काठमाडौं । प्रदेश १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टिमले गर्न सक्ने बताएका छन् ।
निर्वाचन अभियानअन्तर्गत बिहीबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उनको टिमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारलाई स्वागत गरेका थिए । सो कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भीमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।
‘बिहीबार धरानको भेडेटारमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका अधिकांश जिल्ला तथा नगरअध्यक्षले ढकाल प्यानललाई स्वागत तथा जितको अग्रिम बधाइ दिएका थिए । कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षले भने, ‘ढकाल प्यानलसँग हाम्रो मन र एजेन्डा मिलेकाले समर्थन र सहयोग गरेका छौं, तसर्थ सोटिमलाई जिताउन हृदयदेखि नै सबैसँग आग्रह गरेका छौं ।’
साथै यसअघिका अध्यक्षले उद्योगी व्यवसायीका समस्या पर्दा फोनसमेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रूपमा भेट दिँदै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दैै आएकाले आफूमाथि ढकाल प्यानललाई जिताउनुपर्ने दायित्व रहेको बताएका थिए । कार्यक्रममा जिल्ला नगरका अध्यक्षले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै विदेशी लगानी भित्र्याउन पनि ढकाल नेतृत्वको टिम आवश्यक रहको बताएका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले महासंघमा शुद्धीकरण र सुदृढीकरण नभई कुशल नेतृत्वको आवश्यकता परेको भन्दै जसका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टिम आवश्यक रहेको बताए । साथै अहिलेको महासंघ नेतृत्वले सरकारसँग लबिङ गरेर कोभिडका कारण व्यवसायीलाई परेका समस्या समाधान गर्न नसकेको भन्दै त्यसका लागि पनि यसपटक ढकाल प्यानललाई नेतृत्वमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्रदेश १ बाट खोटाङका अध्यक्ष विपिन राई, धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, उदयपुरका अध्यक्ष पुष्कर खड्का, भोजपुरका अध्यक्ष धु्रवलाल श्रेष्ठ, सुनसरीका अध्यक्ष गिरीधारी सापकोटा, इटहरीका अध्यक्ष भीमप्रसाद पौडेल, दकमका अध्यक्ष गोकुल श्रेष्ठ, झापाका अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष राजु पनेरु, ताप्लेजुङका अध्यक्ष ताराप्रसाद घिमिरे, इलामका अध्यक्ष ईश्वर चिपालु, उर्लाबारीका अध्यक्ष प्रितम खड्की, मेचीका अध्यक्ष ऋषि तिमिल्सिना, बिर्तामोडका अध्यक्ष कुमार पोखरेलले कार्यक्रममा उपस्थित भएर आफूको पूर्णसमर्थन रहेको भन्दै जितको अग्रिम शुभकामना दिएका थिए भने मोरङ उद्योग संगठनका अध्यक्ष भीमप्रसाद घिमिरे विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।
कार्यक्रममा जिल्ला नगरतर्फका उम्मेदवार गुणनिधि तिवारीले ढकाल नेतृत्वको आफ्नो प्यानल विजयी भएसँगै जिल्ला नगरका समस्या समाधानका लागि महासंघमा जिल्ला नगरको छुट्टै परिषद् गठन गरेर तत्काल समस्या सम्बोधन गरिने बताए । ‘हामी जिल्ला नगरका उद्योगी व्यवसायीका लागि महासंघको विधानले ५० प्रतिशत हिस्सा दिएको छ तर त्यहीअनुरूप प्रतिनिधित्व हुन सकिरहेको छैन भने अधिकार पनि पाएका छैनौं,’ उनले भने, ‘यदि अहिले पनि हामीले जिल्ला नगरलाई समेटेको ढकाल प्यानलको समावेशी टिमलाई जिताउनबाट चुक्यौं भने हाम्रा समस्या कहिले पनि समाधान हुनेछैन ।’ साथै यसअघि आफूहरूले आफ्ना समस्या नबुझेका व्यक्तिलाई जिताएर पठाएकाले फोन नउठाउने, समस्या पर्दा दायित्वबाट पन्छिने गरेको जानकारी दिँदै आबका दिनमा व्यवसायीका वास्तविक नेतृत्वलाई जिताउन आग्रह गरेका छन् ।
सो कार्यक्रममा देशभरबाट ५२ भन्दाबढी जिल्ला नगरका अध्यक्ष उपस्थित भएर ढकाल प्यानललाई जिताउन लागिपर्ने बचनबद्धता जाहेर गरेका थिए । साथै अन्य जिल्लामा प्रत्यक्ष रूपमा उपस्थित हुन नसक्ने अध्यक्षले पनि आफ्नो प्रतिनिधि पठाएर ढकाल प्यानलको समर्थन गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।






