सप्तरी । हराएको एक्लो छोरालाई दुई वर्षपछि आखै अघि देख्दा ३२ वर्षीया सलामुल नेशाको खुशीको सीमै थिएन । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय सिरहामा केही समय त आमा छोराबीच खुशीको रुवाबासी नै चल्यो ।
आठ वर्षको उमेर छदा हराएका रैयाज अहिले १० वर्षका पुगिसकेका छन् । सप्तरीस्थित सेतु समुदायिक विकास तथा मानवअधिकार मञ्च नामक संस्थाको सक्रियतामा रौतहट जिल्ला यमुनामाई गाउँपालिका १ जेठरिया निवासी आमाछोरा बीच २ वर्षपछि पुनः मिलन सम्भव भएको हो ।
भारतको दिल्लीबाट फर्केकी बिहार राज्यको सुपौल जिल्ला डगमारा ग्राम पंचायत निवासी आभाराम र सुपौल जिल्लाकै बाल कल्याण एवं संरक्षण समितिको सहयोगमा सो संस्थाले भारतबाट उद्दार गरि परिवारमा पुनः स्थापना गराएको हो ।
सोही संस्थाको पहलमा छोरालाई जिम्मा लिएको औपचारिक कागज गर्न जिल्ला प्रहरी कार्यालय पुगेकी सलामुल नेशाले आँखाबाट खुशीको आँसु झार्दै भनिन्, ‘हामीले खोजतलास धेरै गरे पनि नभेटिएर निरास भएका थियौं, अहिले छोरा भेटिएपछि खुशीको सीमा छैन् ।’ रैयाज सलामुल नेशाको एक्लो सन्तान हुन् ।
बिछोडको पीडा धेरै सहे, उनले भनिन्, ‘हराएको छोरासँग भेट गराइदिने संस्था र सहयोगिहरु मेरो लागि भगवान सरह हुन् ।’ ८ वर्षको उमेरमा रैयाज गाउँबाट हराएका थिए । उनलाई गाउँकै सद्दाम हुसैन भन्ने व्यक्तिले ललाई फकाई भारतको दिल्ली पु-याएको बालकका आफन्तको भनाई छ । बालकका आफन्तले सद्दाममाथी मानव बेचबिखन तथा ओसारपोसार र मानिस वेपत्ता अन्तरगत कारवाही चलाउन माँग गर्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
प्रहरीले सद्दामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जनाएको छ । रैयाजले गाउँकै ३० वर्षीय सद्दाम हुसैनले ललाई फकाई आफूलाई भारतको दिल्ली पु-याएको बताए छन् । पहिलेदेखी चिनजान रहेका सद्दाम अंकलले दिल्ली घुम्न जाउँ, त्यहाँ पैसा पनि पाइन्छ भन्दै प्रलोभन देखाएपछि आफू घरमा कसैलाई जानकारी नै नगराई उनीसँग हिडेको बालक रैयाजले सुनाए ।
दिल्ली पुगेपछि एउटा झोला बनाउने कारखानामा पु-याएर सद्दाम अंकल हिडे, बालक रैयाजले भने । त्यहा बस्दा धेरै काम गर्नुपर्ने, कुटाई खानु पर्ने हुनथालेपछि भागेर दिल्ली रेलवे स्टेशन पुगेको बेला डगमारा ग्राम पंचायतिकी आभाराम भन्ने आंटीसँग भेट भएको र उनले सोधपुछ गरेपछि सबै बृतान्त सुनाएको बालक रैयाज बताउँछन् ।
आफू नेपालमा घर भएको तथा ठेगाना भने बिर्सेको बताएपछि राम आंटीले सीमा क्षेत्रमा ल्याई भारतकै सुपौलस्थित बाल कल्याण संरक्षण समितिमा राखिदिएको उनको भनाई छ । उक्त बाल कल्याण संरक्षण समितिका पदाधिकारी सुधिरकुमार मण्डल र बब्लुकुमार पासवानले बालकको फोटोसहितको विवरण मानव तथा बाल अधिकार क्षेत्रमा कार्यरत सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च सप्तरीलाई पठाई ठेगाना पत्ता लगाइदिन सहयोगका लागि अनुरोध गरेपछि संस्थाका अध्यक्ष जंगबहादुर सिंह, महिला तथा बालबालिका प्रमुख आभासेतु सिंह भारत गई बालकलाई भेटेका थिए ।
बालकले घर नेपाल भएपनि स्पष्ट ठेगाना भन्न नसक्दा आफ्नो जिम्मामा ल्याई प्रहरी समेतको सहयोगबाट ठेगाना पत्ता लगाएर अभिभावकको जिम्मा लगाइएको अध्यक्ष सिंहको भनाई छ । उनले आमाछोरा भेटाउन माध्यम बनेकोमा निकै आत्मसन्तुष्टि मिलेको बताए ।
जिल्ला प्रहरी कार्यालयमा संस्थाका अध्यक्ष सिंह महिला विभागकी प्रमुख आभासेतु सिंह, यमुनामाई गाउँपालिका १ का वडाअध्यक्ष नन्दलाल राय यादव, कोक्याप काठमाडौंका प्रतिनिधि राजहंश कुमार लगायतको उपस्थितिमा बालकलाई आमाको जिम्मा लगाइएको छ ।






