काठमाडौं । सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ ।
सञ्चारसम्बन्धि नीति र कानून निर्माणमा सञ्चार उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका गर्ने उद्देश्यले एलाईन्स स्थापना गरिएको हो ।
एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको मिडिया एलाइन्स नेपालकाे उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल रहेका छन् । महासचिवमा इमेज च्यानल प्रालिका सीईओ लक्ष्मण हुमागाई, कोषाध्यक्षमा इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सीईओ उज्जवल शर्मा रहेका छन् ।
सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सीईओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सीईओ समृद्धि ज्ञवाली छन् । यस्तै सल्लाहकारमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका विनोद ज्ञवाली छन् ।
सञ्चार उद्यमीको लगानी संरक्षणमा पहल गर्ने उद्देश्यले सञ्चार उद्यमीहरुको साझा संस्थाको रुपमा एलाईन्स स्थापना गरिएको हो । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यमीहरुको हकहित संरक्षण, सञ्चार उद्यममा देखा परेका समस्याको एकिकृत समाधान गर्दै, तटस्थ, निष्पक्ष र जनउत्तरदायी समाजको निर्माणमा एलाईन्स सक्रिय रहने छ ।







