बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद

उदयपुर । जिल्ला अदालत उदयपुरले बालिका र महिला बलात्कारीलाई कैद र जरिवानाको फैसला गरेको छ । अदालतले बालिका बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा थुनामा रहेका १८ वर्षीय युवकलाई १३ वर्ष कैद र १५ हजार जरिवाना तथा महिला बलात्कार अभियुक्तलाई ११ वर्ष कैद र ५० हजार जरिवानाको सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश दीपक खनालको एकल इजालसले झण्डै ४ महिना अघि १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परी पुपक्र्षका लागि थुनामा रहेका कटारी नगरपालिका– ७ का १८ अनिलकुमार दनुवारलाई १३ वर्ष कैदसँगै जरिवाना र भरणपोषणको सजाय सुनाएको हो । अदालतले दनुवारबाट ५ हजार जरिवाना तथा पीडितलाई क्षतिपूर्ति वापत १५ हजार भरणपोषण गर्न समेत फैसला सुनाएको छ । त्यस्तै अपराध पीडित संरक्षण कोष २०७५ को दफा ७१ बमोजिम प्रतिवादीबाट पीडितलाई राहत कोषमा २ हजार २ सय रुपैँया समेत जम्मा गर्न अदालतको आदेश छ ।

अदालतका तहसिलदार राजकुमार आचार्यका अनुसार गत जेठ १८ गते घरमै रहेकी बालिकालाई बिभिन्न प्रलोभन देखाई स्थानीय धमिनी गाउँ लगेर बलात्कार गरेको आरोपमा दनुवार पक्राउ परेको थियो । पीडितका अभिभावकले दिएको उजुरीका आधामार दनुवारलाई इलाका प्रहरी कार्यालय कटारीले जेठ २० गते पक्राउ गरेको थियो । सोही दिन कटारी अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गर्दा उनी बलात्कृत भएको प्रमाणित भएको थियो ।

प्रहरी कारबाही र अनुसन्धानपछि दनुवारलाई अदालतले पुर्पक्षका लागि असार १० गते थुनामा राख्ने आदेश दिएको थियो । त्यस्तै महिला माथि सामुहिक बलात्कारका अर्का अभियुक्त उदयपुरगढी गाउँपालिका– १ तावाश्रीका ४५ वर्षीय लोकबहादुर घतानीलाई ११ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश खनालकै इजालसले ४८ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका घतानीलाई सो सजायको फैसला सुनाएको हो ।

अदालतले फरार आरोपितलाई पटक–पटक उपस्थित हुन पत्रचार गर्दा समेत नआएपछि कसुरदार ठहर गर्दै यस्तो फैसला सुनाएको हो । उनीसँगै अभियोगमा मुछिएका अर्का अभियुक्त ताप्ली गाउँपालिका– ५ का ४५ वर्षीय भागिराम परियारलाई भने यस अघि ०७५ बैशाख ५ गते नै १० वर्ष कैद सजायको फैसला सुनाइएको तहसिलदार आचार्यले बताए । उनका अनुसार क्षतिपुर्तिको हकमा भने आर्थिक रुपमा बिपन्न परिवारका परियारबाट असुलउपर गर्न नसकिने देखिएपछि कैद मात्र तोकिएको थियो । उनीबाट जरिवाना वापत भराउनु पर्ने ३० हजार रुपैंया महिला तथा बालबालिका कार्यालयबाट पीडितलाई भराउने आदेश अदाललते दिएको छ ।

अभियुक्तद्वयले ०७३ पुस १४ गते सामुहिक महिला माथि बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीले कारबाही अघि बढाएको थियो । पुस २० गते पीडितको तर्फबाट परेको उजुरी अनुसार कारबाही अघि बढे पनि घतानी भने घट्ना लगत्तै फरार रहेको छ । अदालतले दुबै मुद्धाको एकै दिन फैसला सुनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 436 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा जिल्ला अधिवेशन : कतै शान्तिपूर्ण, कतै झैझगडा र विवादले स्थगित