आधा शताब्दीकै अधिक वर्षा

पोखरा । पोखरामा सन् २०२० मा आधा शताब्दीयताकै अधिक वर्षा भएको छ । यो वर्षको सेप्टेम्बर अन्त्यसम्मको वर्षात् ५० वर्षयताकै अधिक वर्षा हो । सन् २०२० सकिन अझै ३ महिना बाँकी छँदा अझै वर्षा हुने निश्चित छ । त्यतिमात्र हैन वर्षभरिकै अधिक वर्षासहित मनसुनी वर्षा र सेप्टेम्बरमा भएको वर्षा पनि सन् १९७१ यताकै सबैभन्दा बढी भएको रेडर्क छ ।

जल तथा मौसम विज्ञान कार्यालय, पोखराका प्रमुख वरिष्ठ मौसमविद् राजारामप्रसाद ढकालले भने, ‘हामीसँग सन् १९७१ देखि हालसम्म ५० वर्षसम्म भएको वर्षाको रेकर्ड छ । ती रेकर्ड हेर्दा यो वर्ष सन् २०२० मा भएको वर्षाले ३ रेकर्ड ब्रेक गरेको हो ।’

जसअनुसार सन् २०२० को जनवरीदेखि सेप्टेम्बर २६ सम्म ५ हजार ५९ मिलीमिटर भएको छ । यो ५० वर्षभरिकै अत्यधिक वर्षा हो । मनसुनी वर्षामात्रै ४ हजार ३ सय ९६ मिमि भएको छ । मनसुनी वर्षा हालसम्मको कुल वर्षा तुलनामा ८० प्रतिशत हुन आउँछ ।

यसअघि सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिमी वर्षा भएको रेकर्ड छ । त्यसबेला मनसुनी वर्षा ३ हजार ९ सय २० मिमी भएको थियो ।

पोखरामा सन् २०१९ मा ३ हजार ९२ मिमी र मनसुनी वर्षा २ हजार ८३ भएको थियो भने अघिल्लो वर्ष सन् २०१८ मा वर्षभरि २ हजार ९ सय ३४ मिमी र मनसुनी वर्षा २ हजार १ सय ६३ मिमी वर्षा भएको थियो । नेपालमा मनसुन जुन १० देखि भित्रिएर सेप्टेम्बर २३ सम्म (१२० दिन) रहने गर्दछ ।

साथै, सेप्टेम्बर महिनामा मात्रै भएको वर्षा ५० वर्षयताकै एक महिनाको अधिक वर्षा हो । वरिष्ठ मौसमविद् ढकालका अनुसार २६ दिन अवधिमा १ हजार ३ सय ५ मिमि वर्षा भएको हो । यसअघि सन् २००७ को सेप्टेम्बरमा १ हजार १ सय ८६ मिमि वर्षा भएको रेकर्ड थियो ।

पोखरामा सामान्यतया मनसुनी समय सेप्टेम्बरमा सरदर ६ सय ४० मिमि वर्षा हुने गर्दछ । यसपालि सरदर हुने वर्षाको दोब्बर अर्थात १ हजार ३ सय ५ मिमि वर्षा भएको हो । अझ केही दिन मनसुन कायम रहेकोले यो बढ्न सक्ने अनुमान छ । सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन सकिने भए पनि यस वर्ष बढेको हो । अझै केही दिन मनसुनी वर्षा हुने हावापानी तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले जानकारी दिए ।

यसपालि भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको हुँदा अधिक वर्षा भएको मौसमविद् बताउँछन् । मौसमी वायु उत्तर–पूर्व सरेको छ । अझै केही दिन पूर्वी भेगमा वर्षा हुने पूर्वानुमान छ ।

कास्कीको लुम्ले नेपालकै चेरापुञ्जी मानिन्छ । यहाँ नेपालमै सबैभन्दा बढी पानी पर्छ । पोखरामा शुक्रबार साँझमात्रै करिब १३ मिमी वर्षा भएको थियो । वर्षाका कारण पोखराका सडकहरु जलमग्न भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको उच्च जोखिम