिए । ठेक्का प्रक्रिया मार्फत निर्माण सम्पन्न गरिने आयोजना आगामी चैत महिना भित्र सम्पन्न हुने श्रेष्ठले जानकारी दिए ।






