यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जुन खालका समस्या देखा परेका छन्, यी समस्या किन र कसरी उत्पन्न भइरहेका छन् ? नेकपा कस्तो प्रकारको पार्टी हो, यसका ध्येय लक्ष्य, उद्देश्य र अभिभारा के रहेका छन् ? आज नेकपाले पार्टी सञ्चालनका क्रममा अवलम्बन गरेको सैद्धान्तिक, वैचारिक र सांगठनिक कार्यदिशा के रहेका छन् ? पार्टीले अवलम्बन गरेको सैद्धान्तिक वैचारिक र सांगठनिक कार्यदिशाको आलोकमा नेकपाभित्र उत्पन्न समस्या कस्ता प्रकारका समस्या हुन् ? के यी समस्या समाधान हुन नसक्ने खालका छन ? समस्या समाधान हुन्छन भने समाधानको विधि र पद्धति के रहेको छ ? आदि प्रश्नहरूको ’boutमा पार्टी पंक्ति अझ खासगरी केन्द्रीय तहमा सघन ढंगबाट छलफल बहस गरेर समाधान निकाल्नु यतिबेला नेकपा सामुको केन्द्रीय अभिभारा हो ।
नेकपाले सर्वहारा श्रमजीवी वर्गको अग्रदुत भएर श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीको रूपमा भूमिका निर्वाह गर्ने आफ्नो घोषित उद्देश्यलाई अगाडि सारेको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा आगामी अभिभारा’bout भनिएको छ ‘यतिबेलाकोे अभिभारा भनेको माक्र्सवाद–लेनिनवादको आम मार्गदर्शन र आफ्नै देशमा विकसित क्रान्तिका विशिष्ट सिद्धान्तहरूको ठोस निर्देशनमा सामाजिक मुक्ति र राष्ट्रिय स्वतन्त्रताको आन्दोलनलाई नेतृत्व गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नु यस पार्टीको मुख्य अभिभारा हो ।’ यस्तै पार्टीको चरित्रवारे प्रतिवेदनमा भनिएको छ– ‘क्रान्तिकालमा होस् वा क्रान्तिपश्चात् सत्ता संचालनको अवधिमा, पार्टी श्रमजीवी पक्षधरताबाट कहिल्यै विचलित हुन सक्तैन, हुनुहुँदैन । पार्टी आन्दोलनमा रहँदा होस् या सत्तामा, एकल नेतृत्व गरिरहँदा होस् या संयुक्त मोर्चाभित्र रहेर काम गर्दा कम्युनिस्ट पार्टीको चरित्र सधैं भरि सर्वहारा श्रमजीवी वर्गको राजनीतिक पार्टीका रूपमा अक्षुण्ण रहन्छ, रहनुपर्दछ । कम्युनिस्ट पार्टी विचारविहीनको समूह होइन, स्वेच्छिक रूपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि जस्तोसुकै बलिदान दिन तयार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको स्वेच्छिक अनुशासनमा आबद्ध सचेत स्वयंसेवी राजनीतिक संस्था हो । त्यसैले पार्टी निर्माणलाई सदस्य र कमिटीको प्राविधिक संरचनाका रूपमा होइन, सचेत, निष्ठावान र वैचारिक एवम् भावनात्मक एकरूपताका साथ आन्दोलनमा समर्पित र लक्ष्यमा एकाग्र नेता कार्यक्र्ताको शृङ्खलाबद्ध संरचनाका रूपमा बुझ्नुु र तदनुरूप अगाडि बढाउनु पर्दछ ।’
पार्टीभित्रको समस्यालाई समयमै पहिचान गरी समाधान नगरे पार्टीको क्रान्तिकारीपन र पार्टीले आर्जन गरेको जनविश्वास क्रमशः गुमाउने निश्चित छ
कम्युनिस्ट पार्टी सञ्चालनका क्रममा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता हासिल गर्ने विषय सहज विषय होइन । कम्युनिस्ट पार्टीले आफूलाई निरन्तर नैतिक र आचरणगत रूपमा स्वच्छ, पारदर्शी र जनमुखी बनाइरहनु निकै कष्टसाध्य काम हो । परम्परागत राज्यसंरचना र प्रतिकूल विश्व परिस्थिति थप चुनौतीका रूपमा रहेका छन् । यस्तो अवस्थामा कम्युनिस्ट पार्टीले आफूलाई हमेशा जनताको सेवकका रूपमा प्रस्तुत गर्नुपर्दछ । जनताको अपेक्षा र आकांक्षामा निरन्तर खरो उतार्नुपर्दछ । आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनुपर्दछ र जनताको बदलिँदो चाहनाको प्रतिनिधिका रूपमा आफुलाई निरन्तर अध्यावधिक गरिरहनु पर्दछ ।
बहुदलीय प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न समाजका विभिन्न तप्काकोे मत प्राप्त गर्नु पर्ने आवश्यक्ता र आफ्नो सर्वहारा श्रमजीवी वर्ग पक्षधरताको संरक्षणका विचमा सन्तुलन मिलाउन विशेष कुशलता अवलम्बन गर्नुपर्दछ । खुला समाज र भूमण्डलीकरणको विश्व परिवेशमा क्रियाशील कम्युनिस्ट पार्टीले त्यस खुल्लापनबाट आउने ताजा हावा र अनुकूल विषयहरूलाई ग्रहण गर्ने र प्रदूषणबाट जोगिन विशेष सजगता अपनाउनु पर्दछ ।
कम्युनिस्ट पार्टी सञ्चालनका ’boutमा नेकपाले लेनिनवादी सिद्धान्तलाई आत्मसात गरेको छ । यसै मान्यता अनुरूप पार्टी जनवादी केन्द्रीयताका आधारमा संचालित हुने तथा व्यक्ति संगठनको, मातहत कमिटी माथिल्लो कमिटीको र अल्पमत बहुमतको अधिनस्थ रहनु पर्ने जस्ता मान्यताहरू आम रूपमा आज पनि सान्दर्भिक छन् । जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई संगठनात्मक केन्द्रीयताको उपरोक्त नियमहरूमा मात्र संकुचित र सीमित गर्नु हुदैन । सर्वहारा जनवादको अभ्यास सुनिश्चित गर्दै त्यसको आधारमा निर्मित वैचारिक केन्द्रीयतालाई जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक एक्ताको अर्थमा ग्रहण गर्नु पर्दछ । नेता, कार्यक्र्ता र आमपार्टी सदस्यको वैचारिक तथा सांस्कृतिक स्तरले जनवादी केन्द्रीयताको अभ्यासलाई प्रभावित गर्दछ ।
पार्टी निर्माण र संचालनको उपरोक्त मार्ग निर्देश सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीको गोपनियता र मर्यादाको रक्षा हुने वातावरण कायम राख्नु पर्दछ । यस्तो अवस्थामा पार्टीका नेता कार्यक्र्ताहरूको जीवनशैली, कार्यसम्पादन र आचरण पनि आमजनताको चासो र सरोकारको विषय बन्न पुग्दछ । त्यसैले नेता कार्यक्र्ताहरूको शैली र आचरणमा स्वच्छताको प्रत्याभूति हुनु पर्दछ । निरपेक्ष समानता संभव छैन तर नेता तथा कार्यक्र्ताको जीवनशैली जनताबाट अलगावमा पर्ने खालको, सार्वजनिक टिप्पणी हुने खालकोे हुनु हुँदैन । स्वच्छ विवाद रहित र मर्यादित हुनु पर्दछ ।
सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्यबेला भन्दा प्रबल हुन्छ । यस्ता प्रवृत्तिलाई सच्याउन व्यापकरूपमा अभियान संचालन गर्नु पर्दछ । त्यसैले पार्टी नेता कार्यक्र्ताको जीवनशैलीको निरन्तर अनुगमन गर्ने, सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सार्वजनिक जवाफदेहीता कायम गर्ने र पार्टी नेता र कार्यक्र्तालाई पार्टी विधान र राज्यको कानुन दुबैतिर उत्तरदायी बनाउनु पर्दछ ।
नेकपाले लिएको वैचारिक, सैद्धान्तिक र सांगठनिक कार्यदिशा सही र समय सान्दर्भिक रहेका छन् । पार्टीले लिएको सैद्धान्तिक, वैचारिक कार्यनीतिक कार्यदिशालाई नीति र कार्यक्रम बनाएर पार्टी र सरकारको मोर्चाबाट लागू गर्नु÷गराउनु मूल रूपमा पार्टीको मूल नेतृत्वको अभिभारा हो । पार्टी एक्ता भएर पार्टीको विधान, राजनीतिक प्रतिवेदन र एक्ताको घोषणापत्र जारी त भयो तर पार्टी एक्ता भएदेखि नै पार्टीको कार्यनीतिक कार्यदिशा अनुरूप पार्टी तथा सरकार सञ्चालन गर्ने मामलामा गंभीर खालको समस्याहरू सिर्जना भए । पार्टीलाई दिशाबोध गर्ने केन्द्रीय कमिटीको २० महिना सम्मन बैठककै आयोजना गरिएन र अहिले दोस्रो बैठक भएको १० महिना व्यतित भइसकेको छ । तर पार्टीका समस्या स्थायी कमिटीमा पुगेर थान्को लागेर बसे झंै भएको छ ।
पार्टी पंक्तिमा र खासगरी केन्द्रीय तहमा सघन ढंगबाट छलफल र बहस गरेर मात्र समाधान निकाल्नु यतिबेला नेकपाको केन्द्रीय अभिभारा हो ।
यसले सदस्यहरूको छलफल सुझाव र परामर्श दिने गर्ने जनवादी अधिकार कुण्ठित गरेको छ । नेता विशेषमा अधिकारको केन्द्रीकरण भएको छ। यसले गर्दा पनि लेनिनवादी सिद्धान्तको सन्तुलित अभ्यास खल्बलिन पुगेको छ । १÷२ महिना अगाडि देखि नै केन्द्रीय कमिटीको वैठकको पूर्व तयारी हुनु पर्दथ्यो, त्यो हुन सकेको छैन ।
पार्टीकोे सैद्धान्तिक, वैचारिक कार्यदिशाकोे आलोकमा सरकारले नीति कार्यक्रम लागू गरेर अगाडि बढ्नु पर्ने थियोे । तर दुई तिहाइको जनमतका साथ जनताले निर्वाचित गरेको सरकारले पार्टीसंग कुनै परामर्श नगरीकन तीन वटा नीति तथा बजेट कार्यक्रम ल्याउने काम गर्याे। यसमा पार्टी पुरै बेखबर बन्यो । योभन्दा अरु गंभीर समस्या के हुन सक्छ र ? सरकारका नीति कार्यक्रमले हिजोको नवउदारवादी पुँजीवादका दुष्चक्र र दुष्परिणामलाई तोड्न सकेको छैन । बामपन्थीको सरकार बने पनि हिजोदेखि राज्यसत्ता, राजनीतिज्ञ र कर्मचारीतन्त्रको संरक्षण पाएका दलालपुजीवादीहरूकै हालीमुहाली छ । अझ नयाँ संस्करणमा दलालपुंजीवादका गतिविधि बढी रहेका छन। शीर्ष नेतृत्वहरू एक पछि अर्को काण्डमा फसिरहेका छन् । ठूला नेताहरूमा सास्कृति विचलन समेत देखिन थालेको छ । सरकार पनि विभिन्न काण्डमा मुछिन पुग्नु विडम्बना भएको छ ।
विभिन्न काण्डमा सरकार र अख्तियारबाट कारवाहीमा देखाइएको उदाशिनताले समस्या बढाइरहेको छ । पार्टीको परामर्श विना सरकारले अगाडि बढाएका कार्यक्रमले जनताको मन जित्न सकेको छैन । जनताको जीवीका, रोग, भोक र अशिक्षा, अन्धविश्वास र पछौटेपन, गरिबी, बेरोजगारीले आक्रान्त जनतालाई वाम सरकारबाट राहत र परिवर्तनको अनुभूति हुनेगरी राहत र रोजगारीसहितका कार्यक्रम ल्याएर सरकारले मन जित्न सक्नुपर्छ तर त्यस्ताे अवस्था देखिन सकेको छैन ।
यस्तै अवस्था रहिरहेका जनतामा जान नसक्ने परिस्थिति सिर्जना हुन सक्ने भएकाले त्यसतर्फ सरकार सचेत र संवेदनशील बन्नुपर्छ । रेल, पानी जहाज, भ्युुुटावरजस्तो योजनाबाट सीमान्तीकृत वर्ग, गरीब र बेरोजगारीले आक्रान्त जनताकोे पेट नभरिने हुनाले पनि सरकारले ल्याउने यस्ता योेजना लोकप्रिय बन्न सकेको छैनन् ।
नेकपाभित्र पार्टीको समन्वयमा राज्य संचालन गर्ने मान्यतालाई बेवास्ता गर्ने खालका जुन गतिविधि सरकार ंचालनका क्रममा भए र हुँदै आएका छन् । यसले पार्टीले अवलम्बन गरेको संगठनात्मक सिद्धान्त, विगतका असल परम्परालाई उलङघन गरेको छ । पार्टी संचालन र सरकारको हिँडाइमा पार्टीको सैद्धान्तिक, वैचारिक कार्यदिशाको लयलाई नेतृत्वले आत्मसात् गरेको देखिदैन ।
पार्टीभित्र विधि र पद्धतिको कुरा उठाउने वित्तिक्कै समस्या उजागर गर्ने वितिकै पार्टी एक्ता टुटने, पार्टी विभाजन हुने, महाधिवेशनसम्म कुनै विवाद उठाउन नपाउने, बहुमत अल्पमत गरेर कुनै निर्णय गर्न नपाउने भनेर त्रसित बनाएर मनोमालिन्यता पुर्वक पार्टी र सरकार संचालन गरेर आफ्नो गुटगत वर्चस्व कायम गर्ने जुन प्रवृत्ति बढदैछ, यो प्रवृत्तिलाई पार्टीले समयमा नै चिन्हित गरेर समाधान नगरे पार्टीको क्रान्तिकारी पन र पार्टीले आर्जन गरेको जनविश्वास क्रमश घट्दै जाने छ । अतः नेकपाले लिएको सैद्धान्तिक वैचारिक र संगठनात्मक सिद्धान्तको आलोकमा पार्टी भित्र र सरकार संचालनका क्रममा देखा परेका समस्याको केस्रा केस्रा गरेर केलाएर समस्या समाधान गरेर पार्टीको नीति र विधान अनुरूप पार्टी र सरकार संचालन गर्न ढिलाइ गर्न हुदैन् ।






