काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समिति बोर्ड सदस्य फुर्वा ग्याल्जेन शेर्पाले निगमको दीर्घकालीन हितनिम्ति ‘फरक मत’ राखेका छन् । आफूले ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) नियुक्ति मापदण्ड संशोधन विषयमा ‘फरक मत’ लेखेको शेर्पाले जनाएका हुन् ।
निगमको ९ मंसिर २०७७ मा बसेको सञ्चालक समिति बैठकमा प्रस्तुत जिएसए छनोटसम्बन्धी विनियमावली–२०७७ को विनियम ३ खण्ड (ङ)मा उनले फरक मत राखेका हुन् ।
सो खण्डमा ‘कम्तीमा एउटा वायुसेवा प्रदायकको जिएसएका रूपमा सम्बन्धित देशमा काम गरेको अनुभव भएको’ भन्ने नयाँ व्यवस्था गरिएको छ । तर, शेर्पाले ‘नयाँ व्यवस्थाले निगमका कार्यरत जिएसएलाई नै निरन्तरता दिने आधार बलियो पार्ने र प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यवसायिक कम्पनी छनोटलाई पूर्णतः निषेध गर्ने’ भन्दै फरक मत लेखेका बताएका छन् ।
नयाँ प्रावधानले निगमको व्यवसायिक क्षमता यथास्थितिमा राख्ने र नयाँ क्षमतावान कम्पनीलाई निषेध गर्ने भएकोले ‘फरक मत’ राखेको शेर्पाको भनाई छ । उनीद्वारा शुक्रबार जारी विज्ञप्तिमा ‘थपिएको नयाँ व्यवस्थाले निगमका हाल कार्यरत जिएसएलाई नै निरन्तरता दिने आधार बलियो पार्दछ भने प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यवसायिक कम्पनी छनोटलाई पूर्णतः निषेध गर्दछ’ भनिएको छ ।
‘यति समूहसँग संग्लनता छैन’
शेर्पाले यति समूहमा आफ्नो कुनै पनिखाले सहभागिता र संग्लनता नरहेको पनि प्रस्ट पारेका छन् । आफ्नो छुट्टै व्यवसाय भएको उल्लेख गर्दै उनले यतीका ‘एजेन्ट’ रूपमा प्रचार नगर्न आग्रहसमेत गरेका छन् ।
‘मैले यसअघि पनि प्रष्ट पारेको छु, म नेपालको पर्यटन क्षेत्रमा ४० वर्षदेखि क्रियाशील छु । उड्डयन क्षेत्रमा एक दशकदेखि आबद्ध छु,’ उनले भनेका छन्, ‘आफ्नै संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको एजेन्टका रूपमा किन बारम्बार प्रस्तुत गरिन्छ ? म आश्चर्यचकित भएको छु ।’






