काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २ जना छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेमा कास्कीका २, नवलपुरका २ र तनहुँका १ जना रहेका छन् ।
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार मृत्यु हुनेमा पोखरा–५ का ५५ वर्षीय पुरुष, पोखरा–१५ की ७८ वर्षीया महिला, नवलपरासी गैंडाकोट नगरपालिका–५ का ७३ वर्षीय पुरुष र नवलपरासी कावासोती २ का ७७ वर्षीय पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ५० वर्षीय पुरुषको निधन भएको हो ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् । शनिश्चरे–३ मोरङका पुरुष गत कातिक १ गते संक्रमण पुष्टि भइ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
उनलाई डाइबिटिजसम्बन्धी दीर्घरोग रहेको थियो । उनले आइतबार १० बजे निधन भएको हो । उता, धरान–१७ की महिलालाई आइतबार संक्रमण पुष्टि भएको थियो । उनलाई हाइपर टेन्सनको समस्या रहेको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ५३ पुगेको छ ।






